दमक, १० माघ। पछिल्लो पाँच महिनादेखि दुध र दुग्धजन्य पदार्थको भुक्तानी नहुँदा किसानले समस्या भोग्नुपरेको गुनासो गरेका छन् । झापा र इलामका दूध किसानले भुक्तानी नपाएको गुनासो गरेका छन् ।

नेपाल डेरी एशोसियसनका केन्द्रीय महासचिव हेमचन्द्र खनालले सरकारले आयात रोकेर स्थानीय किसानको उत्पादित दूधको निर्यातको वातावरण बनाउनु पर्नेमा जोड दिए । दूधको मूल्य बढाउँदा भारतबाट सस्तोमा दूध भित्रिएर नेपाली दूधको बिक्रीमा समस्या भएको र किसानले भुक्तानी पाउन समस्या भएको बताए । उनले कोशी प्रदेशका धेरैजसो दूध उत्पादक किसानले साउनदेखि नै भुक्तानी नपाएको बताए ।

दमक ८ स्थित साझा डेरीका सञ्चालक योगानन्द खतिवडाले देशमा उत्पादन बढेको तर निर्यातको ब्यवस्था नहुँदा समस्या भएको बताए । उनले हाई स्केलमा मुल्य वृद्धि हुँदा र भारतीय दुध सस्तोमा पाइने भएकोले पनि नेपाली बजारमा समस्या आएको बताए ।

देशभर ३० लाख दुध उत्पादक किसान छन् । यसमध्ये अधिकांश किसानले दुधको रकम पाउन नसकेको बोर्डले जनाएको छ । पछिल्लो समय देखिएको आर्थिक मन्दी, उपभोक्ता क्रय शक्ति घटेकाले दुधको रकम भुक्तानी हुन नसकेको जानकार बताउँछन् ।

भेटनरी अस्पताल तथा पशु सेवाकेन्द्र झापाका अनुसार‌ झापामा वार्षिक १ लाख १२ हजार‌ ५ सय १५ मेट्रिक टन दूध उत्पादन भइरहेको‌ छ । जिल्लामा २६ वटा दूधको‌ कारोबार‌ गनेर सहकारी संस्था दर्ता छन् । १५ वटा डेरी पसल दर्ता भई सञ्चालनमा रहेका छन् ।

यसैगरी इलामका किसानले दुग्धजन्य पदार्थको निकासी र भुक्तानीमा देखिएको समस्या समाधानका लागि पहल गर्न इलाम नगरपालिकासँग माग गरेका छन् ।

इलाम–५ का किसान वीरबहादुर अधिकारीले गत साउन १५ देखि दूधको पैसा नपाएको गुनासो गरे । सोही ठाउँका अर्का किसान गङ्गाप्रसाद नेपालले किसानले पाउनुपर्ने रकम स्थानीय, प्रदेश र सङ्घीय सरकार मिलेर भुक्तानी गर्न गरे । इलाम–५ माइपोखरीका किसान भूप्रसाद बजगाईँले दुध लिन दुग्ध विकास संस्थान (डिडिसी) को गाडी दैनिक आउन छोडेकाले दुध बिक्री हुन छोडेको बताए ।

जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ इलामका अध्यक्ष होम कट्टेलले गत भदौदेखि किसानले दूधको भुक्तानी नपाएको गुनासो गरेका छन् ।

डिडिसीले साउनदेखि पुससम्मको नौ लाख ५६ हजार पाँच सय ६० लिटर दुधको भुक्तानी दिन बाँकी रहेको अध्यक्ष कट्टेलले बताए । डिडिसीले दुग्ध चिस्यान केन्द्र बिब्ल्याँटामा दुई लाख ११ हजार ५० लिटर, दुग्ध चिस्यान केन्द्र तीनघरेमा दुई लाख ६१ हजार छ सय १० लिटर, दुग्ध चिस्यान केन्द्र फिक्कलमा एक लाख ८२ हजार चार सय लिटर र दुग्ध चिस्यान केन्द्र शान्तिडाँडामा तीन लाख एक हजार चार सय लिटर दुधको भुक्तानी दिन बाँकी रहेको उनको भनाइ छ ।

इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्षसमेत रहनुभएका व्यवसायी चेतनाथ पौड्यालले रु एक करोड १५ लाख बढीको घिउ र छुर्पी नबिकेर स्टोरमा थन्क्याउनुपरेको र अझ स्टोरमा नै रहने हो भने अखाद्य तत्त्वका रूपमा परिणत हुने चिन्ता व्यक्त गरे ।

राष्ट्रिय कृषक महासङ्घका संयोजक राम मगरले गुणस्तरीय दुग्ध सामग्री उत्पादन र बजारीकरणका लागि रणनीतिक अनुगमन गर्नुपर्ने बताए । इलाम नगर प्रवक्ता एवम् वडा नं ४ का वडाध्यक्ष नुतनदेव दुलालले भारतीय दुग्ध सामग्री आयातमा प्रतिबन्ध लगाएमात्र नेपाली दुग्ध उत्पादनले बजार पाउने बताए ।

नगरप्रमुख केदार थापाले किसानका समस्यालाई नगरपालिकाले गम्भीरतापूर्वक लिएको बताउनुहुँदै स्थानीय सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

इलाम नगरमा मात्र दैनिक २० हजार लिटर दुध उत्पादन हुने गरेको छ । बाँकी दूध निजी डेरी, चिज कारखाना, छुर्पी बनाउने उद्योग र मिठाइ बनाउने उद्योगमा खपत हुने गरेको छ । जिल्लामा भने निजी क्षेत्रमा दैनिक ५३ हजार लिटर हाराहारीमा दुग्ध खपत हुँदै आएको छ । निजी डेरीमा मात्र एक हजारभन्दा धेरै किसानले दूध बिक्री गर्दै आएका छन् । इलाममा १८ वटा चिज कारखाना, एक सय ५० वटा छुर्पी बनाउने उद्योग र १३ वटा दुग्ध मिठाइ बनाउने उद्योग रहेको सरकारी तथ्याङ्क छ । इलाममा वार्षिक एक लाख १६ हजार ८६ मेट्रिकटन दुग्ध पदार्थ उत्पादन हुने गरेको छ । होलिस्टिन र जर्सी गरी यहाँ ३३ हजार तीन सय ७१ वटा उन्नत जातका गाई पालिएको सरकारी तथ्याङ्क छ ।

Author

You may also like