लेख विचार/वहस

साउन महिना र शिवको महिमा

हामी जतिसुकै नास्तिकका कुरा गरौं । मलाई यो धर्मको कुरै मन पर्दैन, म देवी देवता मान्दिन । देवीदेवताको पूजा गरेर के गर्नु ? हामीलाई के प्राप्त हुन्छ र किन मरिहत्ते गर्नु ? यस्ता प्रश्नहरु धेरैको मनमा उब्जिएको छ । के यो विश्व ब्रह्माण्डमा भगवान छन त ? छन भने कहाँ छन, के गर्दैछन ? उनीहरूको भक्तिभावले गर्दा हामीलाई के फल प्राप्त हुन्छ ? हो, हामीलाई मनभित्र यस्तै – यस्तै भावले अनेक सृजना उत्पति गरिदिएको छ । यो सब कुरालाई भुलौ र देवीदेवतालाई नसम्झी भाकल नगरी बसौन त भन्दा यो मन मान्दै मान्दैन । हुन पनि हाम्रा पितापुर्खाले जुगौंजुगदेखि देवीदेवता मान्दै आएका हुनाले आस्तिक हुँदाहुँदै नास्तिक अब हुनु किन ? हामीलाई यस्तै – यस्तै तर्कनाले सताउन थालेको छ, अचेल । हरेक महिनाका पर्वहरु आउँछन, जान्छन । कति महिनाका पर्वहरु यस्ता हुन्छन जसले केही न केही सन्देश दिएका हुन्छन, यसकारणले पनि पर्वहरुले हाम्रो जीवनलाई उज्यालो बाँढेर जान्छ । यही भएर होला साउन महिना विशेषत ः शिवको महिमा बोकेर आएको हुन्छ जुन महिनामा ब्रतालुहरुले साउन महिनाभर माछा, मासु, लसुन, प्याज खादैनन । आप्mनो श्रीमानको दीर्घायु र आरोग्यको कामना गर्छन । भर्खरैमात्र यो महिनाको अन्तिम सोमबारका दिन नेपाल अधिराज्यभरका शिव – पार्वतीका मन्दिरहरुमा भक्तजनहरुको जल चढाउनहरुको बाक्लो उपस्थिति देखियो । हर्सोल्लासका साथ शिवको महिमा, आराधना गरेर महिलाहरुले भक्तिभाव गरे । यसकारणले पनि यो महिना एउटा धार्मिक महत्व बोकेको पर्व हो, जहाँ नेपाली महिलाहरुले श्रद्धाभावका साथ शिव भगवानको आराधना गर्छन । विशेषत ः शिव हिन्दु धर्मका प्रमुख देवताहरु मध्ये एक हुन् । भगवानका तीन रुपहरु मध्येका एक शिवलाई विनाशकर्ताका रुपमा लिइन्छ । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरु मध्ये शैव सम्प्रदायका अनुयायीहरु शिवलाई आप्mनो प्रमुख देवता मान्छन र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गरिन्छ । शिवलाई प्रायः जसो शिवलिङ्गको रुपमा पूजा गरिन्छ । शङकरको “श” को अर्थ कल्याण र “कर” को अर्थ हो गर्ने । शङकरको अर्थ “कल्याण गर्ने” भन्ने हुन आउँछ । शिव, अद्वैत, कल्याण यी सबै शब्दहरु एक अर्थका बोधक हुन । शिव नै ब्रम्हा हुन्, ब्रम्हानै शिव हुन्, शिवनै बिष्णु हुन्, बिष्णुनै शिव हुन् । यस संसारका सृष्टि, पालनकर्ता, संहारको लागि एउटै नाउ विभिन्न नामले चिनिन्छ । उनैको भक्तिभावले आज यो संसारमा जन्मिएका प्राणीहरुले आप्mनो सुखद् जीवन बिताइरहेका छन । त्यसैले यो साउन महिना विशेष महत्वको महिना हो । यो महिना प्रकृतिले शीतलता छर्ने दिन । हुस्सुको पातलो आवरण हरिया जङ्गलहरुमा हावाको तालसङ्ग रंगमगमगाउँदा सुन्दर संगीत ध्वनित हुन्छ । यसै महिनामा सत्यम, शिवम्, सुन्दरमको भाव छल्किन्छ, नेपालका पहाडी पाखाहरुमा । अनि प्रकृतिको सौन्दर्यसङ्गै गुन्जन्छ एकप्रकारको शालिन मौनता । अनि साउन महिना रङ्गिन्छ मानवका सुकुमार भावहरुसङ्गै बतासिएर, हो प्रकृतिले नै सुन्दर अनि शीतल तुल्याएको साउन देवाधिदेवको महादेव शिवको समेत मोहिनीमन्त्र लगाउने महिना मानिन्छ रे । नेपाली पन्चाङ्गअनुसार साउन चौथो महिना हो । संस्कृतको श्रावण महिना अपभ्रंश भएर नेपालीमा साउन भएको हो शास्त्रमा साउनलाई मासोक्तम मास अर्थात् सबैभन्दा उत्तम महिना