सुजन गाैतम / दमक – हाल काठमाडौंमा जारी शिक्षक आन्दोलनमा सहभागी हुन नसकेका शिक्षकहरूलाई लक्षित गर्दै धनपालथान माेरङ सर्वाेदय माविमा कार्यरत शिक्षक प्रशान्त निरौलाले भावुक अपिल सार्वजनिक गरेका छन्। सामाजिक सञ्जालमार्फत जारी गरिएको उक्त सन्देशमा उनले आन्दोलनको संवेदनशीलतालाई मनन गर्दै रमाइलो गतिविधिहरूबाट टाढा रहन आग्रह गरेका छन्।
“विद्यालय बन्द भएको मौकामा टुर जानु, टिकटक बनाउनु वा अन्य रमाइलो गतिविधिमा रमाउनु उपयुक्त हुँदैन,” शिक्षक निरौलाले भनेका छन्, “टन्टलापुर घाममा साथीहरू भोक–प्यास सहेर हाम्रो अधिकारको लडाइँमा छन्, हामीले त्यो पीडाको सम्मान गर्नुपर्छ।”
उनले यो आन्दोलन कुनै व्यक्तिगत स्वार्थका लागि नभई सम्पूर्ण शिक्षक समुदाय र राष्ट्रको भविष्यका लागि गरिएको बताएका छन्। साथै, आन्दोलनमा सशरीर उपस्थित हुन नसक्नेहरूले डिजिटल माध्यमबाट समर्थन जनाउन सकिने उनले बताएका छन्।
“आजको दुनियाँ भर्चुअलको हो, सामाजिक सञ्जालमा सक्रिय भएर हामी ठूलो दबाब सिर्जना गर्न सक्छौं,” भन्दै उनले शिक्षकहरूलाई आन्दोलन सम्बन्धी समाचार र सन्देशहरू व्यापक रूपमा शेयर गर्न अनुरोध गरेका छन्।
शिक्षक निरौलाको यो सन्देश हाल सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिँदैछ र धेरै शिक्षकहरूले उनको विचारप्रति ऐक्यबद्धता जनाइरहेका छन् ।
शिक्षक आन्दोलन अझ बलियो बनोस् भन्ने उद्देश्यले उनले सबैलाई एउटै आवाजमा उभिन आह्वान गरेका छन् ।