दमक/ झापाको दमक–५ स्थित मेची सेकेण्डरी बोर्डिङ स्कूलमा वार्षिक साँस्कृतिक कार्यक्रम र पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । स्कूलमा सोमबार आयोजित औपचारिक कार्यक्रममा विद्यार्थीहरुले विभिन्न समूहमा प्रतियोगितात्मक नृत्य प्रस्तुत गरेका थिए । त्यसका अतिरिक्त विद्यालयमा संचालन गरिएका अतिरिक्त कृयाकलापहरुमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई मेडल तथा पुरस्कार प्रदान गरिएको थियो ।
सो अवसरमा विद्यार्थीहरुले बनाएका हस्तकलाका विभिन्न सामग्रीहरुको प्रदर्शनी समेत गरिएको थियो । ति सामग्रीहरु बनाउन उत्कृष्ट कला प्रस्तुत गर्ने विद्यार्थीहरुलाई प्रोत्साहन पनि गरिएको थियो । विद्यालयका प्रिन्सिपल श्रवणकुमार पोखरेलको सभापतित्व र विद्यालयका संस्थापक अध्यक्ष शेरबहादुर भट्टराईको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा संस्थापक प्रिन्सिपल खेमलाल पोखरेल, संचालक सुमित्रा प्रसाइँ, प्रेस चौतारी नेपालका केन्द्रीय लेखा आयोग सदस्य समेत रहेका अभिभावक विष्णु पोखरेल, नेपाल प्रेस युनियन माईपश्चिम क्षेत्रीय समिति अध्यक्ष एवं अभिभावक विष्णु पौडेल लगायत अतिथिहरुले विभिन्न विधाका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल पोखरेलले २०४६ सालमा स्थापना भएको विद्यालयको गौरवपूर्ण इतिहास र यसको गरिमालाई कायम राख्न योगदान पु¥याउने विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारीहरुको प्रशंसा गरे । उनले विद्यालयका दुई जना संस्थापकहरु स्वर्गीय कोमल प्रसाइँ र कृष्ण दंगाललाई स्मरण गर्दै उनीहरुको योगदानप्रति विद्यालय सँधैं ऋणी रहने बताए ।