समाचार

तीन ठाउँकाे कुनिउमा आगलागी, डेढ सय मन धान जल्याे

दमक/ झापाको दमकका विभिन्न ठाउँमा शृङ्खलाबद्ध रुपमा आगोलागी भएको छ । तर यो आगोलागी घर र गोठमा नभई मध्यरात धानको कुनिउँ र परालको माचमा लागेको हो । आगो कसरी लाग्यो भन्ने कुरा अझैसम्म खुल्नसकेको छैन । जसका कारण घटना रहस्यमय भएको छ । दमक–४ का विभिन्न ठाउँमा शनिबार राति लागेको आगोबाट स्थानीय किसानहरू आतङ्कित मात्र भएका छैनन् उनीहरूले वर्षभरि मेहनत गरेर खेतमा उत्पादन गरेको झन्डै डेढ सय मन धानसमेत जलेर नष्ट भएको छ ।
दमक–४ को धिमाल गाउँका यदु धिमालको खेतमा रहेको परालको कुनिउँबाट सुरुमा राति ११ बजेतिर आगो लागेको थियो । त्यसपछि दमक ४ मिस्ट कलेज नजिक स्थानीय होमनाथ मिश्रले कमाएको पुण्यप्रसाद दाहालको खेतमा रहेको धानको कुनिउँमा आगो लाग्यो । यदु धिमालको १० हजार बराबरको पराल जलेर नष्ट भएको छ । पुण्यप्रसाद दाहालको खेतमा रहेको धानको कुनिउँ जल्दा ८० मन बराबरको धान जलेर नष्ट भएको छ । दाहालको खेतमा रहेको कुनिउँमा भने राति १ बजे आगो लागेको थियो । त्यस खेतमा अघिल्लो वर्ष सय मन धान फलेको उनको भनाइ छ ।
त्यसैगरी सोही ठाउँमा सरिता दाहालको खेतमा रहेको माचमा पनि आगो लागेको छ । उनको करिब ५० मन बराबरको धान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै सोही ठाउँका रामचन्द्र गौतमको खेतमा रहेको परालको कुनिउँमा पनि आगो लागेको छ । कसरी आगो लाग्यो र कसले लागायो भन्ने बारेमा भने अझै यकिन हुन नसकेको प्रहरीको भनाइ छ । घटनामा संलग्नताको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख तथा प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । तर आगो लगाएकोबारे अझै यकिन भइनसकेको उनको भनाइ छ ।
सो आगोलागी नियन्त्रणमा लिन शनिबार राति दमकमा उपलब्ध दमकलहरू घटनास्थल पुगेका थिए । आगो प्रहरी, दमकल र स्थानीयको सहयोगमा आइतबार बिहानका राति सवा तीन बजे नियन्त्रणमा लिइएको थियो । सो स्थानमा भएको यस्तो आगोलागी यो पहिलो भने होइन । यसअघि यही मङ्सिर १ गते स्थानीय नारायणचन्द्र दाहालको खेतमा रहेको धानको कुनिउँमा पनि आगलागी भएको थियो । त्यस्तै त्यसको ३÷४ दिन अगाडि स्थानीय मानबहादुर धिमाल र घिसिङ दाइ भनिने स्थानीयको खेतमा रहको कुनिउँमा पनि आगो लागेको थियो । ‘अहिले आएर सोही ठाउँमा पुनः परालकै माच र कुनिउँमा आगोलागी हुँदा हामी आश्चार्यमा परेका छौ,’ स्थानीय पुण्यप्रसाद दाहालले भने ।
दाहालको खेतमा स्थानीय होमनाथ मिश्रले २५ कठ्ठा जग्गामा धानबाली लगाएका थिए । त्यस्तै सरिता दाहालको खेतमा स्थानीय मैतबहादुर विश्वकर्माले धानबाली लगाएका थिए । मैतबहादुरले शनिबार मात्र धानको कुनिउँ लगाएका थिए । तर कुनिउँ लगाएकै राति आगो लागेर धान नष्ट भएको छ । खेतमा धानका लागि खेताला लगाउन मात्र झन्डै १४ हजार खर्च भएको उनले बताए । ‘तर खेतालालाई ज्याला दिइसकेकै छैन,’ मैतबहादुरका छोरा जीवनले दुःखेसो पोखे ।

Author

You may also like