शिक्षा

हिमाविमा विद्यार्थीको घुइँचो

दमक, २९ चैत। कोशी प्रदेशकै अब्बल विद्यालयका रुपमा स्थापित दमक २ मा अवस्थित हिमालय माद्यमिक विद्यालयमा भर्ना हुनकालागि विद्यार्थीहरुको घुइँचो लागेको छ ।

विद्यालयले बुधबार सञ्चालन गरेको प्रवेश परीक्षामा झापा, मोरङबाट मात्र होइन कोशी प्रदेशका पहाडी जिल्ला, इलाम र पाँचथरबाट समेत विद्यार्थीहरु आएका छन् । विद्यार्थी र अभिभावकको घुइँचो थियो । विद्यालयले नयाँ भर्ना हुन चाहने कक्षा एलकेजीदेखि ९ सम्मका विद्यार्थीकालागि प्रवेश परीक्षा सञ्चालन गरेको हो । जसमा सातसय ५३ जना विद्यार्थीले नयाँ भर्नाकालागि प्रवेश परीक्षाको फारम भरेर बुधबार परीक्षा दिएको प्रधानाध्यापक द्रोणबहादुर श्रेष्ठले जनाए । ‘हामीले यसमध्ये तीनसय विद्यार्थीलाई लिनसक्ने भौतिक व्यवस्थापन छ । भौतिक तथा आर्थिक व्यवस्थापनको स्रोत जुट्न सक्दा हामीले संख्या बढाउन सक्ने अवस्था हुने थियो ।’– उनले परिस्थिती दर्शाए ।

अब्बल शैक्षिक गतिविधिको प्रभावमा टाढा टाढादेखिका विद्यार्थीहरु दमक बसेर हिमावि पढ्न आउने गरेको भएपनि आर्थिक भारका कारण सवैलाई समेटन् गाह्रो भएको तथा सम्बन्धित सरकारी निकायले पनि सामुदायिक विद्यालयको यसखाले अभियानलाई सघाउन नसकेको उनले सुनाए । ‘नगरपालिकामार्फत संघीय सरकारले भवनकालागि प्रदान गरेको १ करोड बजेटको हालसम्म काम अघि बढ्न नसकेको र अघिल्लो वर्ष त यस्तैखाले ढिलासुस्तीले ५ करोड बजेटै फर्किन पुगेको दुःखदायी अवस्था रह्यो ।’ उनले भने ‘प्रत्येक वर्ष विद्यार्थीको चाप बढेको अवस्थामा भवन बनाउन पाए आर्थिक विपन्न विद्यार्थीले गुणस्तरीय शिक्षा पाउनबाट बञ्चित भएर यहाँबाट हस्स परेर फर्किनु पर्ने थिएन ।’ नमूना विद्यालय कार्यक्रम अन्तर्गत नगरकै पहलमा भएको भवन निर्माणको यसअघिको बजेट भनें विद्यालयको खातामा आउन सक्दा बेलैदेखि काम गर्न सहज भएको स्मरण गर्दै उनले अवको काम पनि त्यही प्रकारले सहज हुन पाए विद्यार्थीको चापलाई सम्वोधन गर्न सजिलो हुने अवस्था दर्शाए । ०७० सालबाट नमूना विद्यालयको कार्यक्रममा समावेश भएको हिमावि ०७४ देखि नमूना विद्यालय घोषित भएर नमूना शिक्षामा थप जोड दिएको छ ।

