दमक । नेपाल र भारतबीच फरेन्सिक विज्ञान, प्रहरी तालिम, निजामती कर्मचारीको क्षमता अभिवृद्धि, आयुर्वेद, भू–उपग्रह सञ्चार, दिगो सहरी विकास, स्वास्थ्य तथा औषधि र पशुपन्छी तथा मत्स्य विकास गरी आठ क्षेत्रमा समझदारीपत्रमा हस्ताक्षर भएको छ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा सोमबार नयाँदिल्लीमा दुवै देशका सम्बन्धित निकायबीच समझदारीपत्र आदानप्रदान भएको हो। समझदारीले अनुसन्धान, सुरक्षा, प्रशासन, स्वास्थ्य, कृषि, सञ्चार र सहरी पूर्वाधारलगायत क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने अपेक्षा गरिएको छ।
समझदारीअनुसार भारतको गुजरातस्थित नेसनल फरेन्सिक साइन्सेस युनिभर्सिटी र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच शैक्षिक तथा अनुसन्धान सहकार्य हुनेछ। त्यस्तै, भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबीच प्रहरी तालिम तथा क्षमता विकासमा सहकार्य गर्ने सहमति भएको छ।
नेपालका निजामती कर्मचारीको क्षमता अभिवृद्धिका लागि भारत सरकारको नेसनल सेन्टर फर गुड गभर्नेन्स र नेपालको प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच तालिम कार्यक्रम सञ्चालन गर्ने समझदारी भएको छ। यसबाट सार्वजनिक प्रशासनको दक्षता, सेवा प्रवाह र संस्थागत क्षमता सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
त्यसैगरी, आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा पद्धतिको क्षेत्रमा दुवै देशले सहकार्य गर्ने भएका छन्। स्वास्थ्य तथा औषधिको क्षेत्रमा पनि भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र नेपालको स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयबीच समझदारी भएको छ।
प्रविधि तथा सञ्चारतर्फ दक्षिण एसियाली भू–उपग्रहको उपयोगका लागि स्याटेलाइट कम्युनिकेसन (स्याटकम) नेटवर्क स्थापना गर्ने सहमति भएको छ। यसका लागि भारतको भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच समझदारीपत्र आदानप्रदान भएको हो।
दिगो सहरी विकासको क्षेत्रमा प्राविधिक सहकार्य विस्तार गर्ने तथा पशुपन्छी र मत्स्य विकासका क्षेत्रमा समेत संयुक्त रूपमा काम गर्ने समझदारी भएको छ।
यसैबीच, नेपाल र भारतबीच काठमाडौं–भैरहवा–लखनउ बी३४५ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्ने सहमति पनि भएको छ। यसले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाहले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ र समयानुकूल बनाउनुपर्नेमा जोड दिएका छन्। भारतीय प्रधानमन्त्री मोदीसँगको द्विपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा शाहले दुई देशबीचको सम्बन्ध हिमालझैँ अटल र महासागरझैँ विशाल रहेको उल्लेख गर्दै ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनुपर्ने बताएका थिए।
उनले प्राकृतिक विपद् तथा कठिन परिस्थितिमा भारतले गर्दै आएको सहयोगप्रति भारतीय सरकार र जनतासमक्ष आभार व्यक्त गरेका थिए।