भएको पाइन्छ । रात लामो दिन छोटो साउनको सुरुको दिन अर्थात् संक्रान्तिलाई विशेष महत्व दिइएको पाइन्छ किनभने यसै दिनदेखि सूर्य दक्षिणायन हुन्छ र दिन छोटो अनि रात लामा हुन थाल्छन । जुन क्रममा माघे संक्रान्तिमा सम्झीरहन्छ । ज्योतिष विज्ञानअनुसार साउन अर्थात् श्रावण महिनाको पूर्णिमाको दिन आकाशमा श्रवण नक्षत्रको योग निर्माण हुन्छ । त्यसैले यो महिनाको नाम श्रावण राखिएको हो । साउन महिनालाई पबित्र महिनाको रुपमा लिन सकिन्छ । हरिशयनी अर्थात् कात्तिक शुक्ल एकादशी सम्मको चार महिने अवधिलाई चतुर्मास भनिन्छ । चतुर्मास भित्र साउन, भदौ, असोज र कात्तिक महिना पर्दछन । यी महिनाहरु शुभ मानिने गर्छन । सनातन धर्म मान्नेहरुले यी चार महिनामा दिनको एकपटक मात्र शुद्ध सात्विक भोजन गर्नुपर्ने शास्त्रीय विधान छ । यी मध्ये पनि नेपालमा साउन महिनालाई धार्मिक क्रियाकलापका लागि अतिउत्तम मान्ने परम्परा छ, त्यही भएर यो शुभ महिना हो । यो महिनामै नागपञ्चमी पर्व परेको हुनाले अब चाडपर्वहरु नयाँ–नयाँ उमङ्ग लिएर आउँछन । श्रावण शब्द श्रवणबाट बनेको हो जसको तात्विक अर्थ हुन्छ सुन्नु अर्थात् सुनेर धर्मको मर्म बुझ्नु । सनातन धर्मको प्रमुख ग्रन्थ वेदलाई श्रुतिपनि भनिन्छ । श्रुतिको अर्थनै त्यस्तो ज्ञान हो जुन ईश्वरबाट सुनेर ऋषिहरुले आम मानिसलाई सुनाएका हुन । त्यसैले श्रावण अर्थात साउन महिनालाइ पवित्र मानिँदै आएको छ । यसलाई आदि गुरु भगवानको शिवको प्यारो महिना मानिन्छ । त्यसैले यो महिनामा शिवलाई खुसी पार्न विशेष धार्मिक अनुष्ठान एवं रुद्रादिभिषेकका साथ सोमबारको ब्रत बसिन्छ । साउन महिनाको सबै दिन उत्तिकै पवित्र हुने भएपनि सोमबारलाई अझ विशेष मान्ने चलन छ । यस बाहेक साउनमा नागपन्चमी, मङगल चौथी, घण्टा कर्ण, चतुर्दशी, जनैपूर्णिमा र गाइजात्रा आदि पर्वहरु पर्दछन । यी पर्वहरु सङ्गै हामी नेपालीहरुको मुख्य पर्व दशै, तिहार घर आँगनै नजिक आएको प्रतीत हुन्छ । साउने संक्रान्तिका दिनदेखि सूर्य मिथुन राशी छोडेर कर्कट राशीमा प्रवेश गर्छन । नेपालको ग्रामीण भेगमा संक्रान्तिका दिन लुतो फाल्ने हिजोका दिनमा चलन थियो, आज हराउदै गएका छन । यो थितिलाई अहिलेका युवाहरुले जोगाउनेतर्फ लाग्नुपर्ने हो तर त्यतातिर कसैको ध्यानै जादैन । सनातन धर्मावलम्बीहरुले साउन महिनाभर माछा, मासु, लसुन, प्याज आदि तामसी भोजन बार्ने चलन भएकोले यो महिना सात्विक महिना हो । विशेष गरी साउने सोमबारका दिन महिलाहरुको भगवान शिवको विशेष आराधना गर्छन । हिन्दु परम्पराअनुसार चारवटा सोमबार परेको साउन महिनाभर हरियो तथा रातो सौभाग्यका सामग्री लगाएर भगवान शिवको महिमा पूजा सहित व्रत बस्दा सौभाग्य प्राप्त हुन्छ भन्ने विश्वासले गर्दापनि हिजोआजका युवतीहरू यतातिर आकर्षित भएका छन । तर जुन आस्था र विश्वासका साथ यस्ता पर्वहरु मनाउदै आएका थिए नि हिजोआज यी पर्वहरुको नाममा बिकृति मौलाउदै गएको छ । देखासिकी, नचाहिदो भडकिलोपन, सामाजिक संजाल र टिकटकमा एकदमै नचाहिँदा तस्बीर र भिडियो प्रदर्शनले गर्दा पर्वमा विकृति मौलाउँदो छ, यसलाई रोक्नका निम्ति तपाईं हामी आजैबाट उठौ अनि जागौ । यसरीनै सबै जातजाति र विभिन्न धर्मावलम्बीहरुको पर्वहरु, मौलिक संस्कृति पर्वहरु अझै होस्टेमा हैँसे गर्दै मौलाउदै जाउन । अनिमात्र हाम्रो धार्मिक भाव अझै झाङ्गिदै जानेछन  ।

Author

You may also like