बिर्तामोड, १९ कार्तिक
प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले जाजरकोट र पश्चिम रुकुमका भूकम्पपीडितहरुको सहयोगका लागि उद्योगी व्यवसायीहरुलाई आव्हान गरेकी छन् ।
शनिबार बिर्तामोड उद्योग वाणिज्य संघको छैटौं वार्षिक साधारणसभामा प्रमुख अतिथिका रुपमा बोल्दै उपसभामुख रानामगरले उद्योगी व्यवसायीसहित हरेक व्यक्तिलाई आफ्नो गाँस काटेर भूकम्पपीडितहरुलाई सहयोग गर्न आव्हान गरेकी हुन् ।
यस्तो आपत्ति जुनसुकै क्षेत्रमा आउनसक्ने भन्दै उनले यो संवेदनशील अस्थामा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका जनताले सहयोगको भावना देखाउनु पर्ने बताइन् । जलवायु परिवर्तनका कारण नेपाल र नेपालीहरुले यस्ता प्राकृतिक विपद् भोग्नु परिरहेको उनको भनाइ छ ।
उनले भूकम्पबाट मृत्यु भएकाहरुप्रति गहिरो दुःख व्यक्त गर्दै सरकारले उद्धार, राहत र पूनस्र्थापनाको कार्यलाई शिघ्र रुपमा अघि बढाउन थालेको बताइन् ।