दमक। युवा पण्डित कुवेर सुवेदीले निषेधाज्ञाका बेला भोकै पर्नेहरुलाई निःशुल्क भोजन गराउन थालेका छन् । उनले शुक्रबार ६० जना र शनिबार १५ जना गरी ७५ जनालाई भोजन गराइसकेका छन् । कमल गाउँपालिकाको पाडाजुँगीदेखि दमकको ताराबारीसम्म सडकमा भेटिएका र मागेर खाने विभिन्न व्यक्तिहरुलाई निःशुल्क भोजन गराउने थालिएको पं. सुवेदीले जानकारी गराए । दमक नगरपालिकाको नयाँ बसपार्कमा नगरपालिकाकै अनुमतिमा खाना खुवाउन थालिएको हो । दमककै सिटी बक्स डेलिभरि सर्भिसले निःशुल्क रुपमा खाना पकाउन सहयोग गरेको पनि उनले बताए । बसपार्कमा खाना बनाएपछि त्यहाँ आउनेलाई त्यहीँ खुवाउने र माथि तोकिएका विभिन्न ठाउँमा रहेकाहरुलाई तोकिएकै ठाउँमा प्याकिङ गरी लगेर भोजन गराउने गरिएको छ । यो अभियान अबको एक महिना दिनसम्म रहने जानकारी गराइएको छ । निःशुल्क भोजनका लागि आफूले कसैको पनि सहयोग नलिएको र व्यक्तिगत लगानीबाट एक महिनासम्मको तयारी आफूले गरिसकेको बताएका छन् ।