अर्थ देश–समाज समाचार स्थानीय

काँकडभिट्टा–गड्डाचौकी रेलमार्ग निर्माणमा ढिलासुस्ती : ३४ अर्ब सकि“दा भौतिक प्रगति तीन प्रतिशत

दमक/ डेढ दशकअघि सुरु गरिएको राष्ट्रिय गौरवको पूर्व–पश्चिम विद्युतीय रेलमार्ग आयोजनामा हालसम्म ३४ अर्ब २२ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ, तर भौतिक प्रगति भने ३.६ प्रतिशतमा सीमित छ । जग्गा अधिग्रहणको विवाद, स्रोतको अभाव र प्राविधिक अनिश्चितताका कारण १ हजार ३ किलोमिटर लामो यो महत्वाकांक्षी आयोजना कछुवा गतिमा घिस्रिरहेको छ ।
महालेखा परीक्षकको ६३औँ प्रतिवेदन अनुसार हालसम्म बर्दिबास–निजगढ (चोचा) खण्डमा ६८ किलोमिटर ट्रयाकवेड र १६ वटा पुल निर्माणको काम मात्र सम्पन्न भएको छ । कूल १ हजार बिघा जग्गा अधिग्रहण गर्नुपर्नेमा ५ सय ५३ बिघाको मात्र मुआब्जा वितरण भएको छ ।
१४ गुणाले बढ्यो लागत, स्रोत जुटाउनै मुस्किल
आयोजना सुरु गर्दा ७० अर्ब ६२ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो । तर, विस्तृत अध्ययन, रेखांकन परिवर्तन र जग्गा अधिग्रहणमा भएको ढिलाइले लागत करिब १४ गुणाले बढेर १० खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ । यति ठूलो बजेट नेपाल सरकारको आन्तरिक स्रोतबाट मात्र जुटाउन असम्भवप्रायः छ । २०७९ सालमै तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले वैदेशिक सहयोगबिना नेपाल सरकारको एकल लगानीमा यो रेलमार्ग बनाउन नसकिने स्पष्ट पारिसकेका थिए ।
सबैभन्दा ठूलो तगारो जग्गा अधिग्रहण
रेलमार्ग निर्माणमा सबैभन्दा ठूलो तगारो जग्गा अधिग्रहण बनेको छ । अधिकांश स्थानमा मुआब्जा विवाद सुल्झिन सकेको छैन भने जग्गा रोक्का राखिँदा स्थानीयवासी मर्कामा परेका छन् । यसका साथै, रेलमार्गको रुटमा राष्ट्रिय निकुञ्जहरू पर्ने भएकाले वातावरणीय र प्राविधिक चुनौती थपिएका छन् । प्रारम्भिक पूर्वाधार बने पनि रेलसेट खरिद, विद्युतीकरण, सिग्नलिङ प्रणाली, मर्मतसम्भार केन्द्र र सञ्चालनका लागि आवश्यक दक्ष जनशक्ति तथा प्रविधि कुन देशको सहयोगमा भित्र्याउने भन्ने विषय अझै अन्योलमा छ । अर्कोतर्फ, समानान्तर रूपमा महेन्द्र राजमार्ग (१,०२७ किमि) र हुलाकी राजमार्ग (९७५ किमि) रहेकाले यसको आर्थिक औचित्यमाथि समेत प्रश्न उठ्ने गरेको छ ।
आयोजनाको संरचना र लक्ष्य
आर्थिक वर्ष २०८०÷८१ मा सम्पूर्ण खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको यो रेलमार्ग काँकडभिट्टाबाट सुरु भई बर्दिबास, सिमरा, तम्सरिया, बुटवल, लमही, कोहलपुर, सुक्खड हुँदै गड्डाचौकीसम्म पुग्नेछ । प्रतिघण्टा २५० किलोमिटरको रफ्तारमा कुद्ने परिकल्पना गरिएको यो रेल सञ्चालनमा आएपछि हाल बसमा २५ घण्टा लाग्ने पूर्व–पश्चिम यात्रा जम्मा ५ घण्टामा छोटिने देखिन्छ ।
आयोजनाको पृष्ठभूमि
गणतन्त्र स्थापनापछिको पहिलो निर्वाचित सरकारका अर्थमन्त्री डा. बाबुराम भट्टराईले आर्थिक वर्ष २०६५÷६६ को बजेटमार्फत मेची–महाकाली विद्युतीय रेलमार्गको घोषणा गर्दै १५ करोड रुपैयाँ विनियोजन गरेका थिए । त्यसपछि २०६८ सालमा रेल विभाग स्थापना गरी अध्ययन र रेखांकनको काम अघि बढाइएको थियो । सुरुमा आर्थिक वर्ष २०७५÷७६ मा डीपीआर तयार भए पनि मध्यखण्डको रेखांकन परिवर्तन भएपछि पुनः डीपीआर संशोधन गरिएको थियो ।
देशको यातायात प्रणालीमा कायापलट गर्न सक्ने र ढुवानी लागत घटाउने सम्भावना बोकेको यो आयोजनाको भविष्य सुनिश्चित गर्न अब स्पष्ट लगानी मोडल, प्राविधिक साझेदारी र द्रुत कार्यसम्पादनको खाँचो देखिएको छ ।

Author

You may also like