समाचार

झापाका ज्येष्ठहरूद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

भद्रपुर, भारतले आफ्नो नयाँ नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरालाई राखेकोमा सो कार्यको भद्रपुरका ज्येष्ठ नागरिकहरूले विरोध जनाएका छन् । भारतद्वारा अतिक्रमित भूमि तत्काल फिर्ता गराउन माग गर्दै आइतबार ज्येष्ठ नागरिक सङ्घ नगर समिति भद्रपुरले जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानासमक्ष ज्ञापन पत्र बुझाएको छ ।
सङ्घका अध्यक्ष हेमप्रसाद खनाल, उपाध्यक्ष धनप्रसाद सिवाकोटी, सचिव शङ्करकुमार गौतम लगायतका पदाधिकारीहरू सहितको टोलीले प्रमुख जिल्ला अधिकारी राना मार्फत् प्रधानमन्त्रीको सचिवालयलाई सो ज्ञापन पत्र पठाइएको हो । ज्ञापन पत्रमा तत्कालीन राजा महेन्द्रकै पालामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भएकै कारण त्यस बेलामा सीमा सुरक्षाका लागि सैन्य दस्ता राखिएको र सो जमिन नेपालकै रहेको भन्नेमा ज्येष्ठ नागरिक सङ्घ नगर समितिको विशेष ध्यानाकर्षण भएको उल्लेख छ । भारतले सो स्थान बाहेकका विभिन्न २३ जिल्लाका ७१ वटा स्थानहरूमा ६० हजार ६ सय २७ हेक्टर जमिन अतिक्रमण गरेकाले तत्काल अतिक्रमित नेपाली भूमि समेत नेपाल सरकारले फिर्ता गराउनु पर्ने ज्ञापन पत्रमा समेटिएको छ । सन् १९५० को सन्धिलाई आधिकारिक रुपबाट प्रस्तुत गर्दै सीमा विवादको समस्यालाई कूटनीतिक तरिकाले तत्काल समस्याको समाधान गरिनुपर्ने ज्ञापन पत्रमा उल्लेख छ ।

Author

You may also like