स्वास्थ्य

माघको पहिलो सातादेखि तेस्रो मात्रा खोप

अग्रपंक्तिमा काम गर्ने र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई आगामी माघ पहिलो सातादेखि कोभिड–१९ विरुद्धको तेस्रो मात्रा खोप दिइने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सचिव डा रोशन पोखरेलले माघको पहिलो सातादेखि अग्रपङ्क्तिमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई खोप दिन लागिएको बताए । यस्तै माघको दोस्रो सातादेखि रोग प्रतिरोधात्मक क्षमतामा कम भएका तथा ६० वर्षमाथिका सबैलाई अतिरिक्त थप एक मात्राको खोप लगाइने उनको भनाइ छ।
उनले सम्भावित कोरोना भाइरसको तेस्रो लहरलाई दृष्टिगत गर्दै कोरोना भाइरसको थप एक मात्रा दिइने बताए । कोभिड–१९ खोप सल्लाहकार समितिको सिफारिसमा मन्त्रालयले थप एक मात्रा खोप दिइन थालेको हो ।
यस्तै, कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको ३ महिना पुगेका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको साथै मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति सक्रिय क्यान्सरका रोगी, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआइभी भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका बिरामीलाई पनि अतिरिक्त मात्रा खोप दिइने जनाएको छ । अहिले सरकारसँग एक करोड दुई लाख मात्रा खोप रहेको छ ।

Author

You may also like