चिनीयाँहरूका बाघका बारेमा केही अनौठा कहावतहरू छन् । बाघ उनीहरूको एउटा राशी सङ्केत मानिन्छ, जसरी हामी सिंहलाई राशी संकेत मान्दछौं ।
परापूर्वकालमा सिंहलाई प्रतिस्थापित गर्न ईश्वरले बाघको सम्झना गरे । किनभने सिंह बढी निर्दयी र आक्रमक भएकाले ईश्वरले बाघ बनाए । बाघले पनि बिरालोबाट शिकार गर्ने सीप आर्जन गरेकाले ऊ एउटा सिपालु लडाकु मात्रै बनेन, ऊ सबै जनावरमाथि दिग्बिजय प्राप्त गरेर शक्तिशाली बन्यो । यसबाट ईश्वर चकित भएर बाघलाई स्वर्गमा बोलाए । स्वर्गमा पनि बाघले ईश्वरका लडाकुहरूलाई तहसनहस पारिदियो । यसबाट खुसी भएर ईश्वरले बाघलाई ‘ईश्वरको लडाकु’ बनाइदिए ।
बाघ ईश्वरको लडाकु भएपछि पृथ्वीमा मानवजातिमाथि अरू जनावरले आक्रमण गर्न थाले । ईश्वरले बाघलाई मान्छेको रक्षा गर्न जाउ भने । जब बाघ पृथ्वीमा मान्छेलाई रक्षा गर्न भनेर आयो, उसले सिंह, भालु र घोडालाई बलियो प्राणी देख्यो । तिनलाई पनि बाघले परास्त ग¥यो, जुन घटनाले मानिस र ईश्वर दुबैलाई खुसी बनायो । र ईश्वरले बाघलाई फेरि स्वर्गमा बोलाए । तीन युद्ध जितेकाले ईश्वरले बाघको निधारमा ३ वटा ठाडा धर्सा तानिदिए, जुन आजसम्म पनि छन् ।
त्यसपछि मानव जातिमा फेरि पानीको बाढी उठाएर आतंक मच्चाए दुष्ट र जादुमय कछुवाहरूले । ईश्वरले फेरि बाघलाई पृथ्वीमा पठाए मानिसको रक्षा गर्न । बाघले लामो लडाईं लडेपछि ती कछुवालाई पनि मा¥यो । त्यसपछि ईश्वरले उक्त बाघको निधारमा ३ वटा ठाडा धर्साको बीचमा एउटा तेर्सो धर्सो तानिदिए । चिनीया भाषामा यसको अर्थ हुन्थ्यो ‘राजा’ । आज पनि बाघको निधारमा यी ४ धर्सा देख्न सकिन्छ । जब चिनीयाँहरूलाई बाघको यो रहस्य थाहा भयो, तिनले आप्mनो राशी चिन्हबाट सिंहलाई हटाएर सबै जनावरका राजा बाघलाई कायम गरे ।
आज पनि हाम्रा १२ राशीमा बाघ छैन, तर सिंह छ । तर चिनीयाँहरूको १२ राशीमा बाघ छ, सिंह छैन ।
बाघको बारेमा रहस्यवादी बेलायती कवि विलियम ब्लेकले पनि ‘टाइगर’ शीर्षकमा कविता लेखे । त्यो कविता पनि रहस्यवादले भरिएको छ । र प्रतिप्रश्न गरिएको छ कविद्धारा ‘कसरी बनाए होलान् यो बाघलाई सिर्जनाकार (ईश्वर)ले ? भगवानको रूप (भेडाको पाठो) पनि यसैमा, अनि हिंश्रक जनावरको रूप पनि यसैमा !’ वास्तवमा बाघको सिर्जना भेडाको पाठो भनेर जिजस क्राइष्टको पुनर्जन्म बाघमा गराएको भनेका हुन् कवि ब्लेकले । अनि तिनै हातले कसरी हिंश्रक आँखा, नङ्ग्रा र दाहृा बनाए होलान ? तर ती आँखा, दाहृा र नंग्रा पुनः मानव जीवनको रक्षाका लागि बनाइएका थिए भनेका हुन् कविले । यो दोहोरो भूमिकामा रहेको बाघका निधारमा त्यतिकै धर्सा तानेका होइन रहेछन् ईश्वरले ।
आजको विज्ञानले पनि बाघलाई ‘इको सिस्टम’ का लागि सबैभन्दा उपयोगी जनावर भनेको छ । यसका अनेकौं वैज्ञानिक कारणहरू छन् । बाघ एक सुन्दर जनावर मात्र होइन, यो जैविक बिधिता र इकोसिस्टमका लागि अनिवार्य प्राणी पनि हो । यसले घाँसे जनावरलाई खाना बनाएर घाँसे जमिनलाई जोगाउँछ । बाघले गर्दा नै ‘बायोडाइभर्सिटि’ (जैविक बिबिधता) जोगिएको छ भन्नछन् वैज्ञानिकहरू ।
आज म सम्झिरहेको छु, मान्छे पनि बाघ भए भने नि त ! अथवा, मान्छेलाई बाघ भनियो भने नि त ! अनि दुनियाँ पनि कति कमजोर मनस्थिति भएर जन्मियो, अचम्म लाग्छ ? दया लाग्छ तिनका सोच र वौदिकताका आयामहरू देखेर । तिनले मान्छेलाई बाघ बनाउँछन् । अनि नकारात्मक अलंकारले लेपन लगाउँछन् । बाघ भनेको खराव प्राणी हो । बुद्धि नभएको प्राणी हो । हिंश्रक प्राणी हो । मांसहारी हो । ज्यानमारा हो । आततायी हो । नकारात्मक बस्तुको बिम्ब बनाइयो । नकारात्मक बस्तुको अलंकार बनाइयो ।
कठैबरा चेतना !
