देश–समाज शिक्षा

झापाका विद्यालयहरु अभिभावक र स्थानीय तहको सहमतिमा सुचारु

कमलका विद्यार्थी
  • पंकज दाहाल

दमक/  झापाका विद्यालयले अभिभावक र स्थानीय तहसंगको सहमतिमा पठनपाठनको कार्य सुचारु गरेका छन् ।

कोरोनाको संक्रमण बढिरहेको अवस्थामा शिक्षा मन्त्रालयले विद्यालयमा पहिलेझैं कक्षा संचालन नगर्न भनेको छ ।

तर अन्य उपाय नभएको भन्दै विद्यालयहरुले भने सतर्कता अपनाउँदै विद्यार्थीको भर्ना संगसंगै पठनपाठनको कार्यलाई समेत अघि बढाएका छन् ।

कमलमा विद्यालयमै पठनपाठन

झापाको कमल गाउँपालिकाका सबै विद्यालयमा कक्षा १० सम्मको पठन पाठन गराउन थालिएको छ ।

सामुदायिक र संस्थागत निजी दुवै विद्यालयमा यही असोजको शुरु हप्तादेखि फरक फरक समय तालिकामा विद्यालयमै पढाउन थालिएको हो ।

‘ हामीले असोजको शुरुवातबाट कक्षा संचालन गरिरहेका छौं । तर त्यो पहिलेको जस्तो छैन ।’

कमल–५ पाडाजुँगीस्थित मंगलमय माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहन कुमार बगालेले भने–

‘अहिले विहान ८ देखि ५ बजेसम्म समूह विभाजन गरेर पढाइन्छ ।’

एउटा समूहमा कक्षा नर्सरीदेखि ५, दोश्रोमा कक्षा ६ देखि ८ र तेश्रोमा कक्षा ९ र १० लाई पढाउने व्यवस्था मिलाइएको छ ।

शिक्षक र विद्यार्थी पनि फरक फरक समूहमा आउने गरेका छन् ।’

प्रअ बगालेले आफूहरुले केन्द्र सरकारको सिकाई सहजीकरण निर्देशिका अनुसार नै विद्यालयमा पठनपाठन शुरु गरेको बताए ।

उनले कक्षा कोठामा मास्कको अनिवार्य प्रयोग र सामाजिक दूरी कायम गरिएको प्रष्ट पारे  ।

उनले विद्यार्थी र अभिभावकको अवस्था अध्ययन तथा सर्भेक्षण गरेर विद्यालय यस्तो निष्कर्षमा पुगेको जानकारी गराए ।

जसमा अभिभावक र विद्यालय व्यवस्थापनको सहमति तथा निर्णय अनुसार अघि बढिएको उनले खुलाए ।

सिकाई केन्द्रलाई मात्र सहमति

तर कमल गाउँपालिका शिक्षा शाखाका प्रमुख सूर्य न्यौपानेले भने आफूहरुले कोरोनाको महामारीभन्दा अगाडिको सहज अवस्थामा जसरी विद्यालय खोल्न कसैलाई पनि सहमति नदिएको बताए ।

‘पहिलेको जस्तो गरी विद्यालयमा पढाउन भनेका होइनौं । तर एउटा सिकाई केन्द्रका रुपमा थोरै विद्यार्थीलाई राखेर पढाउने भन्ने निर्णय भएको हो ।

जुन सरकारको सिकाई सहजीकरण निर्देशिका बमोजिम हुनुपर्छ ।’ न्यौपानेले भने– यो स्वाभाविक पनि हो ।

हामीले त्यसमा कुनै अपराध त गरेका छैनौं । विद्यालय पनि एउटा सिकाई केन्द्र हुन सक्छ । सोही अनुसार विद्यालयमा पठन पाठन भएको हो ।’

कोरोनाको महामारीका कारण पढाई नहुँदा अहिले अभिभावक पनि आत्तिएको र सिकाईका लागि सहज अवस्था पनि छैन ।

यस्तो अवस्थामा स्थानीयतहलाई प्राप्त अधिकार र केन्द्रको निर्देशनअनुसार अन्तिम विकल्पकारुपमा विद्यालयहरुले पठनपाठन थालेको उनले बताए ।

रेडियो, टेलिभिजन, कम्प्युटर र अनलाइन शिक्षाका लागि स्रोत साधनको अभाव भएको, त्यसमा पहुँच नभएको र घरमा उचित वातावरण नहुने विद्यार्थीको संख्या अत्यधिक भएकाले कक्षा कोठाको पढाइलाई कार्यान्वयनमा ल्याउनु बाध्यता भएको उनले प्रष्ट पारे  ।

