समाचार

दमककाे बसपार्क भन्दा बाहिर टिकट काट्न नपाइने

दमक/ दमक–६ स्थित दमक बसपार्कको व्यवस्थापनको सम्पूर्ण कार्य सम्पन्न भएको छ । यातायात तथा ट्राफिक व्यवस्थापन र सहरी सुदृढीकरण समितिका संयोजक प्रजापति सापकोटाले व्यवस्थापनअन्तर्गत टिकट काउन्टर, प्रशासन, यात्रु प्रतीक्षालय निर्माण कार्य पूरा भएको जानकारी गराए ।
बसपार्कको औपचारिक उद्घाटन भने यही फागुन १५ गते बिहान ११ बजे गरिने भएको छ । उद्घाटन प्रदेश नम्वर १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले गर्ने पनि संयोजक सापकोटाले जानकारी गराएका छन् । यससँगै लामो तथा छोटो दूरीका सबै सार्वजनिक यातायात सेवाका लागि यात्रुहरुले सो बसपार्कबाट मात्र टिकट लिन पाउनेछन् ।
दमकबाट राजधानी काठमाडौँ जाने ठूला बस तथा हायस गाडीलगायत सबै यातायात सेवका लागि सो बसपार्कमा मात्र टिकट पाइने बताइएको छ । बसपार्कमा यात्रुहरुलाई गाडी छुट्ने समयका बारेमा माइकबाट जानकारी गराइने र सो बसपार्कबाट टिकट लिँदा कोही पनि नठगिने संयोजक सापकोटाले बताए । बसपार्कमा दमक भित्रिने र बाहिरिने सबै सार्वजनिक यातायातका साधनका चालकहरुले अनिवार्य रुपमा सवारीचालक अनुमतिको प्रमाणपत्र बोकेको हुनुपर्ने सो समितिले जनाएको छ ।
त्यसै गरी समितिका अनुसार सडक विभागको नियमअन्र्तग सडकको केन्द्र बिन्दुदेखि दुबैतर्फ ८२ फिट खाली गरिएको छ । झापाको सीमा सुरु हुने दमकको पश्चिम सीमा मावापुलदेखि सगरमाथा पेट्रालपम्पसम्म रहेका कुनै पनि वस्तु तथा टहरा खाली गरिएको संयोजक सापकोटाले जानकारी दिए । सो पेट्रोलपम्पदेखि रतुवा पुलसम्म यही फागुन १० गते शनिबारदेखि खाली गरिने बताइएको छ । समितिका अनुसार सडकको दायाँबायाँ ८२ फिटभित्र कुनै पनि होर्डिङबोर्ड, ठेला वा विक्रीका सामग्री राख्न पाइने छैन ।

Author

You may also like