एजेन्सी/ विश्व स्वास्थ्य सङ्गठनले आइतबार बिहान दिएको तथ्याङ्कअनुसार कोभिड–१९ विश्वका १०१ मुलुकमा फैलिइसकेको छ । विश्वभर एक लाख पाँच हजार ८३६ पुगेको छ भने यसका कारण तीन हजार ५ सय ९५ व्यक्तिको मृत्यु भएको छ ।
ग्रिनविच समयअनुसार शनिबार साँझ ५ बजेपछि करिब २४ घण्टामा विश्वभर थप सङ्क्रमितको सङ्ख्या एक हजारभन्दा बढी रहेको र ३९ जनाको मृत्यु भएको बताइएको छ ।
सङ्क्रमणका कारण शनिबारसम्म एसियामा तीन हजार १६२ जनाको मृत्यु भएको छ । त्यस्तै युरोपमा २ सय ६३ जनाको मृत्यु भएको छ । मध्यपूर्वमा १ सय ४९ को मृत्यु भएको छ । अमेरिका र क्यानडामा गरी १६ जनाको मृत्यु भएको छ ।
सबैभन्दा पहिले कोभिड–१९ को सङ्क्रमण भएको भनिएको मुख्यभूमि चीनमा डिसेम्बरदेखि शनिबारसम्ममा ८० हजार ६ सय ९५ व्यक्तिमा सङ्क्रमणको पुष्टि भएको छ भने यसबाट सो अवधिमा यहाँ तीन हजार ९७ जनाको मृत्यु भएको छ । चीनमा करिब २० दिन पहिले सङ्क्रमणका कारण एकै दिनमा दुई सयभन्दा बढीको मृत्यु हुने गरेको थियो ।
कोरोनाभाइरसका कारण चीनपछि सबैभन्दा बढी प्रभावित पाँच मुलुकहरुमा क्रमशः दक्षिण कोरिया, इटली, इरान, फ्रान्स र जर्मनी रहेका छन् । दक्षिण कोरियामा ५० जनाको मृत्यु भएको छ भने इटलीमा २३३ को मृत्यु भएको छ । त्यस्तै, इरानमा १ सय ४५ जनाको मृत्यु भएको छ ।
दक्षिण कोरियामा मृत्यु सङ्ख्या नियन्त्रणमा
दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमण विगत २४ घण्टामा थप २ सय ७२ व्यक्तिमा पुष्टि भएको दक्षिण कोरियाली अधिकारीहरुले जनाएका छन् । यससँगै दक्षिण कोरियामा यस भाइरसबाट सङ्क्रमितको सङ्ख््या सात हजार ३ सय १३ पुगेको छ । विगत एक सातालाई मूल्याङ्कन गर्दा कोरियामा नयाँ सङ्क्रमणदरमा निकै कमी देखिएको उल्लेख छ । यहाँ गत साताको मध्यतिर सङ्क्रमण दर दैनिक ५०० भन्दा बढी रहेको थियो ।
इटलीमा डेढ करोड मानिस क्वारेन्टाइनमा
कोरोना भाइरस सङ्क्रमण फैलिएको इटलीको लोम्बार्डीसहित अन्य क्षेत्रमा झन्डै एक करोड ६० लाख मानिसलाई क्वारेन्टाइनमा राखिएको इटलीका प्रधानमन्त्रीले बताएका छन् । उनीहरुलाई अप्रिलको सुरmसम्म अलग्गै निगरानीमा राखिने बताइएको छ ।
नयाँ कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्ने प्रयासअन्तर्गत व्यायामशाला, पौडीपोखरी, सङ्ग्रहालय र स्की रिसोर्ट पनि बन्द गरिने भएको छ । युरोपेली मुलुकमध्ये इटलीमा कोरोनाभाइरस सङ्क्रमण सबैभन्दा व्यापक रुपमा फैलिरहेको छ । शनिबार त्यहाँ सङ्क्रमित मानिसको सङ्ख्यामा व्यापक वृद्धि भएको थियो ।
इटलीमा लागू गरिएका नयाँ उपायहरु देशको वित्तीय केन्द्र मानिने मिलानसहित भेनिसका अन्य पर्यटकीय स्थलमा आगामी एप्रिल ३ सम्म लागु हुनेछन् ।
एक करोड मानिस बसोबास गर्ने भनिएको उत्तरी भेगमा पर्ने लोम्बार्डी र वित्तीय क्षेत्र मिलान अत्यावश्यक बाहेकका अवस्थामा बन्द रहनेछन् । भेनिससहित १४ प्रान्तमा पनि त्यस्तै प्रावधान कायम रहनेछ । त्यसबाट कुल एक करोड ६० लाख मानिस प्रभावित हुनेछन् । यसअघि उत्तरी भेगमा क्वारेन्टाइनका कारण झन्डै ५० हजार मानिस प्रभावित भएका थिए ।
इटलीको राष्ट्रिय स्वास्थ्य निकायले मृत्यु हुने मानिसको औसत उमेर ८१ वर्ष रहेको र उनीहरुमध्ये धेरैमा पहिल्यै स्वास्थ्यसम्बन्धी अन्य समस्या पनि रहेको जनाएको छ । मृत्यु हुनेमध्ये ७२ प्रतिशत पुरmष छन् । सरकारी तथ्याङ्कअनुसार कोरोनाभाइरस देखिएका ४.२५ प्रतिशतको मृत्यु भएको पुष्टि भएको छ जुन विश्वमा उच्च मृत्युदर हो ।
क्वारेन्टाइन भवन भत्किँदा ६ को मृत्यु
पूर्वी चीनको फुजियान प्रान्तमा कोराना भाइरसका सङ्क्रमितहरुका लागि क्वारेन्टाइनका रुपमा प्रयोग
गरिएको होटल भत्किँदा ६ जनाको मृत्यु भएको छ। चिनियाँ सञ्चारमाध्यमका अनुसार भवनको स्वरुप परिवर्तन गरिरहेकै अवस्थामा उक्त होटल भत्किएको हो ।
चिनियाँ समयअनुसार आइतबार बिहान ७ बजेतिर उक्त भवन भत्किँदा करिब ७० जना त्यहाँ फसेको र तीमध्ये ४८ जनाको उद्धार भएको बताइएको छ ।