तत्कालिन श्री पञ्चायत मावि गोठगाउँबाट २०४७ सालमा एसएलसी पास भएपछि इटहरीको प्रस्तावित जनता क्याम्पसमा प्रविणता प्रमाणपत्र तह (आइए) अध्ययन गर्न थाले । त्यसबेला इटहरीमा नेवि संघका रोहित प्रसाईलगायतका सिनियर ब्याजका विद्यार्थी नेताहरु उक्त कलेजमा सक्रिय राजनीतिमा थिए । कलेजमा कमिटी बनाउन र जित र हारको राजनीति गर्न संगठन बिस्तारका क्रममा सबै दलसम्बद्ध विद्यार्थी संगठनहरु तछाँडमछाड गरिरहेकै थिए । तर मलाई राजनीतिले त्यति खिचेको थिएन । धेरै साथीहरुले आग्रह गर्नुभयो तर मैले कसेको सदस्यता लिइँन किनकी भोजपुर प्याउलीको सामान्य परिवारको मान्छे, पारिवारिक जिम्मेवारी धेरै भएकाले समस्या पनि उत्तिकै थिए । पारिवारिक समस्यासँग जुध्दै गरेको एउटा विद्यार्थी राजनीतिमा लागेर झन समस्या थपिन्छ भन्नेमा विश्वस्त थिएँ । गोठगाउँमा मामाघरमा बसेर सानैदेखि अध्ययन गरेको एउटा विद्यार्थीले भोलिको व्यक्तिगत सपना राजनीतिमा भन्दा पढाईमा देखेको थियो त्यस कारणले पनि कुनै दलसम्बद्ध विद्यार्थी संगठनमा आवद्ध हुने चेष्टा भएन ।
त्यही बीचमा तत्कालिन जल्दाबल्दा र खरो नेता मदन भण्डारीका विचारहरु सुन्ने गर्दथे । अन्य दलका भन्दा कम्युनिष्टहरुका भाषण निकै चोटिला, जोशिला हुन्थे त्यसमाथि प्रजातन्त्र पुर्नवहाली नहुँदै अर्थात ०४६ साल अगाडि नै राजालाई प्रत्यक्ष शासन गर्ने शोख भए वा राजनीति गर्ने हो भने श्रीपेच फुकालेर मैदानमा आउन आग्रह गर्ने नेता मदन भण्डारीका भाषण नसुन्ने कमै थिए होलान । मदन भण्डारीको भाषण सुन्न भनेपछि विद्यार्थीहरु पुरै कलेज रित्याएर जाने गर्दथे । पटक पटक इटहरीमा आएर भाषण गर्ने मदन भण्डारीको ०४८ को अन्तिम अन्तिमतिर इटहरी खेलमैदानमा कार्यक्रम थियो । म पनि मदन भण्डारीका भाषण सुन्न लहैलहैमा दौडिन्थे र आकर्षित भएको पनि थिएँ । त्यो दिन पनि गए । सानो कदको मान्छे पछाडिबाट देखिँदैन भनेर म फ्रन्ट लाईनमै गएर मञ्च अगाडि चौरीमा बसे । त्यो बेला मेरो पत्रकारिताको कुनै मेसो थिएन । गोठगाउँको हाइस्कुलमा पढाउने मेरा अग्रेजी शिक्षक बलदेव कार्की काठमाडौं पुगेर पत्रकार भएका छन रे भनेर निकै तारिफ गरेको सुन्थे मात्र, पत्रकारिताप्रति आकर्षित थिईन । त्यो मदन भण्डारीको भाषण सुन्दै गए । बेतोडले उनले तर्कसंगत गालीगलौज गरिरहेका थिए, हुन्थे त्यही बेला उनले– सरकारी कार्यालय वा विद्यालयलाई लक्षित गरेर काम छोडेर कुन चाहि कर्मचारी यहाँ भाषण सुन्न आएको छ । विद्यार्थी पढाउन छोडेर कुन शिक्षक यहाँ भाषण सुन्न आएको छ त्यो टिपोट मलाई दिनुस अहिले ठाउँको ठाउँ कारवाही गर्छु भन्ने धम्की पूर्ण जिम्मेवारी बोध गराउने अभिव्यक्तिले धेरै झस्किए । नभन्दै फन्ट लाईनमै मेरो छेउमा उभिएरहेका शिक्षक तथा कर्मचारी लुरुलुरु बाहिर