दमकलाई सबैभन्दा पहिले देख्ने आँखाहरु अहिले पनि देखिरहेका छन भन्दा अच्चम्मै लागदो हो । तर अचम्मै छ । दमकलाई पहिलोचोटि आँखाको परेलीमा राख्ने उही मान्छे अहिले पनि राखिरहेको छ भन्न पाउनु गर्वको कुरा हो । हो, ती आँखा अझै तीखा छन् । अझै जुझारु छन् । अझै तिलस्मी छन् । अझै सिर्जनशील छन् । ती कुनै गोला बारुदले निभ्दैनन् । कुनै खडेरीले सुक्दैनन् । ती कुनै महामारीले बस्दैनन् । ती कुनै कुनै बाढीले बग्दैनन् । ती कुनै हावाहरीले बढारिँदैनन् ।
यस्ता दमकका एकजना संपूर्णमा इतिहास र बर्तमान भएर ठिङ्ग उभिएका पात्र, लेखक, अध्येता, सामाजिक व्यक्तित्व मेघराज तिम्सिनाका आँखाहरु म अहिले पढिरहको छु । र देखिरहेको छु तिनका आँखाको ज्योति । मेघराज तिम्सिना दमकमा घाम उदाएको पहिलोचोटि देख्ने व्यक्तित्व हुन् । दमकका सबैभन्दा पुराना अभिलेखहरु खोज्ने, इतिहासका पानाहरुलाई पल्टाइरहनु उनको लेखकीयता हो । किनभने उनको पहिलो कृति ‘पूर्वस्मृतिमा दमक’ यसअघि प्रकाशित भइसकेको कृति हो । त्यो संस्मरण, इतिहास र अनुभूतिको सङ्गम हो । त्यसले दमकको इतिहासको रेखा कोरेको छ । यही लयलाई पछ्याएर तिम्सिनाको इतिहास र वर्तमानलाई जोड्ने दोस्रो कृतिको रुपमा ‘दिग्भ्रम’ (२०७८) बजारमा आएको छ । यो कृतिको शिर्षकले उत्तरवर्ती चेतना बोकेको छ । ज्ञान भनेको नै ‘यो कुरा भ्रम हो’ भनेर बुझ्नु हो । अज्ञानी मान्छेहरुले मात्रै ‘यो भ्रम होइन, ज्ञान हो’ भन्छन् । ज्ञानको सीमा नभएको र त्यसको कुनै निश्चित आयाम नहुने कुरा तिम्सिनाको ‘दिग्भ्रम’ शिर्षकले अभिव्यक्त गरेको छ ।
वास्तवमा जान्नु नै भ्रम रहेछ । ज्ञान रहेछ । चेतना रहेछ । अनि भ्रम नहुनु भनेको ज्ञान नहुनु रहेछ । चेतना नहुनु रहेछ । विवेक नहुनु रहेछ । अनि भ्रमबाट मूक्त हुन खोज्नु ज्ञान प्राप्त गर्न खोज्नु रहेछ । जति भ्रम बुभ्mदै गयो त्यति नै चेतना फरकिलो बन्दै जाँदो रहेछ । अनि जति भ्रम नबुझेर ज्ञानको दावी गर्दै गयो त्यति नै अज्ञानी बनिदै जाने रहेछ । यही ज्ञानको उद्घोष भएको छ यहाँ । यही अभिघात चेतना भएको छ यहाँ । यही राजनैतिक र सामाजिक चेतना भएको छ यहाँ । यही आप्mनो समय र परिवेशको ज्ञान भएको छ यहाँ । अनि नेपालले भोगेको दश बर्षे युद्धका घाउहरुको साक्ष भएको छ यहाँ ।
