समाचार

असहाय बस्नेत परिवारलाई घर हस्तान्तरण

दमक/ दुई वर्ष अघि आगोले जलेर ज्यान गुमाएकी झापाको कमल गाउँपालिका ६ सोनापुरकी कुलमाया बस्नेतको परिवारलाई स्थानीय युवाहरुको सक्रियतामा निर्माण गरिएको घर हस्तान्तरण गरिएको छ ।
आगोले जलेर देवीबहादुर बस्नेतकी २२ वर्षीया छोरी कुलमायाको मृत्युभएपछि पीडित परिवारलाई स्थानीय युवाले घर बनाइदिएका हुन् । उपचारका क्रममा विरामीको मृत्यु भएपछि घरवारविहीन बस्नेत परिवारलाई स्थायी रुपमा बसोबासको व्यवस्था गर्नका लागि घर निर्माण गरी हस्तान्तरण गरिएको सामाजिक अगुवा हुकुमसिंह राईले बताए ।
घर बनाउन राईसहितका मनकारी युवाहरुको समितिले सरसहयोग जुटाएर घर निर्माण गरिदिएको हो । एक तले जस्तापाताले छाएको पक्की घर निर्माणमा रु ५ लाख ४५ हजार १०० रुपैयाँ खर्च भएको समितिका आर्थिक संयोजक हर्कबहादुर रायले बताए । रायका अनुसार बस्नेत परिवार तीन पुस्तादेखि त्यहाँका एक नेपाल परिवारको घरायसी कामदारका रुपमा बस्दैआएका थिए । खोले पकाउन आगो बालेको चुल्होमा परेपछि कुलमायाको उपचारमा समस्या भएपछि राईको नेतृत्वमा कुलमाया बचाउ अभियान गठन गरिएको थियो । उपचारका क्रममा विरामीको मृत्युभएपछि त्यहि अभियानलाई घर निर्माण समितिमा रुपान्तरण गरिएको थियो ।
घर निर्माणमा नेपाल परिवारले दश धुर जमीन दिएका थिए भने इटा, सिमेन्ट, रड लगायतका कच्चा सामग्री सहयोगबाटनै जुटाइएको थियो । त्यस्तै ,वडा कार्यालयले पनि आवश्यक जस्तापाता सहयोग गरेको थियो भने स्थानीय युवाहरुले श्रमदान गरि सहयोग पु¥याएका थिए । संयोजक राईका अनुसार कुलमाया बचाउ अभियानकै बीचमा विरामीको उपचारका लागि त्यस क्रममा रु ३ लाख ८० हजार रुपैयाँ सहयोग प्राप्त भएको थियो । सो रकम समेत केही प्रतिशत घरमा पनि खर्चिएको र बचत रकम रु २ लाख १६ हजार ४ सय ६३ रुपैयाँ कुलमायाको परिवारको जीविकोपार्जनका लागि हस्तान्तरण गरिएको छ । समितिले शुक्रबार त्यहाँ एक कार्यक्रम गरी बस्नेतसहित उनका छोरा विदुर र बुहारीलाई नवनिर्मित घरको साँचो, नगद सहयोगको चेक हस्तान्तरण गरेको हो  । घर हस्तान्तरण कार्यक्रममा समितिका सन्तोष भण्डारी, तेजु आङ्देम्बे लगायत स्थानीय छरछिमेकीहरुको समेत उपस्थिति रहेको थियो ।

Author

You may also like