सुर्खेतः वीरेन्द्रनगरमा ‘मिस सुर्खेत ३ तथा मिष्टर सुर्खेत’ हुने भएको छ । विगत तीन वर्षदेखि सुर्खेतमा आयोजना गर्दै आएको मुन मिडिया हाउसले मिस सुर्खेतको तेस्रो संस्करण र मिष्टर सुर्खेत प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
मिडिया हाउसका कार्यक्रम संयोजक कमल विष्टले सुर्खेतमा यसरी हुन गइरहेको यस प्रतियोगिताले नयाँ सोचलाई स्थापना गर्न थप मदत पुग्ने बताए । उनले भने, मिस सुर्खेतको निरन्तरता पाउनु सुखद बिषय रहेको र यसवर्षदेखि नै मिष्टर सुर्खेतको पनि आयोजना गरिने छ ।
युवापुस्तामा रहेको कला तथा सकारात्मक पक्षहरुलाई उजागर गर्नका लागि प्रतियोगिताको आयोजना गरिएको उनले जानकारी दिए । उनले युवा जमातमा हुनुपर्ने क्षमताको पहिचान गरि त्यसको संरक्षण र प्रवर्द्धनमा प्रतियोगिता महत्वपूर्ण हुने विश्वास ब्यक्त गरे ।
प्रतियोगितामा मिष्टर÷मिस सुर्खेत, फष्ट रनरअप, सेकेण्ड रनरअप, सवटाइटल मिस व्युटिफुल÷हेण्डसम, वेष्ट वाक, मिस÷मिष्टर ट्यालेन्ट, वेष्ट पर्सनालिटी, वेष्ट फिगर, वेष्ट स्माइल, वेष्ट स्कीन, भिवर्स च्वाइस्लगायतका विधाहरु समेटिएका छन् । प्रतियोगिताको अर्को महत्वपुर्ण पाटो हो, समाजसेवा । युवापुस्तामा रहेको सामाजिक भावनालाई उठान गर्दै परिस्कृत गर्नु प्रतियोगिताको भित्री उद्देश्य हो ।
आइतबारदेखि प्रतियोगिताका फारम वितरण सुरु गरिएको मुन मिडिया हाउसका अध्यक्ष विजय के.सी.ले बताए । मिस सुर्खेत र मिष्टर सुर्खेतका विजेतालाई ५० हजार रुपैया नगद, क्राउन, गिफ्ट ह्याम्परलगायतका पुरस्कार दिइनेछ ।