तिम्सिनाको यो कविता कृति नेपाली समाजको एउटा ऐना हो । कविताहरुमा तिम्सिना समाजका अनेकौं अवयवहरुको प्रक्षेपण गर्न पुगेका छन् । नेपाली समाजमा भएका व्याप्त अन्याय, अत्याचार, भ्रयटाचार, घुसखोरी, बेइमानी, स्वार्थीपन, अमानवीयता, द्रव्यमूखी, अनैतिकता अनेकौं बिषयहरुलाई आप्mना कविताहरुमा उपस्थित गराएका छन् । परिवर्तनको नाममा उत्पन्न भएका निराशा र दुर्दशाहरु, ग्लानी र कुण्ठाहरु छरपष्ट छन् कविताहरुमा । समाजमा जात र धर्मको नाममा भएका बिभाजन र भैmभगडाहरुको बिरुद्धमा छन् उनका कविताहरु । त्यो भन्दा बढी त नेपाली समाजले ब्यहोरेको दश बर्षे युद्धको वीभिषीका र त्यसले जन्माएका अभिघातहरु छरपष्ट छन् उनका कविताहरुमा । अथवा भनौं, यो सङ्ग्रहले नेपालको समकालिन समाजको चित्रण गरेका छन्ः
एकताको आवश्यकता
नेपाली समाज द्घन्द्घात्मकताको नाममा बिभाजित भएको र त्यसलाई ‘मिलापत्र गराइदिने’ पात्रको खोजी गर्दै तिम्सिनाका कविता सुरु हुन्छन्ः
त्यस्तो जधन्य अनि
असत्य हुँदाहुँदै पनि
आमाको चिन्तित मुटुले
सबै सहनु परेकै छ (मिलापत्र गराइदिन कसले?)
स्वार्थको माहात्म्य
समकालिन नेपाली समाज, अझ भनौं सर्वकालिन, स्वार्थहरुको माहत्म्य रचेर गुज्रिरहेको छ । आप्mनो र बिरानो छुट्याउन गाहृो परिरहेको छ । र त तिम्सिना पोख्छन् ः
नता कुटुम्ब र ईष्टमित्र जो भए पनि
आखिर ‘छन् गेडी सबै मेरी
छैनन् गेडी सबै टेढी’ (छन् गेडी)
वर्गीय बिभेद
नेपाली समाज वर्गीय विभेदको चपेटामा छ । हुनेखानेहरुको हुँदा खानेहरुमाथिको अन्याय, दमन र शोषण पनि कायमै छः
गरिवका यी कति छन् कति कथा
बुझ्दैन ही मनका व्यथा (गरिव)
खस्किएको संस्कार र संस्कृति
संस्कार र संस्कृति बिकृत र विदिर्ण बन्दै गरेको यो समय कवि तिम्सिना त्यसमा पनि औला ठड्याउन पुगेका छन् । किनभने यी कुरा भनेका सभ्यताका द्योतक हुन् । अनि ती इतिहासका गर्तमा सीमित छन् । अनि तिनलाई संझिन्छन् कवि । जस्तैः
लेकमा रहेको गोठ औलाली खर्ककाृ गति
समालेर थामिराख्ने भएन सन्तानको मति
(बिडो थमाउने कसरी?)
द्वन्द्वको जरो
समाजमा लामो समय हिंसात्मक द्घन्द्घ भयो । र त्यसले राप र ताप पनि पायो । तर कसरी ? के ले मलजल ग¥यो त ? कवि यसरी कारक तत्व बताउँछन्ः
यस्तै कुरा नपच्नाले विद्रोही ती जागे
नेताहरुको चरित्रले क्रान्तितिर लागे
(तिमीले के पो पाउला?)
