हजुरको हातले लगाईदिएको तोरीको तेलले मजबुत बनेको मेरो शिरले हजुरका चरण स्पर्श गर्न नपाए पनी उहि इज्जत र सम्मानका साथ ढोग छ।
विश्वव्यापी रूपमा फैलीएको यस महामारीमा हजुरहरू सम्पुर्ण सुरक्षित र स्वस्थ रहनुहोस भनी श्री पशुपति नाथ संग प्राथना गर्दछु।
नेपालमा दिन दिनै कोरोनाका संक्रमित बढिरहेको अवस्था छ आफ्नो र परिवारको ख्याल गर्नुहोला।
युएईमा त लगभग कोरोनाको भय हटिसकेको छ। कोरोना विरुद्ध लड्ने देशहरू मध्य युएई विश्वमा तिन नम्बर भएको छ।
यहाँ धेरै व्यवस्थित तरिका अपनाएर कोरोना विरुद्ध सबै एक जुट भएर लडीरहेका छन। यहाँका जनताले पनी उत्तिकै साथ सहयोग गरिरहेका छन।
महिनौ देखी बन्द भएका शपिंग मलहरू, होटेलहरू र पार्कहरू सुचारु हुन थालिसकेका छन।
यहाको अवस्था सामान्य बन्दै छ।चिन्ता नलीनु होला।

कोरोनाका कारण विभिन्न शक्तिशाली देशहरू आर्थिक र सामाजिक रूपमा थला परिसकेका छन।
तर यसको असर यहा रहेका नेपालीहरूमा पनी परेको छ।
धेरैले रोजगार गुमाएका छन। कोही बेतलवी विदामा बसेका छन।कोही संक्रमित भएर बसेका छन, केहिको मृत्यु सम्म भएको छ।
चारचोटी गरेर एकतिस दिन क्वारेन्टिनमा बसे पनी यो भाईरसले छुन सकेन हजुरको आशीर्वाद र प्राथनाको अगाडि यो निर्दयी भाइरसले हार्यो।
दुखको कुरा त के भने नी मामु, कोरोनाको कारणले मृत्यु भएकाहरूको अन्त्येष्टि यही गर्नुपर्ने।
मृतकको लास सम्म परिवारले देख्न नपाउने कस्तो रोग होला है यो आफनै परिवारका सदस्य संक्रमित हुदासम्म छुन नपाईने, साथ वस्न नपाईने।
खैर, सबै ठीक होला।
हजुरले राजकुमार झै हुर्काएको छोरा आफ्नो भाग्य खोजदै भविष्य बनाउन प्रदेशिएको यतिका वर्ष बितीसक्दा पनि ।
न त भाग्यले नै साथ दियो न त आफ्नो भविष्य नै बनाउन सके।
आफ्नो भविष्य बनाउन नसक्दा नसक्दै अरुको दुःखको सारथी बन्छु भनी समाजसेवामा होमीएको म ।
विश्व व्यापीरूपमा फैलिएको कोरोना भाईरसका कारण यो खाडिमा अलपत्र परेका नेपाली दाजुभाइ र दिदीबहिनीहरूलाई केहि हदसम्म सहयोग गर्न पाउदा र साथ दिन पाउदा खुसी छु।
केहि महिना देखी रोजगार गुमाएर बसेका, बेतलवी बिदामा बसेका, भिजीटमा आएर अलपत्र परेका दाजुभाइ दिदीबहिनीहरूको साहारा बन्न पाउदा ।
उहाँहरूको दुखमा, “हामी छौ नि पिर नगर्नुस” भन्दा उहाँहरूको अनुहारमा देखिने खुसी, हामीप्रति उहाँहरूको भरोसा देख्दा ।
करोडौको आलीशान महलभित्र चिसो एसीको हावा खाँदै आरामदायी किंग साइज बेडमा ढल्केको अनुभुती गराउछ।
हजुरले भन्नु हुन्थियो नी “गाँस छोडनु तर साथ नछोडनु” हो त्यही कुरालाई आत्मासाथ गरी हमेशा अगाडि बडे ।
पुर्व मेचिदेखी पश्चिम महाकाली सम्मका साथीहरू बनाए।
आफ्नो तर्फबाट सक्दो मित्रता नि निभाएकै हो तर पनी यो उराठ लाग्दो मरुभुमीमा बसेर हो कि ।
प्रायको मुखमा राम राम बगलीमा छुरा गर्ने आद्धतले थकित भई सके।
मैले काधमा चढाएर माथी पुर्याएका मान्छेहरूले माथी पुगीसके पछी मलाई नै लात्ति हान्दा पनी सहेकै हु।
ज़िन्दगीमा मलाई कती पिडा छ, कती समस्याहरूसंग झुधि रहेको छु भन्ने कुरा हजुर बाहेक कस्ले बुझेको होला र?
