देश–समाज मुख्य समाचार स्थानीय

दमक नगरपालिकामा गौरवको आयोजना : मदनडाँगी–तारबारी–डिपु सडक प्रमद्वारा उद्घाटन

दमक/ प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् ।
विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको समन्वयमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको सो सडकको आइतवार एक कार्यक्रमका बीच प्रम ओलीले दमक नगरप्रमुख रामकुमार थापा र उपप्रमुख रेगिना भट्टराई प्रसाईलाई समेत कैची समाउन लगाएर संयुक्त रुपमा उद्घाटन गरेका हुन् । विश्व बैकको सहयोगमा नेपालभरका १७ सडकमध्ये एक हो । रु ४४ करोड २४ लाख लागतमा निर्मित ४.८६ किमी सो सडक समयमै सम्पन्न भएको नमूना आयोजना मानिन्छ ।
सडक उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले देशभर विकास निर्माणका लहर ल्याउने क्रममा यो सडक पनि रहेकोे जनाउँदै मेची महाकालीसम्म थालेका काम सक्ने अभियानमा सरकार रहेकोे उल्लेख गरे । प्रधानमन्त्री ओलीले दमकको बेलडाँगीमा विशाल रंगशाला निर्माण हुने घोषणा पनि गरे । मन्तव्यका क्रममा आफ्नो स्पेन भ्रमण सफल भएको पक्षलाई ओझेल पार्ने गरी केही विरोधी र अराजक तत्वले अरु कुरा नपाएर स्पेनमा मान्छे छाडेर आयो भनेर झुट र घटिया प्रचार गरेको भन्दै उनले यस्ता कुराहरूको जवाफ दिन आवश्यक नभएको टिप्पणी गरे ।
नगरप्रमुख थापाको अध्यक्षतामा भएको मदनडाँगी–ताराबारी–डिपु सडक उद्घाटन कार्यक्रममा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की लगायतले बोलेका थिए ।
नगर उपप्रमुख रेगिना भट्टराईले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, पूर्व मुख्यमन्त्रीहरु शेरधन राई, उद्वव थापालगायतको उपस्थिति रहेको थियो ।
यसैगरी, प्रधानमन्त्री ओलीले हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्ज–आमबारी खण्डको झापा र मोरङ जोड्ने रतुवा पुलको आइतबार उद्घाटन गरेका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको हुलाकी सडक निर्देशनालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले
प्रम…सो पुलको उद्घाटन गरेका हुन् । प्रधानमन्त्री ओलीले छेउमै नदी भए पनि खेतमा सिंचाई र उत्पादन नहुने स्थिति अन्त्य गर्दै विकास निर्माणलाई तीव्रता दिएर अबको १५ वर्षभित्र मुलुकबाट गरिबी उन्मुलन गर्नुपर्ने आव्हान गरे । उनले कृषिको आधुनिकीकरण र व्यावसायिकीकरण गरी नमुना कार्य गर्न स्थानीय तहलाई आग्रह गरे ।

Author

You may also like