फिलिपिन्समा ६.४ म्याग्नीच्यूडको भूकम्प गयो

काठमाडौं, दक्षिणी फिलिपिन्सको डाभाओ अक्सिडेन्टल प्रान्तमा ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । डाभाओ अक्सिडेन्टल प्रान्तलाई केन्द्रविन्दु बनाएर स्थानीय समय अनुसार आइतबार बिहान १० बजे भूकम्प गएको फिलिपिन्सको भूगर्भ मापन केन्द्रले जनाएको छ ।

प्रारम्भिक विवरणमा भूकम्पबाट जनधनको क्षति भएको समाचार प्राप्त नभएको फिलिपिन्सका उद्धार अधिकारीहरुले जनाएका छन् । तर भूकम्पका परकम्पन आउनेक्रम जारी रहेको छ । यो भूकम्पको धक्का छिमेकी इन्डोनेसियाको उत्तरी सुलावेशी प्रान्तमा समेत अनुभव गरिएको थियो । इन्डोनेसियाको भूगर्भ केन्द्रले समुद्रमा सुनामीको खतरा नरहेको जनाएको छ ।

फिलिपिन्स र इन्डोनेसियाको सीमावर्ती क्षेत्रमा गएको उक्त भूकम्प सुरुमा ६.७ म्याग्नीच्यूडको मापन गरिएको थियो । गत बिहीबार मात्र इन्डोनेसियाको पूर्वी प्रान्तमा ६.५ म्याग्नीच्यूडको भूकम्प जाँदा कम्तीमा ३० जनाको मृत्यु भएको थियो । यस्तै अन्य १५६ जना घाइते भएका थिए ।

Leave a Reply

Your email address will not be published.