दमक/ दमकका प्रथम नागरिक धिमालहरुले सातौं वार्षिकोत्सव तथा स्थापना दिवस मनाएका छन् । नगरपालिकाको प्राङ्गणमा प्रथम नागरिक धिमाल व्यवस्थापन समितिका सहअध्यक्ष मोहन धिमालको अध्यक्षतामा एक कार्यक्रम गरी मनाएका हुन् । नगरपालिका गेटमै बनाइएको धिमालको प्रतिमा स्थलमा गरिएको सो कार्यक्रमको प्रमुख अतिथि नगरप्रमुख रामकुमार थापा थिए भने विशिष्ट अतिथिमा उपप्रमुख रेगिना भट्टराई प्रसाई रहेकी थिईन ।
वरिष्ठ प्रशासकीय अधिकृत यज्ञ निरौला, कार्यपालिका सदस्य लोकबहादुर धिमाल, सल्लाहकार संयोजक रामबहादुर धिमाल, धिमाल जाती विकास केन्द्रका अध्यक्ष अमर बहादुर धिमाल, आदिबासी जनजातिको प्रतिनिधित्व गर्दै राजवंशी उत्थान समाज दमक नगरसमितिका भरुवा राजवंशी, सल्लाहकार समिति सदस्य कृष्णबहादुर धिमाल, उर्लाबारी नगरपालिका, बेलबारी नगरपालिका, पथरीशनिश्चरे नगरपालिकालगायत दमक नगरसमितिका पूर्व तथा वर्तमान पदाधिकारीको आतिथ्यता रहेको सो कार्यक्रममा धिमाल समुदायका महिला तथा पुरुषहरुको उल्लेख्य सहभागिता रहेको थियो । उपाध्यक्ष शान्तिदेवी र पुष्पाले अतिथिलाई खाँदा लगाएर सम्मान गरेका थिए । नगरपालिका परिसरमा बनाइएको पुर्खाको शालिकमा माल्र्यापण गरी ७ वटा दियो जलाएर द्विप प्रज्जवलन गरी कार्यक्रम उद्घाटन गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख थापाले दमक धिमालको जातिय पहिचानका लागि अमूल्य योगदान दिने अग्रजहरु मधुलाल, महाधिर, तेलपाने, सलबहाद्र, टेकबहादुर, लखन, गौरीशंकर धिमाललाई सम्झिए । उनले भने दमकका धेरै जातजातिमध्ये आफूलाई अग्रस्थानमा राख्ने धिमाल जातिलाई प्रथम नागरिक घोषणा गरेर गौरवको इतिहास धिमालको लागि मात्र नभएर सबैको प्रतिष्ठाको विषय बनेको बताए । उनले वर्षमा एक पटक भेटघाट गरेर, दुई शब्द बोलेर औपचारिकता पुरा गर्ने रहर नभएको बताए । उनले जाति पहिचान, विकास र समृद्धि र सुखमा हास्न अनि दुःखमा सघाउने वातावरणमा दमक नगरपालिकाले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता दिँदै केन्द्रीय समिति, नगर समितिलगायत सबैलाई के गर्दा धिमाल जातिका लागि आवश्यक पर्ने कुनै पनि विषयलाई समाधान गर्दै लैजान समेत आग्रह गरे । उनले जात्रि पर्वमा दमक नगरपालिकाले बिदा दिने गरेको स्मरण गराउँदै ग्रामथान लगायतको संरक्षणमा नगरपालिका जुटिरहेको बताए । उनले गत साल १५ जना उराव माझीसहित केन्द्रीय समितिका केही पदाधिकारीलाई जनकपुर अवलोकनमा लगेको र कतिपय त पहिलो पटक कोशी तर्नेहरु रहेको समेत खुलाए । उनीहरुलाई जानकी, कोशी, बराहक्षेत्रको दर्शन गराउँदै ल्याएको नगरप्रमुख थापाले बताए । उनले भने– यस पटक पनि महिला समितिले उपमेयर र हामीसँग समन्वय गरेर ३० जनासम्मको टिमलाई दमक बाहिर लगेर अवलोकन गराउने चाहना रहेको हुँदा आएर सरसल्लाह गर्न आग्रह समेत गरे । जातिय समृद्धि, स्वास्थ्य, शिक्षा, स्वास्थ्य, जीवनस्तर उकास्ने, आयआर्जनका सन्दर्भमा दमक नगरपालिका खुल्ला रहेको बताए । उनले हिजो धिमाल भन्ने वित्तिकै सम्पन्न हुन्छन भन्ने थियो तर आज समयले तिनै धिमालहरुलाई क्षिण बनाउँदै लगेको छ त्यो दुःख आफुले अनुभव गरिरहेको पनि बताए । ऐन बनाउनु ठूलो कुरा नभएको र त्यसले
