दमक/ प्रदेश १ सरकारले यस पूर्वसन्देश दैनिकका सम्पादक गञ्जबहादुर दाहाललाई प्रादेशिक पत्रकारिता पुरस्कार प्रदान गर्नुका साथै सम्मान पनि गरेको छ । सम्पादक दाहाललाई नगद १ लाखको पुरस्कार र प्रमाणपत्रबाट सम्मान गरिएको हो ।
सम्पादक दाहालसंगै झापाको भद्रपुरका गोविन्दचन्द्र क्षेत्री, उदयपुरका कौशल चेम्जोङ र विराटनगरकी पत्रकार ललिता भट्टराईलाई पनि पुरस्कार प्रदान गरिएको छ । शुक्रबार आन्तरिक मामिला तथा कानून मन्त्रालयमा आयोजित सम्मान कार्यक्रममा मुख्यमन्त्री शेरधन राई र आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले चारै जना पत्रकारलाई सो पुरस्कार र सम्मान प्रदान गरेका हुन् । प्रदेश सरकारले आ. व. २०७४÷०७५ देखि प्रत्येक वर्ष दुई जनाका दरले प्रदेशका अग्रज तथा उत्कृष्ट पत्रकारलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो । कोरोनाको महमारीका कारण गत वर्ष प्रदान गर्न नसकिएको यो पुरस्कार र सम्मान यस वर्ष एकमुष्ट गरी चार जनालाई प्रदान गरिएको हो । पुरस्कार वितरण कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानुन मन्त्री कार्की , प्रादेशिक संचार प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञप्रसाद शर्मा र नेपाल पत्रकार माहासंघ प्रदेश १ का अध्यक्ष लिलाबल्लभ घिमिरेले मन्तव्य राखेका थिए ।