देश–समाज समाचार स्वास्थ्य

क्षयरोग दिवस : झापामा ७ सय नयाँ क्षयरोगी फेला

दमक/ आज विश्व क्षयरोग दिवस । ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौँ । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चितता, आजको आवश्यकता’ भन्ने नाराका साथ आज विश्वभर यो दिवस मनाइँदै छ ।
नेपालमा भएका क्षयरोग (टीबी) का बिरामीमध्ये ४० प्रतिशत बिरामी अझै पनि उपचारको दायरा बाहिर रहेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको अनुमानित तथ्यांक छ । नेपालमा क्षयरोगको उपचार निःशुल्क गरिए पनि स्वास्थ्य संस्थासम्म पुग्नका लागि यातायात खर्च आवश्यक पर्ने भएकाले कतिपयले औषधि उपचारमा लापरबाही गरेको विज्ञ बताउँछन् । यो सरुवा रोग भएकाले उपचारविना घरमा बस्दा परिवारका अन्य सदस्यलाई सर्ने सम्भावना बढ्छ ।
झापामा चालु आर्थिक वर्षको फागुनसम्म क्षयरोगका ७०० नयाँ बिरामी भेटिएका छन् । स्वास्थ्य कार्यालय झापाका क्षयरोग फोकल पर्सन वीरेन्द्र दासका अनुसार उक्त अवधिमा २५ जना बिरामीको मृत्यु भएको छ । कार्यालयका अनुसार गत आवमा क्षयरोगका कारण मृत्यु हुनेको संख्या ४८ थियो ।
कार्यालयका अनुसार ४७१ जनाको फोक्सोमा क्षयरोग देखिएको छ भने फोक्सोबाहेकमा १६२ जना, टिबी र एचआइभी दुवै भएका आठ जना, औषधि प्रतिरोधी क्षयरोगका बिरामी (डिआरटीबी) १६ जना छन् ।
झापामा आव २०७७÷७८ मा ९९२, आव २०७८÷७९ मा एक हजार १८६ र आव २०७९÷८० मा एक हजार १६५ र आव २०८०÷८१ मा एक हजार २६५ नयाँ क्षयरोगी फेला परेका थिए ।
स्वास्थ्य कार्यालय झापासँगै १५ वटा स्थानीय तहअन्तर्गतका ७९ वटा स्वास्थ्य संस्थामा क्षयरोगको निःशुल्क उपचार, निःशुल्क खकार परीक्षणका लागि २२ वटा माइक्रोस्कोपिक केन्द्र, तीन वटा जिनएक्स्पर्ट केन्द्र र डिआरटीबीको बिरामीका उपचारका लागि चार वटा सब डिआर सेन्टरको व्यवस्था छ ।
औषधि सेवनको अवधि पूरा गर्ने विपन्न वर्गका बिरामीलाई प्रोत्साहन मासिक रु ५०० दिने गरिएको छ । सङ्घीय कार्यक्रमअन्तर्गत झापाको तीन वटा पालिका शिवसताक्षी, बिर्तामोड र मेचीनगर नगरपालिकामा क्षयरोगमुक्त अभियान समेत सञ्चालित छ ।
‘हो हामी क्षयरोग अन्त्य गर्ने सक्छौँ । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चितता आजको आवश्यकता’ भन्ने नाराका साथ आज देशभर विश्व क्षयरोग दिवस मनाइँदै छ । सन् २०५० सम्ममा क्षयरोगमुक्त नेपाल घोषणा गर्ने सरकारी लक्ष्य छ ।

Author

You may also like