धनकुटा । धनकुटामा शनिबार एकैदिन ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पिसिआर परीक्षणका लागि गत बिहीबार धनकुटा नपाबाट १४ जनाको स्वाव संकलन गरी विराटनगर पठाईएका मध्ये ४ जनामा पोजिटिभ देखिएको तथा १० जनाको नेगेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय धनकुटाका कार्यालय प्रमुख तुलसीप्रसाद गुरागाईले जानकारी दिएका छन् । हालसम्म धनकुटा जिल्लामा कोरोना पोजिटिभको संख्या १ सय २४ पुगेको छ ।
त्यस्तै आईसोलेसनका ६ जना र १३ जना होम आईसोलेसनका गरी १९ जनाको दोश्रो पटक नमूना परिक्षण गरिएको मध्ये १८ जनाले कोरोनालाई परास्त गरि निको भएको र बाँकी १ जनाको पुनः पोजिटिभ रिपोर्ट आएको गुरागाईले बताए ।
हालसम्म धनकुटामा २ हजार ४ सय ३३ जनाको पिसिआर विधिबाट कोरोना जाच गरिएको छ । उनिहरु मध्ये २ हजार ३ सय ९ जनाको नतिजा नेगेटिभ आएको छ । पोजेटिभ नतिजा आएकाहरु मध्ये निको हुनेहरुको संख्या १ सय जना पुगेको छ । जिल्लाका १४ जना होमआईसोलेसनमा र ५ जना संस्थागत आईसोलेसनमा रहेकाछन् ।