निस्कन बाध्य भएको दृश्य निकै रोमाञ्चक र जिम्मेवार देखिँन्यो । त्यो तागत, त्यो ल्याकत बोकेको नेता थिए मदन भण्डारी । मदन भण्डारीलाई नजिकबाट नियाल्ने अवसर धेरै पटक भए पनि चिनजान र परिचय गर्ने अवसर भने कहिल्यै जुटेन । त्यसपछि स्नातक तह अध्ययन गर्न रत्नराज्य लक्ष्मी क्याम्पस काठमाडौं पुगियो र ०४९ सालमा त्यो बेला खुला मैदानमा मदन भण्डारीका भाषण धेरै सुनिँदै गए । युवाहरुलाई आशा जगाउँदै उत्साहित र रोमाञ्चक बनाउँदै गए । म काठमाडौंमा गल्लिहरुमा जागिर खोज्दा खोज्दा खुट्टाका पत्र गईसकेका थिए २०५० को वैशाख सम्ममा । त्यही बेला सुरुची साप्ताहिक भन्ने पत्रिकामा कार्यालय सहायकको रुपमा काम गरेर पत्रकारिताको अनुभव बटुल्ने अवसर पाएँ । त्यही बेला राज्य सञ्चालनदेखि ग्रामिण भेगका युवा, किसान, विद्यार्थीलगायत तमाम क्षेत्रलाई नयाँ उर्जा थप्न सफल भएका तिनै महासचिव मदन भण्डारी– संगठन विभाग प्रमुख जीवराज सहितलाई लिएर २०५० जेठ ३ गते दासढुंगा दुर्घटनामा परेपछि कम्युनिष्ट आन्दोलनको एउटा अध्याय समाप्त भएर गयो जुन दुर्घटना हो वा हत्या भन्ने तीन दशकसम्म टुंगो लाग्न सकेको छैन ।
यो बीचमा उनले पढाएका, उनका अनुयायीहरु धेरै जना मन्त्री, प्रधानमन्त्री मात्र होइन उनकै श्रीमति विद्या भण्डारी २ कार्यकाल राष्टूपति हुँदा पनि यो विषयको खोजविन गरिएन तर उनले प्रतिपादन गरेको सिद्धान्त भज्याएर जिविकोपार्जन गरिरहेका छन् । त्यस कारणले पनि उक्त दासढुंगा हत्याकाण्ड नै भन्छु म, अहिलेसम्म गुमनाम रहेको छ । कुनै वहादुर, आँटी कम्युनिष्टले यसको खोजविन गर्न जरुरी छ । किनकी त्यो दुर्घटना होइन हत्या हो भन्ने प्रमाणित त्यत्रो दुर्घटनामा पर्दा चालक बाँच्नु अनि पछि चालक अमर लामालाई २०६० सालमा गोली हानेर हत्या गरिनुले त्यसलाई हत्याकै रुपमा पुष्टि गर्न त्यति कठिन देखिँदैन । तसर्थ पनि यो अनुसन्धान र खोजको विषय निश्चय नै हो । यसमा छानविन गरी हत्या वा दुर्घटना टुंगोमा पुर्याउँदा मात्रै पनि मदन भण्डारी र जीवराज आश्रितको आत्माले शान्ति पाउने थियो ।
काठमाडौंबाट पोखरा हुँदै चितवन जाने क्रममा मदन–आश्रित चढेको जीप चितवनको ‘दासढुंगा’ मा दुर्घटना भई त्रिशूली नदीमा खसेको थियो। जिप र आश्रितको शव दुर्घटनास्थलनजिकै भेटिए पनि भण्डारीको शव भने ४ दिनपछि नारायणी नदी किनारको बोटेघाटमा भेटिएको थियोे । तर, चालक अमर लामा भने सकुशल थिए । २०६० मा चालक लामाको कीर्तिपुरमा गोली हानी हत्या भयो । हत्याको प्रकृति र त्यो घटनालाई ढाकछोप गर्न पछि गरिएका तिकडमहरुले एमालेभित्रैको खेमा हत्यामा सामेल थिएन भन्ने आशंका नजन्माएको होइन । एमालेबाटै धेरै पटक मन्त्री, प्रधानमन्त्री र राष्टूपति बन्दा पनि जेठ ३ गते भन्दा बाहेक सम्झना गर्न नसकेकाहरुले अब छानविन गर्ला र सत्यतथ्य बाहिर ल्याउलान भन्ने कल्पना बाहिर छ ।
