अन्तर्राष्ट्रिय समाचार

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई सघन उपचारकक्षमा सारियो

एजेन्सी । कोरोना भाइरसको सङ्क्रमणका कारण विगत १० दिनदेखि आफ्नै घरमा सेल्फ आइसोलेसनमा बसिरहेका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन आइतबार स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका थिए । स्वास्थ्य स्थिति कमजोर हुँदै गएपछि सोमबार नै उनलाई लन्डनको सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको थियो ।

नियमित जाँचका क्रममा स्वास्थस्थिति थप गम्भीर भएपछि उनलाई सोही अस्पतालको सघन उपचार कक्षमा सारिएको छ । प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङका अनुसार प्रधानमन्त्री जोन्सन यही आइतबार साँझदेखि अस्पताल भर्ना भएका थिए । बिस्तारै स्वास्थ्य अवस्था बिग्रँदै गएपछि निकै गम्भीर स्थिति हुँदा उपचारमा संलग्न चिकित्सकको टोलीको सल्लाह र निगरानीमा थिए । सोमबार दिउँसोदेखि उनलाई सघन उपचारकक्षमा सारिएको बताइएको छ ।

उनले आफ्ना विदेशमन्त्री डोमिनिक राबलाई आवश्यक ठाउँमा भूमिका निभाइदिन अनुरोध पनि गरेका छन् । तर, यसको अर्थ उनले कार्यवाहकका रूपमा जिम्मेवारी दिएको भने होइन । अवस्था अझै गम्भीर बनेमा भेन्टिलेटरमा राख्ने तयारी पनि गरिरहेको उपचारमा खटिएको टोलीले जनाएको छ ।

Author

You may also like