राष्ट्रप्रेम
समकालिन नेपाली समाजले उदवोध गरेको एउटा दर्बिलो अश्त्र हो राष्टूप्रेम । यो आम मानव समुदायमा लागु भए पनि नेपाली कलमहरु संधैं यो विषयलाई निकै संवेदनशील मान्छन् । हामी त्यस्तै संवेदनशील स्थानमा रहेकाले पनि हुनसक्छ ।
विदेशी फेसन भित्र्याई, पौरख देखाई
कहाँ रह्यो हाम्रो नेपालीपन (बाँच नेपाली भएर)
यसरी नेपाली समाजका समकालिन चरित्रहरुलाई उदाङ्गो बनाइएका कविताहरुको यो सङ्ग्रहले नेपाली समाज र नेपाली जीवनका अनेकौं आयामहरुलाई प्रक्षेपण गरेका छन् । उनलाई नेपाली समाज विसंगतपूर्ण छ भन्ने पनि ज्ञान छ (आस नगर) । नेपाली समाज इतिहासलाई नकारात्मक तरिकाले मूल्याङकन गर्छ भन्ने पनि थाहा छ (म यस्तै कविता लेख्छु) । अनि बिजोक छ भन्ने पनि थाहा छ (चेतना) । देश बनाउन अलिकति उपदेशको आवश्यकता छ भन्ने पनि थाहा छ (सच्चा मान्छे बन अब), अथवा हावाको बेलुन नबन भन्नु पर्छ (औकात कति?) । अभिघात अनुभूति पछि छन् नेपाली समाजमा (मनन्) । अथवा समाज दिग्भ्रमित भएको पनि थाहा छ । शुद्ध नभएको पनि थाहा छ (दिग्भ्रम) । नेपाली समाज ‘लोलुपता’ ले गाँजेको हुनाले कवि कडाइका साथ ‘खवरदारी’ गरिरहेका छन् बिकृति र विसंगतिका बिरुद्ध ।
नेपाली समाज ‘सपना बुन्दै’ बाँचिरहेको शदियौं भयो, अनि विदेशीनु अन्तिम बाध्यता बनिरहेको छ । कवि मानिसका पाका उमेरहरुको पनि ख्याल गरिरहेका छन् ‘निको हुन्छ कि त!’ शिर्षकको कवितामा । अनि बहुसांस्कृतिक नेपाली समाजको ‘मान्छेको बस्ती’ बिकृत बन्दै गइरहेका छनक दिन पनि कवि पछि परेका छैनन् । अनि बिकृत राजनीतिको ताँदो चढाएका छन् कविले ‘विज्ञापन’ शिर्षकको कवितामा । अनि विसंगतवादी नाटककार सेमुएल बेकेटको नाटक ‘वेटिङ फर द गोदो’ का पात्रले भगवान आउँछ भनेर पर्खिँदा पर्खिँदा पर्खिँदा पनि नआए जस्तै कवि तिम्सिना पनि पर्खाइमा देखिन्छन् पछिल्ला कविताहरुमा, तर ती पनि आउने छाँटकाँटमा छैनन् । जस्तै ‘कहिले आउला सन्तोषको सास फेर्ने दिन’ शिर्षक कवितालाई नै हेरौं जहाँ कविले आउला भनेको त्यो ‘गोदो’ कहिल्यै आउला भन्ने लाग्दैनः
फेरि आयो लोकतन्त्र
मेरा सपुतहरु र कपुतको संगत हुँदै
विविध दलमा लागेर
मलाई संधै रोई बस्ने पारेका छन् ।
यसरी सरल र सरस भाषामा बगेका तिम्सिनाका कविताहरु दैनिक जनबोलीको भाषमा सजिएका छन् । यिनमा अलंकार र बिम्बहरु भन्दा पनि भावहरु प्रधान छन् । कविताको कुनै दर्शन र समालोचकीय कसीहरुमा राखेर यस संग्रहलाई हेर्नु भन्दा पनि समकालिन नेपाली समाजको दर्पण भनेर बुभ्mदा कविमाथि बढी न्याय होला । अनि पाठकमाथि पनि । बधाई छ दमकका इतिहास, कवि मेघराज तिम्सिनालाई । उहाँको लेखकीयता निरन्तर रहोस । अस्तु ।