हजुरले भन्नु हुन्थियो नी, “मनमा जती पिडा भए पनी सबैको सामु हास्न नछोड़नु, मान्छेहरूले तिम्रो बाहिरी आवरण हेरेर जज गर्छन”,
त्यही कुरालाई आफ्नो ज़िन्दगीमा लागु गरी सबैलाई कन्फ्युज गरी अघि बडीरहेको छु।
यो सब सुनाउदा केहि हदसम्म खुसी मिल्यो होला है मामु ।
तर दुखको कुरा केछ भने नी मामु हाम्रो नेपाल सरकार र राजदुतावाँसले दुखी र पिडित नेपालीहरूको पिडा र तडप देखेन।
भोक र बिरामीले थलिएका नेपालीहरूको उद्धार गर्न ढिलाई गर्यो।
ढिलै भएपनि उद्धार गर्ने सरकारको निर्णयले हर्षित नेपालीहरू स्तब्ध भए जब सरकारले भाडा दर पाँच सय डल्लर तोक्यो।
हजारौ मेसेजहरू र फोन कलहरू आउन थाले अनी दुख पोख्न थाले ।
हजुरहरूले दिएको रासन खाएर बसेका हामीले कसरी ५०० डल्लर तिरेर जानु?
कोठाबाट निकालीदा हजुरहरूले नै कोठा मिलाईदिनु भएको थियो सर हामी कसरी ५०० डल्लर तिरेर जानु यस्तैयस्तै बिभिन्न प्रश्नहरू आउन थाले ।
हामी संग उत्तर नै थिएन किनकी हामीले प्रत्यक्ष भेटेका थीयौ पिडितहरूलाई, दुख देखेका थियौ र पिडा महसुस गरेका थियौ।
५० डिग्रीको गर्मीमा काम गरेर पठाएको रेमीटयांसले धानेको देश चलाउने नेताहरू जो आलीशान महलमा बस्छन ।
चिल्ला आलीशान कारमा चिसो एसिको हावा खाएर खोक्रा भाषण गर्ने ति भ्रष्टहरूलाई के थाहा ।
आफ्नो देश फर्किने आशमा मरूभुमीमा तडपीएका नेपालीहरूको पिडा, पिडितहरूको क्रन्दन।
वैदेशिक रोजगार विभागमा दर्ता गरि श्रमशुल्क तिरेर आएका नेपालीहरू महिनौदेखी बेरोजगार भएर भोकसंग लडदै उद्धारको आशमा बसेका नेपालीहरुप्रति गैर जिम्मेवार बन्नु सरकार र सरोकारवाला हरूको नामर्दीपन होईन त मामु?
एनआरएनए र विभिन्न संघ संस्थाहरूको दवाबमा ३०% भाडा कम गरी नेपाल फर्काउने तयारी भयो। प्राथमिकताका आधारमा नेपाल फर्काउने तय भए अनुसार गर्भवती महिलाहरू, बिरामीहरू र आफन्त गुमाएकाहरू पहिलो चरणमा जान तयार गरियो सबैले हवाई टिकट लिए एयरपोर्ट जानलाई गाडी रिजर्भ गरे।
घर फर्किन पाईने खुसीले मख्ख भएका नेपालीहरू केहि क्षण बित्न नपाउदै उडान रद्द भएको सुचना जारी गर्यो राजदुतावाँसले त्यही सुचनाले चकनाचुर पार्यो घर फर्कने सपना फेरी फोन कल र मेसेजहरूको बर्षात हुन थाल्यो ।
राजदुतावाँसले देखाएको गैरजिम्मेवारिपनले फेरी दुख पाए पिडितहरूले, फोनसम्म उठाउन नसक्ने राजदुताबासका कर्मचारीहरू देखी रुष्ट नेपाली दाजुभाईदिदीबहिनीहरूलाई समझाई बुझाई छीट्टै उड़ान खोल्ने आश्वासन दिएर राख्यो।
फेरी उड़ान सुरू हुनेवाला छ आशा गरौ अब चाहि पक्कै घर फर्कने छन।
सत्र हजार भन्दा ज्यादा नेपालीहरू फर्काउने तयारी भई रहेको छ ।
जस्मा गर्भवती महिलाहरू, बिरामीहरू, नेपालमा आफन्त गुमाएकाहरू, विद्यार्थी,भिजिटमा आएर अलपत्र भएकाहरू, कम्पनी बन्द भएर रोजगार गुमाएकाहरू, बेतलवी बिदामा बसेकाहरू आदि।
यत्रो सत्र हजार ज्यादा नेपाल फर्किन लाग्दा पनी हजुरको छोरा फर्किन सकेन, दुख नमान्नु होला।
म चाँडै आउनेछु, सधै हजुरहरू संगै बस्न, बर्षौ देखी मिस गरिरहेको हजुरको हातले पकाएको माम खानलाई।