बितेको यो ३० वर्षमा नेकपा एमालेले मदन भण्डारी पत्नी विद्या भण्डारीलाई सात वर्षसम्म देशको राष्टप्रमुख –राष्ट्रपति) बनायो । यही बीचमा नेकपा एमालेले पाँचपटक प्रधानमन्त्री बनेर सरकारको नेतृत्व लियो । दासढुंगा घटनाको सत्यतथ्य बुझ्न आवश्यक ठानेको भए एमालेले यही अवधिमा गृह र रक्षा मन्त्रालयसमेत जिम्मा लिएको थियो, तर ठानेन ।
मिलिजुली सरकारमा बसेर सत्ताको लाभ लिनबाट त एमाले प्रायः छुटेको देखिँदैन । ०५० मा मदन–आश्रितको जिप दुर्घटनापछि २०५१ मा एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी पहिलोपटक कम्युनिस्ट प्रधानमन्त्रीको रूपमा सत्ताको नेतृत्वमा पुगे । अधिकारी नौ महिना प्रधानमन्त्री हुँदा एमालेका हालका अध्यक्ष केपी शर्मा ओली गृहमन्त्री थिए । एमालेले चाहेको भए त्यही बेला दासढुंगा घटनाको सत्यतथ्य बाहिर ल्याउन सक्थ्यो ।
त्यसपछि, २०५४ मा पनि एमाले सत्तामै थियो । जतिबेला एमाले नेता वामदेव गौतम गृहमन्त्री थिए । वामदेवपछि पटक–पटक गरी भीम रावल, विष्णु पौडेल, खगराज अधिकारी र रामबहादुर थापा ‘बादल’ एमालेबाट गृहमन्त्री बने ।
जनताको बहुदलीय जनवाद (जबज) का मुख्य व्याख्याता भण्डारीको मृत्युलाई एमालेले किन स्वाभाविक मृत्युजस्तै ठानिरहेको छ ? एमालेले जनताको बहुदलीय जनवाद –जबज) लाई नेपालको विशिष्ट परिस्थितिअनुरूप प्रतिकुल अवस्थामा समेत नेपाली कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने मुख्य अवधारणा बनाएको भए पनि मदन भण्डारीको मृत्युमा दुई थुँगा फूल चढाउनुबाहेक अरु सम्मान गरेको देखिँदैन । यो ३० वर्षमा नेकपा एमालेले जे जति कार्यक्रम आयोजना गर्यो र जो जसले वक्ताको रूपमा बोले उनीहरूको एउटै स्वर छ–‘दासढुंगा घटना रहस्यमयी छ।’
मदन–आश्रितको जिप दुर्घटनापछि सत्यतथ्य पत्ता लगाउन भन्दै आन्दोलनमा उत्रिएन तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारलाई भन्यो– ‘एमाले सत्तामा पुगेको २४ घन्टामा दासढुंगा घटनाको सत्य बाहिर आउँछ।’
त्यसलगत्तै २०५१ मा एमाले सत्ताको नेतृत्वमा पुग्यो र केपी ओली गृहमन्त्री भए । तर, दुर्भाग्य २४ घन्टा मागेको एमालेले ३० वर्षसम्म पनि मदन–आश्रितको दुर्घटना हो कि ‘घटना’ हो अझै पत्तो पाएको छैन । यो घटनाको छानबिन गर्न एमालेलाई के कुराले रोकिरहेको छ ? एमाले नेता कार्यकर्ताले नेतृत्व तहमा यसको जवाफ माग्ने आँट गर्न नसक्नु नै मदन–आश्रितप्रतिको बेइमानी हो भन्न हिचकिचाउनु नपार्ला । यद्यपि अबका युवाहरुको सत्ता हड्प्न पाए पनि पक्कै पनि यस्ता रहस्यम घटनाको छानविनमा तदारुकता देखाउलान भन्ने आशा अझै मरेको छैन । त्यो आशा सफल बनाउने जिम्मेवारी पनि युवाहरुको काँधमा रहेको छ ।