दमक/ कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यका र झापामा आगामी असार ७ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएपनि त्यसलाई केही खुकुलो बनाइएको छ । आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले उपत्यकामा एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन् । यता झापामा पनि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले एक आदेश जारी गर्दै आगामी असार ७ गते मध्यरातसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको जानकारी गराएका छन् ।
झापामा अत्यावश्यक कामबाहेक जिल्लावासीलाई घर बाहिर ननिस्कन भनिएको छ । तर यसपाली भने खाद्यान्न, तरकारी, फलफूल, माछामासु, दूध, डेरी, हार्डवेयर, पुस्तक पसललाई विहान ६ देखि १० बजेसम्म संचालन गर्न खुला गरिएको छ । यसअघि तरकारी, फलफुल, हार्डवेयर र पुस्तक पसल खुला गर्नमा रोक लगाइएको थियो । अन्य व्यापार व्यवसायलाई भने खुला गरिएको छैन ।
उता भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार अब खाद्यान्न, तरकारी, किराना पसल, फलपूmल र पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न दिइने छ । विकास निर्माणका काममा आवश्यक पर्ने पसललाई बेलुका चार बजेदेखि खुल्न दिने निर्णय भएको छ । पहिले खाद्यान्न, किराना, तरकारी पसल, फलफूल पसललाई बिहान ९ बजेसम्म मात्र खोल्न दिइने निर्णय भएको थियो, अब ती पसल ११ बजेसम्म खोल्न दिने निर्णय सो बैठकले गरेको छ । यसमा पुस्तक पसल पनि थपिएका छन् । होटलमा टेक अवे सेवालाई निरन्तरता दिने निर्णय भएको उनले बताए । अनलाइन डेलिभरीका लागि होटलहरूलाई बिहान सात बजेदेखि काम गर्न दिइने छ । विकास निर्माणका काममा स्वास्थ्य मापदण्ड पूरा गरेर मजदुरहरू राख्न पाइन्छ । वर्कसपहरू बिहानदेखि बेलुकीसम्मै खोल्न पाइने पनि निर्णय भएको छ ।
बैंक तथा वित्तीय संस्थाका लागि पनि केही नियम खुकुलो बनाइएको छ । पहिले जिल्लामा दुई वटा बैंकका शाखा सञ्चालन गर्न दिइएको थियो । यसमा सामान्य सहजीकरण गरिएको भट्टराईले बताए । सहकारीका लागि सातामा दुई दिन खोल्न दिने निर्णय भएको छ । काठमाडौं उपत्यकामा यसअघि जारी निषेधाज्ञा सोमबार राति १२ बजे सकिँदै छ । त्यसको पूर्वसन्ध्यामा प्रमुख जिल्ला अधिकारीहरूले नयाँ निषेधाज्ञा जारी गरेका हुन् । उपत्यकामा संक्रमणदर १० प्रतिशतमा झरेपछि मात्रै निषेधाज्ञा हटाएर क्रमशस् ‘लुजडाउन’मा जानुपर्ने सुझाव सरोकारवाला निकायको रहेको सिडिओहरूले बताएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कृषिजन्य कामका लागि मल ढुवानी र बीऊ बिजनका पसलहरू खुल्न दिने निर्णय भएको छ । कुटनीतिक निकायबाट जारी हुने भिसा, परीक्षा र अन्तर्वार्ता खुला गरिएको छ ।