विराटनगर । प्रदेश १ मा कोरोनाको आशंकामा आइसोलेशनमा बसेका ११ जना डिस्चार्ज भएका छन् । सोमबारसम्म डिस्चार्ज हुनेमध्ये पाँच महिला र ६ पुरुष छन् । सरकारले विभिन्न अस्पतालमा आइसोलेशन वार्ड नै तयार गरेर उपचार प्रबन्ध गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार आइसोलेसनमा आजसम्म १५ जनालाई राखिएको छ । सरकारले यस प्रदेशमा ४ सय ३८ आइसोलेशन र चार हजार ३७ क्वारेन्टाइन शश्या तयार गरेको छ । यसैगरी, संक्रमित उपचार गर्न ४४ आईसीयू शश्या तयारी अवस्थामा छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको कोरोना सूचना डेस्कका अनुसार प्रदेश १ मा अहिलेसम्म कसैलाई पनि आईसीयूमा राखेर उपचार गर्नुपरेको छैन । सूचना डेस्कले दिएको जानकारीअनुसार आजसम्म क्वारेन्टाइनमा ४४ महिला र ५ सय ६६ पुरुषसहित जम्मा ६ सय १० लाई राखिएको छ । यता, होम क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ५ सय ३८ महिलासहित दुई हजार ८ सय ४७ रहेको छ ।
प्रदेशमा हालसम्म ८५ जनाको ‘थ्रोट स्वाब’ संकलन गरी परीक्षण गरिएको छ । तीमध्ये ६९ जनालाई कोरोना नभएको पुष्टि भएको छ । बाँकीको रिपोर्ट आउन बाँकी छ । स्वाब परीक्षण गरिएकामा १८ महिला र ५१ पुरुषको रिपोर्ट आएको हो । परीक्षणका लागि १९ महिला र ६६ पुरुषको स्वाब नमूना धरान पठाइएको छ । प्रदेशमा बिपी कोइराला स्वास्थ्य विज्ञापन प्रतिष्ठान धरानबाट कोरोना संक्रमणको परीक्षण भइरहेको छ ।
कोरोना उपचार कोष
प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा हालसम्म कुल ११ करोड ६५ लाख ११ हजार ८ सय ३१ जम्मा भएको मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए । उनले सोमबार थप पाँच लाख ९ सय २७ कोषमा जम्मा भएको बताए ।