वि.सं. २०१२ सालमा स्थापित सो विद्यालयमा पछिल्लो समयमा त झन वर्षेनी विद्यार्थी संख्या बढेको बढेकै छ । ०७६ मा दुई हजार छ सय, ०७८ मा तीन हजार एकसय ४७ र ०८० मा ३ हजार ४ सय ७५ विद्यार्थी संख्या पुगेको छ । पर्याप्त भवन भएको भए यो वर्ष चार हजार विद्यार्थीको संख्या पुग्ने अवस्था रहने प्रअ श्रेष्ठले बताए । नयाँ भर्नाकालागि इच्छा जाहेर गरेर प्रत्येक वर्ष आउने तीन भागको एक भाग मात्र विद्यार्थी अब्बलताको आधारमा छानेर प्रवेश गराउन सकिएको असहज अवस्था उल्लेख गरे । कक्षा १२ सम्मको पढाई हुँदै आएको विद्यालयमा कक्षा १० सम्मका स्थायी शिक्षक दरबन्दीको संख्या ३१ रहेको छ भनें निजी स्रोतबाट ३६ जना शिक्षक राखिएको छ । कर्मचारीको १६ दरबन्दी र १५ निजी स्रोतमा छन् । प्लस टु मा सात दरबन्दी भएकोमा त्यसमा ४६ जना निजी स्रोतका शिक्षक र सात कर्मचारी थपेर राखिएको छ । सरकारी तलब आउनेमा करार शिक्षक पाँच, राहत शिक्षक दुई, बाल शिक्षाका तीन र विद्यालय नर्स एकजना रहेको अवस्था छ । नगरपालिकाले पाँच कक्षासम्मको पूर्ण निःशुल्क शिक्षा गर्नु पर्ने भनेर परिपत्र गरेको भएपनि दरवन्दी र आवश्यक खर्च व्यवस्थापनको ठूलो चुनौती रहेको प्रअ श्रेष्ठले उठान गरे । ‘नगरको शिक्षा समितिले नगर क्षेत्रमा १५ जना शिक्षकको व्यवस्थापन गर्ने भनेर भनेको छ । जवकि हाम्रै विद्यालयमा मात्रै नै पनि त्यति सवै दरबन्दीले पुग्ने अवस्था छैन । अरु अतिरिक्त क्रियाकलाप सहित कार्यालयीय सहितको लाखौं खर्चको व्यवस्थापन त झन अर्काे पाटो छ । अनि कसरी पूर्ण निःशुल्क शिक्षाको व्यवस्थापन हुन्छ ?’– उनको प्रश्न छ । उनले विद्यार्थीहरुबाट भर्ना शुल्कका रुपमा सहयोग स्वरुपको केही रकम लिएर निजी स्रोतबाट शिक्षक कर्मचारी व्यवस्थापन गरी अंग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा दिन सफल भएको बेलिविस्तार लगाए ।

गुणस्तरीय शिक्षाकालागि हिमाविमा विद्यार्थी भर्ना गर्ने लोभलाई पुरा गर्न सरकारले यसखाले विद्यालयको शिक्षक कर्मचारी दरबन्दी, भौतिक र आर्थिक व्यवस्थापन गर्नुपर्ने अभिभावकमध्येका दमक ५ का रविन्द्र लिम्बूले आवश्यकता औंल्याए ।

सो विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्ष केदारनाथ घिमिरेले नर्सरीदेखि कक्षा १२ सम्म नै अंग्रेजी माध्यममा पढाइने विद्यालयमा व्यवस्थापकीय पक्षलाई चुस्तता दिँदै ग्राजुएट गरेका अंग्रेजीमा समेत दक्ष शिक्षकहरु भएकाले भनेजस्तो गुणस्तरीय शिक्षा प्रदान गर्न सकेको तथ्य अघि सारे । उनले गत वर्ष दुईसय ८५ जनाले एसईई दिएकोमा सवै उत्तीर्ण हुनुमात्रै होइन ३४ जनाले ए प्लस ल्याएर जिल्लामै उत्कृष्ठ बनेको जानकारी गराए । यो साल तीनसयले एसईई दिएका छन् । २०२४ सालबाट एसएलसी सुरु गरेको सो विद्यालय हाल खुला एसईईको परीक्षा केन्द्र समेत रहेको छ । त्यहाँ प्लस टु मा विज्ञान, कम्प्युटर इन्जिनियरिङ, शिक्षा, मानविकी, व्यवस्थापन समूहको पढाई हुँदै आएको छ ।

Author

You may also like