समाचार

निर्वाचनबाट नेतृत्व चुन्ने पहिलो प्रयास हुँदैछ: तिर्थराज बस्नेत

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले देशभरका वडाहरुमा आज मंसिर ४ गते निर्वाचन प्रणालीमार्फत् वडा समितिको नेतृत्व छनौट गर्दैछ । सो पार्टीको वडा अधिवेशन सकिए लगतै मंसिर ११ गते नगर अधिवेशन हुँदैछ । झापा दमक नगरसमिति अधिवेशन आयोजक समितिका संयोजक तिर्थराज बस्नेत (शंकर) सँग नगरको अधिवेशनको तयारीका विषयमा केन्द्रीत रहेर पूर्वसन्देश दैनिकले गरेको कुराकानी:

–नगर अधिवेशनको तयारी कस्तो छ ?
हामी नगरको अधिवेशनको तयारीमा जुटिरहेका छौं । पार्टीले वडाको निर्वाचन सम्पन्न गर्न प्रत्येक वडामा निर्वाचन समिति खटाइसकेको छ । आगामी मंसिर ११ गते हुने नगर र गाउँ निर्वाचनको तयारी गर्नपनि निर्वाचन समितिलाई जिम्मेवारी दिइसकेको छ ।

वडाहरुमा निर्वाचन हुन्छ, कि सबै सर्वसम्मत हुन्छन् ?
यो पटक पार्टीले पहिलो चोटी निर्वाचनको अभ्यास गरिरहेको छ । दमक नगरपालिकाभित्रका सबै वडाहरुमा बुधबार नै मतदाता नामावली प्रकाशन भएको छ । नगरको निर्वाचन समितिले मतदाता नामावलीमाथि दावी विरोध आव्हान र दावी विरोधमाथि छानविन गरी अन्तिम नामावली प्रकाशनसमेत गरिसकेको छ । सबै वडाम सर्वसम्मतिको प्रयास गरिरहेका छौं । सर्वसम्मत हुन नसकेका वडामा निर्वाचन मार्फत् नेतृत्व छानिन्छ ।

–एमालेको दबदबा रहेको जिल्ला, त्यसमाथि पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगरमा पार्टी संस्थागत गर्न
चुनौती छैन ?

हामी केपीले मथेको दबदबामा कमल फूलाउन खोजिरहेका छांै, कम्युनिष्ट विचारमा अडेका कार्यकर्ता हाम्रो पक्षमा छन् । दमक नगरमा मात्रै १ हजार ५ सय ८२ सक्रिय सदस्यले फारम भरेका छन् । हामीलाई चुनौती होइन, जनमाहोल माओवादी केन्द्रको पक्षमा छ, संगठन संस्थागत गर्न अब हामीलाई होइन, एमालेलाई चुनौती छ ।

–नगरको नेतृत्व पनि सर्वसम्मत हुने हो ?
हाम्रो पार्टी विचार र बन्दूकको संयोजनबाट जन्मिएको हो । यहाँ विभिन्न इच्छा, लगानी र क्रियाशिलतालाई सम्मान गरिन्छ । हामीसँग जनयुद्धका युद्धकर्मी, घाइते, (दमकमा मात्रै सहिद परिवार १९ घर) लगायत समेतका कार्यकर्ता हुनुहुन्छ, उहाँहरुको चाहना पहिले पार्टी बनाउने र दोस्रोमा मात्रै नेतृत्व विकास गर्ने रहेको मैले बुझेको छु । अहिले माओवादी केन्द्रले चुनावी प्रक्रियाबाट नेतृत्व छान्ने अभ्यास यो पहिलो पटक गरेको हो । मलाई लाग्छ सर्वसम्मत नै नेतृत्व निर्माण हुनेछ ।

–नगरका प्रतिनिधि छान्ने प्रक्रिया के हो ?
दमक नगरमा संगठित सदस्य संख्या १ हजार ५ सय ८२ रहेको छ । जसमा वडा सदस्य संख्याको प्रतिशतको आधारमा ११ जना बराबर १ जना नगर प्रतिनिधि छान्ने ब्यवस्था विधान बमोजिम हुनेछ । जसअनुसार क्रमशः वडा १ मा २३४, २ मा १८७, ३ मा ११४, ४ मा १६४, ५ मा ३१४, ६ मा ७१, ७ मा १०६, ८ मा २२८, ९ मा २२१ र १० मा ४१ जना संगठित सदस्य रहेको निर्वाचन समितिले जनाइसकेको छ । विधानत महिला ३५ प्रतिशत, दलित २५ प्रतिशत, युवा २० प्रतिशत र मुस्लिम समुदाय भए ५ प्रतिशतको परिधि रहेको उल्लेख छ । सोही अनुसार नगर अधिवेशन प्रतिनिधि छानिन्छ । नगरमा १७१ सदस्य समिति चयन हुनेछ, जसमा २०० प्रतिनिधिको उपस्थिति रहने छ ।

Author

You may also like