दमक/ विमारीले अस्पताल र डाक्टर खोज्दै उपचार गर्ने पुरानै प्रचलन हो । तर दमकमा भने त्यसको विपरित प्रकृया चलिरहेको छ । केएचडिसी कार्यक्रम लागु भएपछि टोल–टोलमा महिला स्वास्थ्य सेविका तथा स्वास्थ्यकर्मीहरु प्रवेश गरी नसर्ने रोगहरु जस्तै उपचार उच्च रक्तचाप, मधुमेह, मुटुरोगी, मृगौला रोगी लगायत ४० वर्ष माथिका तथा उच्च जोखिम व्यहार भएका व्यक्तिहरुको टोलमै परिक्षण गरी उपचारको आवश्यक भएको व्यक्तलाई वडा डाक्टरहरु रहेको आधारभूत स्वास्थ्य केन्द्रमा रिफर गर्ने, सम्भव भएसम्मको रोगको पहिचान, उपचार त्यही गर्ने, सम्भव नहुनेलाई दमक अस्पताल तथा धरान स्थित विपि कोइराला विज्ञान प्रतिष्ठानका डा. संजिव शर्माको टोलीले परिक्षण पूरा गरी उपचारमा पठाउने गरिएको छ ।
यसै सन्दर्भमा रोगको पहिचान तथा उपचारका लागि सोमबार दमक वडा नं. ७ मा कार्यक्रमको शुभारम्भ गरिएको छ । सो वडामा ३ हप्ता यो कार्यक्रम चल्ने छ । महिला स्वास्थ्य सेविका, स्वास्थ्यकर्मीहरुको बीचको छलफल पछि वार्डका टोलटोल पसेर बिमारीको परिक्षण गर्दै उपचार गराउने पकृया अघि बढ्ने जनाइएको छ ।
दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्य रहेको कार्यक्रमको अध्यक्षता सम्बन्धित वडाका वार्ड अध्यक्ष भीम पौडेलले गरेका थिए । अध्यक्षको हैसियतबाट पौडेलले भने–विकास भन्ने कुरा पहिलो मानिसको स्वास्थ्य र शिक्षा रहेछ । यसैलाई हामीले वडाको पहिलो प्राथमिकतामा राखेका छौं ।
सो अवसरमा स्वास्थ्य शाखाका फिल्ड अफिस डिल्ली भण्डारीले केएचडीसी स्वास्थ्य कार्यक्रम सम्बन्धमा जानकारी गराएका थिए । स्वास्थ्यकर्मी भीमा भट्टराईले सञ्चालन गरेको कार्यक्रममा आधारभूत स्वास्थ्य इन्चार्ज नरेन्द्र भट्टराईले स्वागत मन्तव्य राखेका थिए । यस अघि दमक नपाले वडा नं. १, २, ४, ५, ८ र ९ वडामा उक्त कार्यक्रम समापन गरी यो सातौं वडाको कार्यक्रम सुरु भएको छ ।
यी कार्यक्रमबाट अहिलेसम्म ६ हजार बढीले सेवा पाएको स्वास्थ्य शाखा प्रमुख ब्रजेश मेहताले जानकारी गराए ।
