अन्तर्राष्ट्रिय

श्रीमती डाक्टरसँग लाग्दा श्रीमान् डिप्रेशनमा, डाक्टरलाई २० लाख डलरको क्षतिपूर्ति माग

ronald rosen

आफ्नी श्रीमती परपुरुषसँग लागेपछि एक व्यक्ति डिप्रेशनमा गएका छन् ।

ती ब्यक्तिको आनीबानी स्वभावमा परिवर्तन भएपछि श्रीमतिले उनलाई डाक्टर भेट्न सल्लाह दिइन् ।

आफ्नो स्वास्थ्य समस्या लिएर जब ती ब्यक्ति डाक्टरकहाँ गए, त्यही डाक्टर नै श्रीमतिको प्रेमी निस्केपछि उनी थप समस्यामा परेका छन् ।

घटना अमेरिकाको हो । अमेरिकाको ओरेगनका ती व्यक्तिले अहिले ती डाक्टरसँग झण्डै २० लाख डलर क्षतिपूर्ति माग्दै अदालतमा मुद्दा हालेका छन् ।

पिर्सन टोन नामका ४७ वर्षका ती व्यक्तिले डा. रोनाल्ड रोसेनविरुद्ध ‘व्यवसायिक लापरवाही’को आरोप लगाएका हुन् ।

टोनका अनुसार उनी, उनकी श्रीमती र उनका दुई छोराछोरी डा. रोसेनका बिरामीहरु थिए ।

२०१५ देखि २०१८ सम्म उनीहरुको स्वास्थ्य जाँच डा. रोसेनले नै गर्थे । यही अवधिमा डा रोसेनको टोनकी श्रमितीसँग लसपस सुरु भयो ।

श्रीमतीको यस्तो कदमका कारण टोन डिप्रेसनमा गए र नोभेम्बर २०१८ मा उपचारको लागि डा. रोसेन कहाँ नै गए ।

डा. रोसेनले टोनलाई गाँजा खान सिफारिस गरे र श्रमितीसँग ब्यवहार कसरी सुमधुर बनाउने भन्ने विषयमा काउन्सिलिङको लागि समेत बोलाए ।

डाक्टरको समय लिएर घर गइसकेपछि कुराकानीको क्रममा टोनकी श्रमितीले आफ्नो ती डाक्टरसँग केही समयदेखि लसपस भएको खुलासा गरिन् ।

टोन र उनकी श्रमितीको ब्यवहार झनै बिग्रियो र अन्ततः उनीहरुले २०१९ मा डिभोर्स गरे ।

रोसेनका कारण टोनले मानसिक र भावनात्मक तनावका साथै सामाजिक रुपमा समस्याको सामना गर्नुपरेको र उनको वैवाहिक सम्बन्ध समेत बिग्रिएको अदालतमा दायर गरिएको अभियोग पत्रमा जनाइएको छ ।

You may also like