समाचार

स्वदेश फर्किन चाहन्छन् भुटानी शरणार्थी

दमक/ भुटानी शरणार्थीको प्रतिनिधिमुलक संस्था भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समिति (बीआरआरआरसी) ले शरणार्थी समस्या समाधानका लागि पहल गरिदिन नेपाल सरकारसंग अपिल गरेको छ । हाल झापाको दमक र मोरङको पथरी शनिश्चरेमा साढे ६ हजारको संख्यामा मात्र भुटानीहरु रहेका छन् । तेश्रो देश पुनस्र्थापनाका लागि नछानिएका शरणार्थीहरु मात्र हाल नेपालमा रहेका छन् । यसअघि अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम) ले १ लाखको हाराहारीमा भुटानी शरणार्थीहरुलाई अमेरिका, युरोप लगायतका मुलुकमा पठाइसकेको छ ।
यसबाट भुटानी शरणार्थीको अव्यवस्था र समस्या एक हिसाबले समाधान भएको मानिएको छ । तर नेपालमा हाल बाँकी रहेका शरणार्थीहरुको जीवन भने जस्ताको तस्तै रहेको छ । यसका लागि यहाँ रहेका शरणार्थीहरुले आफूहरुलाई ससम्मान स्वदेश फिर्ती गर्नका लागि पहल गरिदिन नेपाल सरकारसंग पटक पटक माग गर्दै आएका छन् । सोही क्रममा बीआरआरआरसीका तर्फबाट समितिका अध्यक्ष डाक्टर भम्पा राईले प्रधानमन्त्री शेरबहादुर देउवालाई चार दिनअघि बधाई शुभकामना सन्देश पठाउँदै भुटानी शरणार्थी समस्या समाधानका लागि पहल गरिदिन अपिल गरेका हुन् । समितिले तीन दशक बढीदेखि नेपाली भूमिमा भुटानी शरणार्थीहरू दुःखकष्ट सहँदै बसिरहेको र यतिका लामो शिविरको बसाई लम्बिँदै गएपनि दिगो समाधान अझै नहुनु दुःखद भएको उल्लेख गरेका छन् । भुटानी शरणार्थीलाई तेस्रो मुलुक पठाइएको तर घर फर्काउन भने यतिका वर्ष वितेपनि कतैबाट पहलकदमी नभएको भन्दै नेपाल सरकारको ध्यानाकर्षण गराइएको अपिलमा उल्लेख छ । अपिलमा भनिएको छ –‘ नेपाल सरकारको समन्वयमा शरणार्थी हेरचाहमा संलग्न विदेशी दातृसंस्थाले भुटानी शरणार्थीलाई तेश्रो मुलुक मात्र पुनर्वास गरियो, तर पुनर्वासमा इच्छा नराख्ने भुटानीलाई स्वदेश फिर्ती लैजाने काम हुन सकेन । ’ शिविरमा बाँकी रहेका स्वदेश फर्किने भुटानीलाई अब भुटान लैजाने वातावरण गर्न नेपाल सरकारले पहल गर्नु पर्ने समितिको अनुरोध छ ।
प्रधानमन्त्रीलाई पठाइएको सन्देशमा भनिएको छ, –‘भुटानी शरणार्थीलाई तेश्रो देश पुनर्वास गराउने मात्र जिम्मा दातृसंस्थाले लिए, तर हामी स–सम्मान घर फर्किन चाहने भुटानीलाई घर फर्काउनका लागि कतैबाट भुटान सरकारलाई दबाब दिने काम भएनन् । शिविरमा शरणार्थी संख्या घट्यो तर समस्या समाधान हुनको सट्टा झन्झन जटिल बन्दै गएको छ ।’
समितिका अध्यक्ष डा. राईले यसअघि काँग्रेस सरकारमा हुँदा भुटानसँग द्विपक्षीय वार्ता गरी भुटानी शरणार्थीलाई स्वदेश फर्काउने पहलकदमीलाई उत्कर्षमा पु¥याएको स्मरण गर्दै नेपालले भुटानी शरणार्थीको समस्या समाधान गरी एशियामा नयाँ इतिहास बनाउने अपेक्षा व्यक्त गरिएको उल्लेख छ । यसअघि समेत समितिले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पटकपटक अपिल गरिआएपनि सरकारबाट कहिल्यै सुनुवाई नभएको अपिलमा जनाइएको छ ।
तीन विकल्प
अहिले नेपालमा बाँकी रहेको भुटानी शरणार्थी समस्या समाधानका लागि तीन वटा विकल्प रहेका छन्  । विश्लेषकहरुका अनुसार ति सबैलाई तेश्रो देशनै पुनस्र्थापना गर्नुपर्ने, दोश्रोमा नेपालमा नै बसोबासको व्यवस्था मिलाउनुपर्ने र तेश्रोमा ससम्मान स्वदेश अर्थात् भुटान फर्किने वातावरण मिलाउनुपर्ने रहेका छन् । यहाँ रहेका शरणार्थीहरुले भने आफूहरु स्वदेशमा नै फर्कन चाहेको बताइरहेका छन् । त्यसका लागि नेपाल सरकारले कुटनीतिक माध्यमबाट पहल गरी वातावरण बनाइदिनुपर्ने उनीरुको भनाइ रहेको छ । तेश्रो देश पुनर्वासको व्यवस्था भएपछि नेपाल सरकार र भुटान सरकारबीच खासै वार्ता हुन पनि पाएको छैन । भुटान सरकारले पनि यस विषयमा खासै चासो र आफ्ना नागरिकलाई स्वदेश फर्काउन चाहेको संकेत मिलेको छैन ।

Author

You may also like