समाचार

माओवादीको अधिबेशन सम्पन्न गर्न १६ सय ८ प्रतिनिधीसहित हजारौ पर्यवेक्षक काठमाण्डौं केन्द्रित

   विमल लामिछाने
  दमक / नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आज आइतबारदेखि (पुस ११–१३ गते ) काठमाडौंमा आयोजना हुँदैछ । अधिबेशन सम्पन्न गर्न १६ सय ८ प्रतिनिधीसहित हजारौ पर्यवेक्षक काठमाण्डौं केन्द्रित भइसकेको पार्टीले जनाएको छ ।
पार्टीभित्र नयाँ नेतृत्व छनोटको विषयमा ब्यापक बहस शुरु भएको छ भने यो पटक पदीय संरचनामासमेत परिवर्तन हुने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पदाधिकारीको संख्या १५ बनाउने प्रस्ताव गरेका छन् । अध्यक्ष प्रचण्डले अध्यक्षका साथै बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिव पद राख्ने प्रस्ताव गरेसँगै पदीय जिम्मेवारीमा को को रहने भन्ने विषयले पनि माओवादी वृत्तमा नयाँ तरङ्ग पैदा भएको छ ।
हालको अन्तरिम विधानमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव एकएक जना मात्र रहने व्यवस्था छ । तर तल्लो तहका कमिटीहरूमा पदाधिकारी संख्या बढाएकाले केन्द्रमा पनि थप्न विधान संशोधन समिति बनेको बनेको थियो । वडामा ५, पालिकामा ७ र प्रदेशमा ९ सदस्यीय पदाधिकारी बनाएकाले केन्द्रमा ११ कि १३ भन्ने बहस समितिले गरिरहेका बेला प्रचण्डले १५ सदस्यीय पदाधिकारी बनाउने प्रस्ताव गरेपछि सो प्रश्ताबलाई नै पास गरेर अघि बढ्ने बताइएको छ ।
प्रचण्डले वरिष्ठ सहित सात उपाध्यक्ष राख्ने प्रस्ताव गरेका छन् । ‘अध्यक्ष एक, वरिष्ठ सहित सात उपाध्यक्ष, महासचिव एक, उपमहासचिव २ र तीन सचिव रहने प्रस्ताव गरिएको पार्टी श्रोतले जनाएको छ । यसअघि माओवादीले उपाध्यक्ष पद राख्ने भनेपनि कति संख्यामा भन्ने खुलाएको थिएन । त्यस्तै वरिष्ठ उपाध्यक्षको पनि माओवादीले यसअघि कुनै व्यवस्था गरेको थिएन ।
माओवादी केन्द्रले नयाँ नेतृत्व चयनका लागि आइतबारदेखि काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्न लागेको हो । माओवादी पार्टी गठन भएयता निरन्तर नेतृत्वमा रहेका प्रचण्ड यसपालि पनि निर्विरोध अध्यक्ष चुनिने नेताहरुले बताएका छन् । माओवादी केन्द्रको अध्यक्ष फेरि पनि पुष्पकमल दाहाल ‘प्रचण्ड’ बन्नेमा दुई मत छैन किन भने कुनै पनि नेताले अध्यक्षमा दाबी पेस गर्ने संकेत देखाएका छैनन् नेता हरिवोल गजुरेलले भने । उनका अनुसार अरु पदमा भने स्थायी कमिटी सदस्यहरुले आकंक्षा देखाइरहेका छन् ।
अधिवेशनले पार्टीको कार्यदिशाको टुंगो लगाउने छ भने स्थायी कमिटीमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक दस्तावेजमाथि छलफल हुने माओवादी नेताहरुले बताएका छन् ।
