भद्रपुर, पूर्वोत्तर झापामा विद्युतीय तारवार निर्माण पछि जंगली हात्तीको हैरानी रोकिएसँगै दक्षिणपूर्वी झापामा पनि यहि उपाय अपनाईएको छ । चारकोसे जङ्गलका ११ वटा हात्तीबाट यस क्षेत्रका स्थानीयवासी केही वर्षअघिदेखि पीडित हुँदै आएका थिए । प्रकृति संरक्षण कोष र सरकारको सहकार्यमा ४ करोड ७४ लाखको लागतमा सौर्य तारबार बनाईएको हो ।
दक्षिणी झापाको चारकोसे जङ्गलका रैथाने हात्ती नियन्त्रण गर्न ३७ किलोमिटर क्षेत्रभित्र सौर्य विद्युतीय तारबार जडान गरिएको छ । सौर्य विद्युतीय तारबार जडान गरेपछि कचनकवल, हल्दिवारी, बाह्रदशी र भद्रपुरको दक्षिणी वडाका स्थानीयले हात्तीको समस्याबाट मुक्त भएका छन् । सौर्य तारबार ललितपुरको न्यू क्रिएशन इम्पेक्स प्रालिले भारतको फेन्ज गार्ड नामक कम्पनीसँग सहकार्य गरेर लगाइएको जिल्ला डिभिजनल वन अधिकृत विष्णुलाल घिमिरेले बताए । ६ हजार ३०० हेक्टर क्षेत्रफलमा फैलिएको चारकोसे वनभित्र २२ सामुदायिक वन रहेका छन् । जहाँ लोपोन्मुख वन्यजन्तुको सूचीमा रहेका सालकसहित जङ्गली हात्तीको समेत भरपर्दो बासस्थान रहेको यहाँ दुर्लभ पशुपक्षी, मृग, हरिण, बँदेल, अजिङ्गर, बाँदर खुलारूपमा देख्न सकिन्छ ।
चारकोसे जङ्गलमा विद्युतीय तारबार गरेसँगै झापा क्षेत्र नं ३ का सांसद लिङ्देनसहित प्रकृति संरक्षण कोषका कार्यक्रम अधिकृत वीरेन्द्र गौतम, डिभिजनल वन अधिकृत घिमिरे, भारतको चेन्नाइस्थित फेन्ज गार्ड नामक कम्पनीका विशेषज्ञ जर्ज, स्थानीय जनप्रतिनिधि, सामुदायिक वनका पदाधिकारी सम्मिलित टोलीले सौर्य तारबारको हालै स्थलगत अनुगमन गरेका छन् । अनुगमनका क्रममा भुतेनी र अन्धुवा खोलामा थप विद्युतीय तारबार आवश्यक रहेको स्थानीयले माग गरे । खोलामा विद्युतीय तारबार नगरेका कारण खोलालाई क्षेत्र बनाएर जङ्गली हात्ती गाउँ पस्ने गरेको र भद्रपुर क्षेत्रमा बढी दुःख दिन थालेको स्थानीयको गुनासो छ ।
आर्थिक वर्ष २०७६, ७७ मा विशाल सामुदायिक वनबाट कमलधाप, मायालु वन हुँदै भेलागढीसम्म विद्युतीय तारबार गर्ने कार्यक्रम रहेको वन अधिकृत घिमिरेले जानकारी दिए । १५ किलोमिटर क्षेत्रफलभित्र सर्भेको काम भइरहेको छ । चालु आर्थिक वर्षभित्र २ करोडको लागतमा काम हुने भएको छ । करीब २० किलोमिटर क्षेत्रफलभित्र सौर्य तारबार गर्न सके जङ्गली हात्ती जङ्गलमै थुनिने स्थानीय बताउँछन् ।