दमकमा समुदायमै पढाई

यता दमकमा भने कोरोना संक्रमणको जोखिम रहेको भन्दै विद्यार्थीहरुलाई उनीहरुकै घरआँगनमा गएर पढाउन थालिएको छ ।

‘हामीले नयाँ मोडालिटीमा पठन–पाठन गराइरहेका छौं । जसअन्तर्गत विद्यार्थीहरु रहेको टोलमा गएर शिक्षकहरुले पढाउनुहुन्छ । समुदायमा १० वटा क्षेत्र बनाएका छौं । त्यहीं गएर तीन फरक समय तालिकामा पढाउने गरिएको छ ।’

दमक–३ स्थित ढुकुरपानी माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण भण्डारीले भने – ‘अहिलेको अवस्था अप्ठ्यारो छ ।’

‘प्रशासन र नगरपालिकाले पनि विद्यालयमा भीडमा नपढाउनु भनिरहेको छ ।’

‘त्यसैले अभिभावकको सहमतिमा यस्तो व्यवस्था गरिएको हो । हेरौं कतिको प्रभावकारी हुन्छ ।’

समुदायका विभिन्न सामुदायिक र मन्दिरका हलमा विद्यार्थीलाई पढाउने व्यवस्था गरिएको हो । जसलाई सिकाई केन्द्रका रुपमा लिइएको छ ।

त्यसका लागि एउटा समूहका लागि विद्यालयबाट पनि ६/७ जनाको संख्यामा शिक्षकहरु परिचालित भएको बताइएको छ ।

केन्द्रमा विद्यार्थीलाई पढाउने , गृहकार्य दिने र जाँच्ने काम गरिन्छ ।

‘यो पहिलेका गुरुकूल जस्तै हो । विद्यार्थीहरुले गुन्द्री र चकटीमा बसेर कक्षा लिइरहेका छन् । उनीहरुले विद्यालयमा धाउनु पनि परेको छैन।’ – प्रअ भण्डारीले अझै खुलाए ।

अनलाइन असंभव जस्तै सामुदायिक विद्यालयका अभिभावक तथा विद्यार्थीहरुमा आधुनिक संचार र सूचना प्रविधिका स्रोत साधनको अभाव भएको र त्यो असंभव देखिएकाले जे उचित हुन्छ त्यसै गर्न विद्यालयहरुलाई भनिएको दमक नगरपालिका शिक्षा शाखाका प्रमुख दिनेश कुमार न्यौपानेले बताए ।

यसका लागि नगरपालिका संगको समन्वयमा विद्यालयहरुले घर र समुदायमै पठनपाठनको व्यवस्था मिलाएको उनले प्रष्ट पारे ।

‘यो हाम्रो अन्तिम विकल्प हो । जसबाट विद्यार्थीहरु लाभान्वित हुन सक्छन्  । ’

न्यौपानेले विद्यार्थीलाई पहिले झैं विद्यालयमा बोलाउने कुरा भने कोरोनाको त्रासका कारण उपयुक्त नभएको तर्क गरे र भने –

‘अहिले पाठ्यक्रम पनि घटाइएको छ ।’

त्यसैले विद्यार्थीलाई पठन पाठनको भार पनि कम पर्छ । अब उनीहरुलाई माथिल्लो कक्षामा अध्ययन गर्न तयार बनाउनुपर्छ ।’

उनले दमकका संस्थागत निजी विद्यालयहरुलाई पनि सके अनलाइन, नसके र पहुँच नभए विद्यार्थीका घरमा गएर या समुदायस्तरमा पढाउने व्यवस्थाका लागि अनुरोध र समन्वय गरिएको जानकारी गराए ।

तर यसको समीक्षा र मूल्यांकन एक महिना पछि गरिने र थप योजना बनाइने उनले बताए ।

सबैलाई मास्क अनिवार्य

माथिका विद्यालयहरुले पढ्न आउने विद्यार्थीहरु सबैलाई मास्क भने अनिवार्य गरेको जानकारी गराइएको छ ।

त्यस्तै सेनिटाइजर या साबुन पानीको व्यवस्था पनि गरिएको ति विद्यालयले जनाएका छन् ।

उनीहरुको बसाई डेस्कमा २ जना मात्र र सामाजिक दूरी पनि कायम गराइएको बताइएको छ ।

यसरी पठन पाठन शुरु गरिएको झापामा मात्र नभएर काठमाडौ लगायत अन्य जिल्लामा पनि हो ।

You may also like