सुरक्षा

भन्सार छली गरेर भित्र्याएको लाखौँ रकमको सामानसहित तीन जना पक्राउ

कलैया, बारा प्रहरीले तस्करहरुले भन्सार छली गरेर भित्र्याएको लाखौँ रकम बराबरको सामानसहित तीन जनालाई पक्राउ गरेको छ ।असोज १९ गते आइतबार जिल्ला प्रहरी कार्यालय बाराले ३३ लाख ९० हजार बराबरको कपडासहित तीन जनालाई पक्राउ गरेको बाराका प्रहरी प्रमुख एसपी विकासराज खनालले जानकारी दिए ।

पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ सानो ईटवाल बस्ने बारा आदर्शकोतवाल गाउँपालिका वडा नं.५ बस्ने गेनालाल राय यादवको छोरा वर्ष ३४ को रामरतन यादव, गेनालाल राय यादवको छोरा वर्ष २९ को जयमंगलप्रसाद यादव र बैधनाथ तिवारीको छोरा वर्ष ४५ को हेमचन्द्र तिवारी रहेका छन् ।

उनीहरुले मोटरसाइकलमार्फत भारतबाट नेपालमा भन्सार छली गरेर कपडाहरु भित्र्याएका हुन् । सिम्रौनगढ नगरपालिका वडा नं. ६ सानो ईटवाल टोलस्थित बस्ने मोजाहिर मियाँको घरमा डेराकोठा लिई बसेका व्यक्तिहरूले भारतबाट ५ वटा मोटर साईकलमा अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी ल्याएका कपडाहरू डेराकोठामा स्टोर गरी राखेको प्रहरीले जनाएको छ ।

केही कपडाहरू मोटरसाईकलमै लोड गरी राखेको विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा पुग्दा भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्राइएको अन्दाजी मूल्य ३३ लाख ९० हजार बराबरको कुर्ता सुरूवाल, बच्चको सुट, सर्ट ,पाईन्ट, साडी, सेण्डो लगायतका बिभिन्न किसिमका कपडाहरू (ठूलो बोरामा २२ बोरा) मध्ये ९ बोरा मोटरसाईकलहरूमा लोड गरी राखेको र १३ बोरामा डेराकोठामा लुकाई छिपाई राखेको अवस्थामा फेला पारी बरामद गरेको विज्ञप्तिमा उल्लेख छ ।

ती सामानहरुको मुचुल्का साथ बरामद गरी उक्त चोरी पैठारी कार्यमा संलग्न ३ जनालाई पक्राउ गरी भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय बीरगंज पठाइनेतर्फ आवश्यक कार्वाही भएको जनाइएको छ ।

You may also like