दमक / एक वर्ष अगाडि दमकमा स्थापना भएको राधा गोविन्द साधना केन्द्र विवादमा फसेको छ ।
९ जना संस्थापक सदस्यमध्ये ८ जना सहित ११६ जना साधकहरुले अध्यक्ष मानबहादुर बुढाथोकीविरुद्ध दमक नगरपालिकाको न्यायिक समितिमा उजुरी दर्ता गराएका छन् ।
उनीहरुको मुख्य भनाइ सयौ सहयोगी, शुभेच्छुक तथा साधकहरुको सहयोगलाई सही सदुपयोग गर्दै संस्थालाई स्थायित्व दिन अध्यक्ष बुढाथोकीले कबोल गरे बमोजिमको जग्गा संस्थाका नाममा पास गरियोस् भन्ने छ ।
यो संस्था विवाद विवादमै जन्मिएको हो । १० वर्षदेखि चल्दै आएको राधा माधव समितिमा पनि कुरो नमिल्दा ठूलो विवाद भयो ।
१ वर्षअघि नगरपालिकाको न्यायिक समितिमै गएर टुङ्गियो । समितिका केही सदस्य र साधकसहित ६० जनाले संस्था नै लिएर अलग भए ।
बाँकी रह्यो अध्यक्षको नामको जमिन र सयौ दाता र साधकहरुको रकमबाट बनेको साधन केन्द्र भवन ।
त्यही भवनमा निरन्तर कार्यक्रम दिन तथा बाँकी रहेका साधकहरुलाई निरास नगराउन मानबहादुर बुढाथोकीकै अध्यक्षता राधा गोविन्द संस्था दर्ता भएर एक वर्षमा केही राम्रा कार्यक्रम पनि गरिसकेको छ ।
तर जुन समयमा संस्थामा संकट आयो, त्यसबेला दिएका वचन र प्रतिबद्धतालाई उल्लंघन गरेकाले अहिलेको अवस्था सृजना भएको बताइन्छ ।
न्यायिक समितिमा दिएको निवेदनमा भनिएको छ -‘हिजो यो संंस्था स्थापना गरेकै बेलादेखि उहाँले जग्गा दिने नदिनेमा शंका उपशंका भइरहेको हो ।
तर उहाँले हामीलाई दिनुभएको वचन, उहाँको अवस्था, न्यायिक समितिमा पेश गर्नु भएको प्रतिबद्धता आदिलाई मूल्यांकन गरी तन, मन, धन दिई सहयोग गर्यौ ।
जिल्ला प्रशासन कार्यालयमा पुगेर संस्था दर्ता प्रकृया अघि बढिरहँदा पनि हामीले फेरि विश्वासको संकट आउँछ आउँदैन भनेर प्रश्न गर्यौ, यदि आउँछ भने हामी सही गर्दैनौ भन्दा उहाँले प्रष्ट रुपमा मलाई शंका नगर्नुहोस्, मेरो विचारमा म डगमगाउने मान्छे होइन, भन्ने कुराले हामी संस्था दर्ता गर्न राजी भएका हौं ।’
‘अहिले नियमित लेबी, मासिक शुल्क बुझाउँन जाँदा बुझिँदैन, तिमीहरुको अधिकार केही छैन जस्ता कुरा गर्ने, सयौ जनाको लाखौको लगानीलाई आफ्नो निजी जस्तो बनाई विधान विपरीत कार्य गरेका आदि धेरै आरोप लगाउँदै वचन बमोजिम संस्थालाई जग्गा दर्ता नगर्ने हो भने उनलाई अध्यक्ष मानेर बस्न नसक्ने हुँदा साधना केन्द्रमा सबै साधक सदस्यहरुको लगानी भएकाले समान हक र अधिकारलाई कायम गर्दै विधिसम्मत संस्था सञ्चालन गर्ने वातावरण निर्माण होस्’ भन्ने निवेदनमा उल्लेख छ ।