समाचार

दमक चियाबगानका ४०० परिवारले राहत नपाएकाे गुनासाे (पूर्वसन्देश दैनिक)

दमक २५ । दमक चिया बगानमा मजदुरी गरी जीविकोपार्जन गर्ने मजदुरहरुले राहत नपाएको बताइएको छ ।

सरकारले गरेको लकडाउनका कारण चिया मजदुरहरुले मजदुरी गर्न नपाएको र करिब ४०० घरपरिवारले हाल दमक नगरपालिकाद्वारा वितरण हुँदै आएको राहत नपाएको नेपाली कांग्रेस नगर सभापति रोशन बिष्टले जानकारी गराएका छन् ।

बिष्टले भने– ‘दमकको चिया बगानमा काम गर्ने मजदुरहरुले राहत नपाएको गुनासो हामीसँग गरेका छन् ।’

आफ्ना कार्यकर्तालाई मात्र राहत वितरण गरिएको भन्दै दमक नगरपालिकाको चर्को आलोचना गर्दै आएको नेपाली कांग्रेस दमक नगर समितिले मंगलबार एउटा विज्ञप्ति जारी गरी उद्योग, व्यवसाय, चिया बगान मजदुर, अन्य साना ठूला सबै प्रकारका व्यवसाय र उद्योगका मजदुर तथा नगरमा बसोबास गर्ने सबै बिपन्न परिवारलाई यथोचित र समान रुपले राहत बाड्न नगरपालिकालाई आग्रह गरेको छ ।

यस अघि दमक नगरपालिकाले जारी गरेको प्रेस विज्ञप्तिमा लकडाउनको अवधिमा पनि चिया बगानबाट पारिश्रमिक नरोक्न बगानलाई आग्रह गरेको थियो ।

Author

You may also like