आज हामी मान्छेलाई बाघको उपाधि दिएर दुनियाँलाई अचम्मित पारिरहेका छौं । कोही सुत्दा बाघ सुत्यो भन्छौं । कोही जेल पर्दा बाघ जेल प¥यो भन्छौं । कोही उठ्दा बाघ उठ्यो भन्छौं । कोही आदालतबाट छुट्दा बाघ छुट्यो भन्छौं । यस्तै भन्नेहरूको भीड छ यहाँ ।
आज म सम्झिरहेको छु, रवि लामिछानेलाई जानेर नजानेर भीडले बाघ भनिरहेको छ । तिनले बाघको यो मिथक जानेका पनि छैनन्, तर भनिरहेछन् । त्यो अलंकार, त्यो उपमा, त्यो बिम्ब कसरी प्रयोग भयो उनीमाथि, गम्भीर भएर सोचिरहेको छु । उनीमाथि पत्रकार मारेको अभियोग लाग्यो । त्यसमा पक्राउ परे, कानूनी लडाईं लडे र जिते ।
अनि उनको निधारमा एउटा ठाडो धर्सो तानियो । त्यसपछि उनलाई फेरि नक्कली नागरिकताको मुद्धा लाग्यो । सांसद पद गयो । पार्टी सभापति पद गयो । उनी जंगलमा गएर लडे । नागरिकता कायम गरे । चुनाव पुनः लडे । नेपालको संस्दीय इतिहासमा सबैभन्दा धेरै मत र सबैभन्दा धेरै मतान्तरले जित्ने सांसद भए ।
अनि उनको निधारमा अर्को ठाडो धर्सा तानियो । त्यसपछि फेरि उनलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धिकरणको मुद्धा लाग्यो । पक्राउ परे । ८४ दिन हिरासतमा बसे । फेरि रिहा भए ।
अहिले उनको निधारमा तेस्रो ठाडो धर्सा तानियो । अब बाँकी जिल्लाका मुद्धाहरूबाट छुटकारा पाउने सम्भावना छ, त्यसपछि उनको निधारमा ३ वटा ठाडा धर्साको बीचमा एउटा तेर्सो धर्सा तानिने छ ।
त्यसपछि के हुन्छ ?
त्यसपछि उनी चिनीयाँ राशीफलमा प्रयोग हुने सिंहको साटो बाघ कहलिने हुन् त ?
त्यसपछि उनी ईश्वरले बाघको निधारमा ३ वटा ठाडा र एउटा तेर्सो धर्साे तानिदिए जस्तै समयले रविको निधारमा पािन ती ३ वटा ठाडा र एउटा तेर्सो धर्सो तानिदिने छ ?
ती धर्सा तान्ने को हुने छन् त ?
अहिले कांग्रेस कम्युनिष्टले नै रविको निधारमा ४ वटा धर्सा तानिदिएकै हुन् त ?
केपी ओली र गगन थापाले नै ४ वटा धर्सा रविको निधारमा तानिदिएका हुन् त ?
कि अब आउने चुनाउमा जनताले नै तानिदेलान् उनका निधारमा ४ वटा धर्सा ?
कि अव बाघलाई ईश्वरले स्वर्गमा निम्तो गरेजस्तै संसद (स्वर्ग ?) मा बोलाउने हुन् उनलाई ?
कि कुनै पत्तो न फाँट रविलाई बाघको अलंकार प्रयोग गरियो ?
कुनैपनि अभिव्यक्ति दिनुअघि भाषा र त्यसले बोकेको अभिव्यञ्जना बुभ्mनु पर्दैन ?
रविको निधारमा कतिवटा धर्सा छन् ?
गनेर भन्नु ल ?
किनभने ती धर्साहरू अभैm थपिने सम्भावना छ । अनि त्यसबेला रविलाई के भन्नेहोला भनेर सोच्नु पर्ने पो भयो त ! चिनीयाँ भाषामा ‘राजा’ भनिन्छ, नेपालीमा के भन्ने होला !! हैट !