फिदीम/ पाँचथरमा निर्माणाधीन बेलिब्रिज भत्किँदा घाईते भएका तीन जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा जिल्लाको सिमरा उपमहानगरपालिका–१२ निवासी २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरी रहेका छन् ।
बेलिव्रिज भत्किदा गम्भीर घाइते भएका उनीहरुलाई पाँचथर अस्पतालबाट थप उपचारका लागि मोरङको विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ अस्पताल पठाइएकोमा अस्पताल पु¥याउनासाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
सोहि घटनामा परेर बाँकी घाइते तीन जनाको उपचार भइरहेको छ ।
२०८१ असोज १२ गते आएको बाढीले यहाँको बेलिब्रिज बगाएपछि यहाँ पुनः जडानको काम भइरहेको थियो । जडान नसकिँदै बेलिब्रिज खसेको हो । बेलिब्रिज खस्दा जडान गरिरहेका ६ जना घाइते भएका थिए ।
हेवा खोला पाँचथरको फिदिम नगरपालिका ४ र हिलिहाङ गाउँपालिका ७ को सीमानामा पर्छ । गत वर्ष असोज १२ गते आएको बाढीले यहाँको बेलिब्रिज बगाएपछि यहाँ पुनः जडानको काम भइरहेको थियो । जडान नसकिँदै बेलिब्रिज खसेको हो ।
छानबिन समिति गठन
मेची राजमार्गको फिदिम–ताप्लेजुङ सडक खण्डमा पर्ने फिदिम ४ र हिलिहाङ ७ जोड्ने हेवा खोलामा निर्माणाधीन पुल भाँचिएको घटनाबारे छानबिनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले समिति गठन गरेको छ ।
मन्त्री देवेन्द्र दाहालले मन्त्रीस्तरीय निर्णय गरी आइतबार ५ सदस्यीय अध्ययन तथा छानबिन समिति गठन गरेका हुन् । सडक विभागका उपमहानिर्देशक ललिजन खनालको संयोजकत्वमा गठित समितिमा संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय दमकका प्रमुख विनोदकुमार मौवार, सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जीवेन्द्र मिश्र, दमक डिभिजन प्रमुख श्यामकुमार यादव र सडक विभागका सिडीई अमितकुमार वर्मा सदस्य रहेका छन् ।
समितिलाई सो पुल भत्कनुको कारण, भविष्यमा यस्ता घटना हुन नदिन अपनाउनु पर्ने सुझाव तथा सो स्थानमा तत्काल अस्थायी रूपमा यातायात सञ्चालन गर्ने विषयमा समेत स्थलगत अध्ययन तथा छानबिन गरी ७ दिन भित्रमा प्रतिवेदन पेस गर्ने कार्यभार दिइएको छ । समितिले आइतबार देखिनै काम सुरु गरिसकेको छ । पुल भाँचिदा ३ जनाको ज्यान गएको थियो ।