कम्युनिष्ट पार्टीमा अध्यक्षपछिको शक्तिशाली पद महासचिवलाई मानिन्छ । प्रचण्ड पछिको नेता को हुने भन्नेमा भने माओवादीमा ठूलै रस्साकस्सी छ । विभिन्न नेताहरूले विभिन्न कारण देखाएर प्रचण्डको उत्तराधिकारी आफू हुनुपर्ने दाबी भित्रभित्रै गर्दै आएका भएपनि बाहिरभने अहिले नै प्रचण्डको विकल्प खोज्न नसकिने प्रतिक्रिया दिँदै आएका छन् ।
माओवादीमा शीर्ष नेतृत्व अध्यक्ष परिवर्तन नहुने हुँदा पदका आकांक्षीहरुको ध्याउन्न त्यसभन्दा तलका पदहरुमा छ । खासगरी अध्यक्षपछिको शक्तिशाली मानिने पद, महासचिवका लागि नेताहरुले दौडधुप र लबिइङ तीव्र पारेका छन् । यो दौडधुपबीच उपाध्यक्ष पदमा भने त्यति ‘आकर्षण’ देखिएको छैन। तर, महासचिव बन्न नसक्ने नेताहरुले ताकेको पद भने यही उपाध्यक्ष नै हो ।
माओवादी केन्द्रका पदाधिकारीमा उपाध्यक्ष पद वरीयतामा अध्यक्षपछिको दोस्रो भए पनि अधिकार र जिम्मेवारीका हिसावले खासै शक्तिशाली नभएकाले त्यो धेरैको पहिलो रोजाइमा छैन । अहिले माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पछि दोस्रो वरीयतामा रहेका नेता नारायणकाजी श्रेष्ठ उपाध्यक्ष हुने बलियो सम्भावना छ । उनको लागि वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरिएको हुनसक्ने आँकलन पनि केही नेताहरुले गर्दै आएका छन् ।
२०६५ सालमा तत्कालीन नेकपा माओवादी र नेकपा एकताकेन्द्र मशालबीच एकता हुँदा श्रेष्ठ उपाध्यक्ष पदकै जिम्मेवारीमा थिए । त्यतिबेला उपाध्यक्षमा श्रेष्ठसँगै बाबुराम भट्टराई र मोहन वैद्य एउटै पदमा थिए । तर, वरीयतामा प्रचण्डपछि वैद्य भए पनि श्रेष्ठ र भट्टराईबीच एउटै पार्टीमा हुँदा विवाद भइ नै रह्यो । अहिले वैद्य र भट्टराई दुवै माओवादीमा छैनन् ।
आउँदो राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा प्रचण्ड नै दोहोरिने निश्चित रहेकाले प्रचण्डपछिको वरीयतामा रहेका श्रेष्ठ नै बरिष्ठ उपाध्यक्ष बन्ने सम्भावना बढेको छ । यद्यपि, श्रेष्ठले अहिलेसम्म आफ्नो आकांक्षाबारे मुख खोलेका छैनन् । माओवादी केन्द्रमा अहिले प्रवक्ताको जिम्मेवारीमा रहेका कृष्णबहादुर महराले पछिल्लो समय सक्रियता बढाएका छन् ।
प्रवक्ताको जिम्मेवारी लिएपछि पार्टीका कार्यक्रममा देशैभर पुगिरहेका महरा बीचमा गुमेको आफ्नो प्रभाव फर्काउँदै बलियो बन्न चाहन्छन् । यसअघि कोषाध्यक्ष रहेका हरिबोल गजुरेलको पहिलो दाबी महासचिवमा हुने देखिन्छ । महासचिव बन्न नसकेमा भने उनी उपाध्यक्ष बन्नसक्ने नेताहरु बताउँछन्, तर, गजुरेलले कुन पदमा बस्ने भन्ने विषय सम्मेलनमा राख्ने विषयबाट प्रस्ट हुने बताए ।
उपाध्यक्षका अर्का आकांक्षी हुन् स्थायी समिति सदस्य मातृका यादव । तर, यादवले आफू कुन पदमा बस्ने भन्ने विषयमा निष्कर्षमा पुगिनसकेको बताए । प्रचण्डको निकट मानिएका वर्षमान पुनपनि महाँसचिवको दावेदार मानिएका छन् । उनको पहिलो चाहना पनि महासचिवमा छ । तर, महासचिव नहुँदा प्रचण्डले उनलाई उपाध्यक्षमा राख्ने उनीनिकट एक नेताले बताए ।

Author

You may also like