देश–समाज शिक्षा

दमकका विद्यालयहरूमा अनलाइन र भौतिक दुवै माध्यमबाट पढाइ हुँदै

boarding school

दमक/ गत चैत ११ गतेदेखि मुलुकमा लकडाउन घोषणा भएदेखि बन्द रहेका विद्यालय सरकारले विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७ स्वीकृत गरेसँगै खुल्ने आधार तय भयो ।

सोही आधारमा स्थानीय तहको अनुमतिमा देशभरका अधिकांश विद्यालय शैक्षिक सत्र सुरू भएको आठ महिनापछि मंसिर पहिलो साताबाट सञ्चालनमा आए ।

त्यसअघि अधिकांश संस्थागत विद्यालय र केही सामुदायिक विद्यालयले अनलाइन पठनपाठन सञ्चालन गरिरहेका थिए ।

तर, अनलाइन कक्षा सबैको पहुँचमा पुग्न सकेन ।

सरकारले भौतिक रुपमै विद्यालय सञ्चालनको बाटो खोलिदिएपछि झापाको दमकमा पनि विद्यालय सञ्चालनमा आएका छन् ।

यसअघि सञ्चालन हुँदै आएको अनलाइन कक्षापनि सुचारू रहेको छ ।

दमक नगरपालिकाका शिक्षा शाखा प्रमुख दिनेशकुमार न्यौपाने मंसिर लागेदेखि नै नगरका विद्यालयले कक्षा सञ्चालनका लागि अनुमति लिएको बताउँछन् ।

वडास्तरीय कोभिड १९ विपद व्यवस्थापन समितिको सिफारिसमा विद्यालय सञ्चालनको अनुमति दिइएको उनले बताए ।

भौतिक रुपमा विद्यालय सञ्चालन अनुमति पाएपनि कुनैले जोरबिजोर प्रणालीमा त कुनैले सिफ्ट विभाजन गरेर पठनपाठन गराइरहेका छन् ।

प्रतिनिधिमूलक रुपमा दमकका केही विद्यालयहरुसँग पूर्वसन्देशले सम्पर्क गरेको छ ।

हिमालय माध्यमिक विद्यालय दमक–२ का प्रधानाध्यापक ओमप्रसाद आचार्य अनलाइन र भौतिक दुवै माध्यमबाट पठनपाठन गराएको बताउँछन् ।

‘कक्षा ५ सम्मको पठनपाठन भौतिक रुपमै सुरू गरेका छौँ’ उनले भने, ‘अन्य कक्षाको अनलाइनमार्फत पढाइ भइरहेको छ, भौतिक रुपमा पनि सुरू गर्ने योजनामा छौँ ।’

विद्यार्थीको चाप अत्यधिक रहेको बताउँदै उनले सुरक्षाका मापदण्ड पालना गरेर सिकाइ सहजीकरणको कार्य भइरहेको बताए ।

हिमाविमा यस वर्ष मात्र ५ सय बढी नयाँ विद्यार्थी भर्ना भएको उनले जानकारी दिए ।

यस्तै, सरस्वती मावि दमक–९ ले आलोपालो प्रणालीमा पठनपाठन गराइरहेको प्रधानाध्यापक नरबहादुर थापाले बताए ।

कक्षा ५ सम्म विद्यार्थी सङ्ख्या न्यून रहेकोले उक्त कक्षाहरूमा भने दैनिक तीन घण्टा कक्षा सञ्चालन भइरहेको उनले बताए ।

दमकका संस्थागत विद्यालयहरूले पनि अनलाइन र अफलाइन कक्षालाई सँगसँगै सञ्चालनमा ल्याएका छन् ।

सिद्धार्थ बोर्डिङ दमकका प्रिन्सिपल तेजकुमार श्रेष्ठ पूर्व प्राथमिक कक्षा भौतिक रुपमै सुरु गरिएको र अन्य कक्षाको अनलाइन पढाइ भइरहेको बताउँछन् ।

विद्यालयले पहिलो त्रैमासिक परीक्षापनि अनलाइनबाटै लिइसकेको तर अब बिस्तारै सबै कक्षाका भौतिक कक्षा सञ्चालनको तयारी गरेको बताए ।

ग्लोबल एजुकेशन बोर्डिङका प्रिन्सिपल गुणराज अधिकारीले अनलाइन र भौतिक दुवै माध्यमबाट शिक्षण भइरहेको बताए ।

सुरक्षाका उपाय अवलम्वन गर्दै दैनिक पाँच पिरियड शिक्षण क्रियाकलाप सञ्चालन भइरहेको उनले बताए ।

यस्तै, सूर्योदय बोर्डिङ स्कुलले अभिभावकको राय अनुसार अनलाइन कक्षालाई नै निरन्तरता दिएको छ ।

अधिकांश अभिभावकले महामारीका बेला भर्चुअल कक्षा प्रभावकारी भइरहेको बताएपछि अनलाइन कक्षानै निरन्तरता दिइएको प्रिन्सिपल अगष्टटिना लेप्चाले बताइन् ।

अनलाइनबाटै परीक्षासमेत लिइरहेको तथा गृहकार्य दिई विद्यालयमा बुझाउन लगाइएको उनले बताइन् ।

एलाइड बोर्डिङ स्कुलले दुई सिफ्टमा पठनपाठन सञ्चालन गरिरहेको छ ।

कक्षा ६ देखि १० सम्म विहान ८ देखि ११ बजेसम्म र नर्सरीदेखि कक्षा ५ सम्म दिउँसो १२ देखि ३ बजेसम्म कक्षा सञ्चालन भइरहेको प्रिन्सिपल मित्र खत्रीले बताए ।

Author

You may also like