सबै कुरा नसमेट्ने भन्दै के कस्ता कार्यक्रम गर्दा तपाईहरुको हित हुन्छ त्यतातिर ध्यान दिन आग्रह गरे ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ठ अतिथि तथा नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईले दमक नगरपालिकाले उदार मनसायका साथ धिमाल जातिलाई पहिलो जाती र अन्य जातिहरुलाई दोस्रो तेस्रो जातीका रुपमा लिएर यहाँहरुलाई सम्मान स्थापिन गरेको बताईन् । यहाँहरुका भेषभुषा, भाषा र संस्कृतिको जगेर्नाका लागि पुस्तान्तरणका लागि अहोरात्र मेहेनत गर्न आग्रह समेत गरिन् । उनले भनिन– धिमाल जातिको यति महत्वपूर्ण कार्यक्रममा महिलाले मात्र जातिय ड्रेस लगाउने होइन पुरुषहरुले समेत लगाएर आउन आग्रह गरिन् । मेषभुषा, संस्कार र संस्कृति महिलाले मात्र जगेर्ना गरिदिने नभएको बताईन । महिलाले सम्हाल्दिने र पुरुषहरुले गौरव गर्ने मात्र गर्न नहुने बताईन । धिमाल जातिको उत्थान र संरक्षणमा नगरपालिका धेरै प्रयत्न गर्दै आएको र गरिरहेको स्मरण गराउँदै पहिलो नागरिकको संरक्षण गरिएका कामहरु समेत सुनाईन ।
कार्यक्रमको अध्यक्षता गरिरहेका मोहन धिमालले उपमेयरले उठाएको पहिरनको प्रसँग स्वागत योग्य भएको भन्दै आगामी वर्ष सबै धिमालसहित मेयर र उपमेयरलाई पनि धिमाल पोशाकमै सजाउने गरी कार्यक्रम गरिने बताए । उनले भने– प्रथम नागरिक भएर सम्मानित महसुस गरेको भए पनि आत्मसम्मान नभएको बताए । उनले भने– अहिले एउटा नगरप्रमुख हुँदा घोषणा गर्ने र अर्को आउँदा हटाउने खालको नहोस् भन्दै ऐन बनाएर अगाडि लैजान उनले आग्रह गरे ।
समितिका वरिष्ठ उपाध्यक्ष गिरिराज धिमालले स्वागत मन्तव्य राख्दै धिमालहरु प्रथम नागरिक भएको यो ७ वर्षमा धिमाल जातिको आर्थिक, सामाजिक उन्नति र प्रगति भए नभएको समिक्षा गर्नुपर्ने बताए । उनले भने– दमकमा प्रथम नागरिकका लागि छुट्टयाईने बजेट २० लाखबाट घट्दै घट्दै अहिले ६ लाखमा झरेको भन्दै पैसा भन्दा नगरपालिकाले कार्यक्रम दिन आग्रह गरे ।
यसैगरी मन्तव्यकै क्रममा उर्लाबारी समितिका सचिव मातृका धिमालले साँच्चिकै धिमालहरुको योगदानको महसुस भइदिएको भए आजको यो कार्यक्रममा धिमाल जाति मात्र उपस्थित रहने होइन । आम दमकबासीले मनाउनुपर्ने थियो तर दमकमा भएको दलदललाई बाजरीकरणमा लैजाने जाति नै धिमाल भएकोले नगरबासी सबैले मनाउनुपर्ने उल्लेख गरे । आगामी दिनमा कसरी सबैको साझा बनाउन सकिन्छ त्यतातिर नगरपालिकाले ध्यान दिनुपर्ने बताए । सामान्य कार्यक्रम गर्दा गेट बनाएर निकै तामझामका साथ गरिन्छ तर दमक बनाउने जाति धिमालको आजको कार्यक्रमले कुनै रौनक नथपेको उनले बताए । कार्यक्रम सञ्चालक रत्न बहादुर धिमालले सञ्चालन गरेको सो कार्यक्रम समापन पछि र्यालीसहित दमक चोकमा पुगेर द्विप प्रज्जवलन गरेर कार्यक्रम समापन गरिएको छ ।
झापाको दमक नगरपालिकाको प्रथम नगरसभाले आदिबासी जनजातीको हितमा दुई वटा महत्वपूर्ण बिशेष प्रस्ताव सर्वसम्मत पारित गरेको थियो । दमकमा बसोबास गर्दै आएका धिमाल समुदायले पहिलो नागरिकको दर्जा प्राप्त गरेका छन ।
औलो रोगसँग लडेर घना जङ्गललाई खेतीयोग्य जमिन बनाउनु मात्र होइन विकासको गतिको शहर बनाउने योगदानको कदर गर्दै प्रथम जाति घोषणा गरेपछि धिमाल समुदायले हरेक वर्ष वार्षिकोत्सव तथा स्थापना दिवस दमकमा मनाउँदै आएका हुन् ।