:– गोपाल झापाली :–
दमक/ दमकको रोतपुल र फाल्गुनन्द चोकको विचमा रहेको घरको माथिल्लो तलामा हजारौं पुस्तकको उरुङ् छ । सयौं वर्ष पुराना विभिन्न सामाग्री, तस्विर र ग्रन्थहरु सजाएर राखिएको छ । सजिने ठाउँ नपाएका सामान थुप्रो लगाएर राखिएको छ । यो स्थान कुनै पुस्तक पसल, स्टेशनरी वा संग्रालय होईन । यो त, मुन्धुमविद् डा. चन्द्रकुमार शेर्माको निजी संरक्षणमा राखिएका सामानहरु हुन् ।
नेपालका प्रख्यात मुन्धुमविद्, अनुसन्धानकर्ता तथा किराँत सभ्यता–संस्कृतिका अध्येता हुन् । उनले विशेषतः किराँत समुदायको मौलिक धार्मिक ग्रन्थ तथा मौखिक परम्परा “मुन्धुम”को अध्ययन, संकलन र व्याख्यामा खटिँदा यि सामाग्रीहरु संग्रह गरिएका हुन् । यहाँ कति संख्यामा पुस्तकहरु होलान् ? शेर्माले लामा दाह्री कन्याउँदै भने, ‘खै संख्या त हजारौ होला, गिन्ती पनि गरेको छैन । तर अन्त कतै नपाउने पुस्तक र दस्तावेज पनि यहाँ जोगाएर राखेको छु ।’
८० वर्ष पुग्न लागेको वृद्धावस्थामा पुग्न लाग्दा शेर्मालाई यि दस्तावेज, अभिलेख र सामाग्री कसले संरक्षण गरि दिएला भन्ने चिन्ता छ । उनले भने, ‘मैले मात्रै जोगाएर यि सामान सधैं जोगिएला भन्ने छैन, समाज र सरकारले एउटा पुस्तकालय तथा संग्रालय बनाई देओस भन्ने लागेको छ । मेरो सवै सम्पाद समाजलाई हस्तान्तरण गर्न चाहन्छु । मैले त जोगाएको मात्रै हो, यो सिंगो समाजले उपयोग गर्न पाउनु पर्छ भन्ने लागेको छ ।’
डा. शेर्माले आँफैले पनि मुन्धुम, किराँत दर्शन, आदिवासी आध्यात्मिक परम्परा तथा नेपाली सांस्कृतिक बहुलतामाथि विभिन्न पुस्तक तथा अनुसन्धानात्मक लेख प्रकाशित गरेका छन् । उनका कृतिहरूले मुन्धुमलाई केवल धार्मिक ग्रन्थका रूपमा होइन, जीवनदर्शन र सांस्कृतिक पहिचानको आधारका रूपमा प्रस्तुत गर्ने उनको धारणा छ ।
२००७ साल पुष ३ गते पाँचथरको ओलनेमा बुवा चतुरध्वज शेर्मा र रणमायाँ कुरुम्बाङ्का दोश्रो सन्तानका रुपमा जन्मिएका उनले १५ वर्षकै उमेर देखि सुव्वा अमालीको जिम्मेवारी सम्हाल्न पाए । क्रमिक रुपमा उनी समाज र पञ्चायती व्यवस्थामा राजासँग निकट हुँदै ३ पटक प्रधानपञ्च हुँदै अञ्चल सभापति समेत भए ।
२०३० साल देखि भने किरात धर्मगुरु आत्मनन्द लिङ्देनसँगको सामिप्यता बढे पछि उनी किरात समुदायको अध्ययनमा लागे । ६२ वर्षको उमेरमा कलकत्ताको विश्वज्योती विद्यापिठ (कलकत्ता विश्वविद्यालय) बाट ज्योतिषशाष्त्रमा विद्यावारिधी गरेको बताएको उनले अध्ययनका लागि उमेरले कहिल्यै नछेक्ने समेत बताएका छन् ।
उनले संग्रालयमा दोश्रो विश्वयुद्धका क्रममा आफ्ना बुवाले प्राप्त गरेको फोनबाजा, नेपाली ग्रामिण जीवनका पुराना सामाग्री, विभिन्न भ्रमणका क्रममा विश्वका विशिष्ट व्यक्तिहरुबाट प्राप्त सम्मान, चिनो लगायतका सामाग्री उनले संग्रह गरेका छन् । यस्तै १० हजार भन्दा बढि विभिन्न पुस्तक, दस्तावेज लगायतका सामाग्री समेत संग्रह गरेर राखेका उनी समाजको सम्पत्तिका रुपमा यि सामान समुदायलाई हस्तान्तरण गर्न आतुर रहेका छन् ।

Author

You may also like