दमक, ४ पुस।
दुई सातादेखिको असहजताकाबीच दमक बजारको फोहोर वडा नम्बर ३ स्थित हंसेदुम्से सामुदायिक वनको पूर्व क्षेत्रको खाली ठाउँमा तत्कालका लागि फोहोर व्यवस्थापनको विकल्प बनेको छ ।
मंगलबार बिहान बसेको स्थानीय विपद् व्यवस्थापन समितिको बैठकले दुई सातादेखि बजार क्षेत्रमा फोहोर नउठ्दा संक्रमण फैलिनसक्ने खतरा रहेको निष्कर्ष निकाल्दै समस्याको अस्थायी समाधान गर्ने भन्दै सो क्षेत्रमा फोहोर व्यवस्थापन गरेको हो । मंगलबार दिउँसो दमक नगर प्रमुख रामकुमार थापा, उप-प्रमुख रेगिना भट्टराई प्रसाईं, प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्की, वडाध्यक्षहरु २ का प्रजापति सापकोटा, ३ का नविन बराल र ६ का टेकबहादुर थापा, दलका प्रतिनिधि, इलाका प्रशासन कार्यालय इलाका प्रहरी कार्यालय, नगर प्रहरीहरुको संयुक्त टोली सो वन क्षेत्रमा गइ जेसीभीले खाल्डो खनेर त्यसमा फोहोर राखिएको हो ।
फोहोर संकलन तथा व्यवस्थापनको जिम्मा लिएको नेक्ष्ट इरा इनर्जीले पहिले तोकिएको ल्याण्डफिल्ड साइटमा फोहोर भरिएपछि विकल्पका रुपमा फोहोर फाल्ने ठाउँ नभएको भन्दै फोहोर संकलन कार्य गर्न असमर्थता जनाएको थियो । नेक्ष्ट इरा इनर्जीका प्रबन्ध निर्देशक बिमल खतिवडाले नगरपालिकाले स्थायी स्थलको तयारी नगरेसम्म सोहि ठाँउमा फोहोर प्mयाक्न सुरुगरिएको बताए । अर्कातर्फ यसअघि फोहोरो फाल्दै आएको हंसेदुम्से वनले पनि औपचारिक रुपमा फोहोर फाल्ने अनुमति नदिएपनि विपद्मा महामारी या संक्रमण फैलिन सक्ने अवस्थामा अस्थायी समाधानका लागि सो ठाउँमा फोहोर व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ ।
फोहोरमैला व्यवस्थापनको दीर्घकालीन समाधानका लागि नगरपालिकाले सर्वदलीय बैठकबाट गठन गरेको १५ सदस्यीय सर्वपक्षीय समितिले अधिकार पाएको हुँदा आवश्यक समीक्षा गरी नयाँ योजना बनाउने र सोही अनुसार अघि बढ्ने नगर प्रमुख थापाले जानकारी गराए । रास्वपा दमकका कार्यकर्ता र सुन्दर समाज नेपालका प्रतिनिधिले नगरपालिकासँग सल्लाह र समन्वयन नगरी फोहोर संकलन गरेको केहि ट्याक्टरहरु अनुमति विना नगरको हातामा राखेकोप्रति नगरको असन्तुष्ठि रहेको छ । सडक बजारमा फोहोर थुप्रिएको अवस्थामा रास्वपा र सुन्दर समाजले आफ्नै हिसावले फोहोर उठाएर नगरको हातामा लगेर राखेको थियो ।