कला/साहित्य/संस्कृति देश–समाज समाचार स्थानीय

खुला सिमानाको फाइदा उठाउँदै अबैध पटका भित्र्याउने गिरोह सक्रिय

दमक । तिहारको निहुँ बनाएर खुला सीमाको फाइदा उठाउँदै पूर्वी नाकाहरु मेचीनगरको काँकडभिट्टा, भद्रपुर, इलामको पशुपतिनगर, दक्षिणी नाका झापा र विराटनगरको जोगवनी सुनसरीको इनरुवा लगायतबाट अबैध पटका भित्र्याउने गरेको पाइएको प्रहरीले जनाएको छ ।
तिहारको निहुँ बनाएर अबैध धन्दा गर्नै र पटका जस्ता सामग्रीहरु ओसार पसार गर्ने गिरोह सक्रिय भएकाले नागरिकलाई सचेत रहन कोशी प्रदेश प्रहरी कार्यालयले सूचना जारी गर्दै आग्रह गरेको हो ।
मानिस र प्रकृतिका लागि आवश्यक स्वच्छ हावाको गुणस्तर खस्काउने मात्र नभई मानिसको जिउधनमा नै क्षति पु¥याउने खालका हानिकारक रसायन पटाकाजन्य पदार्थमा हुने भएकाले छिमेकीलाई असर पर्नेगरी पटका नपढ्काउन कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी ईश्वर कार्कीले बताएका छन् ।
एकछिनको रमाइलोमा प्रयोग हुने रसायनले वातावरण क्षयीकरणसँगै मानव स्वास्थ्यमा गम्भीर असर पार्ने गरी क्यान्सरजन्य रोगको प्रभाव बढाइरहेको छ । त्यसैले वातावरण संरक्षणका हिसाबले मात्र पटाकाजन्य पदार्थमा प्रतिबन्ध लगाउने होइन कि मानव जीवनको रक्षाका खातिर पनि कडाइ गर्न नागरिक स्तरबाट सहयोग आवश्यक छ, उनले भने ।
अबैध पटका भित्रिए पटाका पड्काएपछि एकछिन रमाइलो लागे पनि त्यसले दिने असर मानव जीवन र जगतमा दीर्घकालीन हुने भएकाले पहिले नै सचेतना अपनाउनुपर्ने स्वास्थ्य विभागले जनाएको छ ।
दमक अस्पतालका मेडिकल विभाग प्रमुख कृष्ण शाह भन्छन्, पटकाजन्य विष्फोटक पदार्थबाट निस्किएको धुँवाले छालाको क्यान्सर, स्वासप्रश्वासको क्यान्सर, घाँटीलगायतका क्यान्सर गराउँछ । यस्तै विभिन्न अध्ययनले दमका रोगीलाई त पटाकाको धुवाँ विष नै हो भन्ने पुष्टि भएको छ, खुत्रुक्कै पार्छ । आँखा पाक्ने रोगको प्रकोप पनि पटाकायुक्त वायुले बढाउँछ, उनले भने ।
मनसुनपछिको स्वच्छ वायुलाई खत्तम पार्ने काम पटाकाले गर्छ । मानव स्वास्थ्यका लागि हानिकारक रसायन हावाको माध्यमबाट मानव शरीरको सम्पर्कमा आएपछि त्यसले क्यान्सरलगायतका रोगको घर बढाउने दमक लाइफलाइन अस्पतालका अध्यक्ष बालचन्द्र सुब्बाले जानकारी दिए ।
नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङले यसअघि झापाको दमकस्थित इलाका प्रहरी कार्यालय दमकको क्षतिग्रस्त संरचनाहरुको स्थलगत निरीक्षणका क्रममा पनि नजिकिँदै गरेको तिहार, छठ लगायत पर्वहरुमा हुने सम्भावित असुरक्षालाई ध्यानमा राखि शान्ति सुरक्षा कायम गर्नु प्रहरीको मुल जिम्मेवारी भएको तर अहिलेको विषम परिस्थितिमा नागरिकको साथ आवश्यक रहेको बताएका थिए ।
झापाका दमक, विर्तामोड लगायतका मुख्य बजारहरुमा स्टोर गरी पहाडी जिल्लातिर सप्लाई भइरहेको बुझिएकाले बजार अनुगमन र चेकजाँचमा कडाइ गर्न सुरक्षा निकायसँग सम्वन्वय गरिरहेको दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराई प्रसाईँले बताइन् । चाडबाडका मुखमा मात्र ध्यान दिने चलन हटाउँदै अलिक अगाडिदेखि नै त्यस्ता वस्तु ओसारपसार हुने भएकाले बजार निरन्तर अनुगमन गर्नुपर्ने उपप्रमुख रेगिना भट्टराई प्रसाईँले बताइन् ।
देशमा शान्तिसुरक्षा अमनचयन कायम गर्न पहिलो सुरक्षा अंगका रुपमा प्रहरीको भूमिका महत्वपूर्ण रहने र त्यो कर्तव्यबाट प्रहरी संगठन कहिल्यै विचलित नहुने झापा प्रहरी प्रमुख राजन लिम्बूले बताएका छन् । भद्रपुर, विर्तामोड, दमकलगायत बजारका संकास्पद विभिन्न स्थानहरुमा चेकजाँच गरिरहेको जिल्लाप्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीले थोरै मात्रामा पटका समाते पनि तस्करले सीमा नाकामा रहेका प्रहरीलाई आफ्नो पक्षमा पारेर पटकाको व्यापक तस्करी गर्ने गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
धनकुटामा विक्रिवितरणमा रोक
नेपालीको दोस्रो ठुलो पर्वको रुपमा रहेको तिहार नजिकिएसँगै माग र व्यापार हुने भन्दै अघिल्ला वर्षहरुमा कतिपय व्यापारीहरुले पटक, भूइचम्पा, विभिन्न खालका बिस्फोटक पदार्थको समेत बिक्री वितरण गरेको पाइएकाले यस वर्ष त्यस्ता पदार्थ बिक्री वितरण नगर्न आग्रह गरेको उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजयसन्तोषी राईले बताए ।
विगतका वर्षहरुमा अवैध रुपमा भित्रिएका बिस्फोटक पदार्थ बिक्री वितरण गरिएको पाइएकाले यस वर्ष खरिद बिक्री पूर्ण रोक्न आग्रह गरेको छ । प्लास्टिकजन्य फूल र मालाको आयात(निर्यात तथा बिक्री(वितरण नगर्न र प्राकृतिक उत्पादनको प्रयोगमा प्रोत्साहित गर्न, संघले सबै व्यापारी र व्यवसायीलाई स्थानीय प्रशासन र बजार अनुगमन टोलीलाई सहयोग गर्न समेत आग्रह गरेको छ । दिपावलीमा संघको तर्फ बाट आन्तरिक बजार अनुगमन जारी रहने जनाइएको छ ।
संघले बजारमा वस्तु अभाव कृत्रिम रूपमा सिर्जना नगरी उपलब्ध वस्तुहरूको मूल्य सूची अनिवार्य रूपमा राख्न व्यवसायीहरूलाई निर्देशन दिएको समेत जनाएको छ ।

Author

You may also like