काठमाण्डौ, दशै मनाउन डेढ सातामा १० लाख सर्वसाधारण उपत्यकाबाट बाहिरिएका छन् । सरकारले दशैमा २५ लाख बाहिरिने अनुमान गरेको छ । एक साता अवधिमा ६ लाख उपत्यका भित्रिएका छन् ।
नेपाल ट्राफिक प्रहरीका प्रवक्ता एसपी रवीकुमार पौडेलले एक सातामा काठमाडौं उपत्यकाबाट बाहिरिने मात्र नभएर भित्रिनेको संख्या पनि धेरै रहेको बताए । बुधबार २४ घण्टाको विवरणअनुसार १ लाख ५७ हजार बाहिरिएकोमा ६६ हजार भित्रिएका छन् ।
दसैंका लागि १ लाख ५८ हजारले अग्रिम टिकट बुकिङ गरेका छन् । प्रवक्ता पौडेलले दसैंको अवसरमा २५ लाख सर्वसाधारण बाहिरिने अनुमान गरिएकोमा भित्रिने पनि उति नै रहेकाले त्यो संख्या केही कमी हुन सक्ने औंल्याए ।
उनका अनुसार अघिल्लाभन्दा यो वर्ष उपत्यकामा आएर दसैं मनाउनेको संख्या वृद्धि भइरहेको छ । सामान्यतयाः दैनिक ६० हजार उपत्यका भित्रिने र ६० हजार सर्वसाधारण बाहिरिने गरेका छन् ।
गत २६ असोजमा सरकार र यातायात व्यवसायीबीच ५ असोजदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको थियो । दसैंमा घर जाने यात्रुको दैनिक टिकट काउन्टरमा भीड लाग्ने गरेको छ । कतिपय ठाउँमा १६, १७ र १८ असोजका लागि टिकट नै नपाएको सर्वसाधारणले गुनासो गरेका छन् ।
यसैगरी, दसैंमा ट्राफिक प्रहरीले यात्रुसँग बढी भाडा लिने २०८ जनालाई कारबाही गरिएको जनाएको छ । उपत्यकाका १४ स्थानमा यात्रुलाई सहजता प्रदान गर्न ‘नागरिक सहायता कक्ष’ स्थापना गरिएको छ ।
सरकारले यातायात सहज बनाउन भन्दै दसैं पहिलो दिन गत १२ असोजदेखि लागू हुनेगरी सार्वजनिक यातायात रुट निलम्बन पनि गरेको छ । यातायात व्यवस्था विभागले यात्रु चाप धेरै हुने समय ‘आवागमन सहज होस्’ भनेर बाटो इजाजतपत्र (रुट पर्मिट) खुला गरिएको जनाएको हो