कला/साहित्य/संस्कृति देश–समाज राष्ट्रिय समाचार स्थानीय

चतुर्मासको अन्त्यसँगै भोलि हरिबोधिनी एकादशी, यस्तो छ धार्मिक मान्यता

दमक । हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको पूजा–आराधना, व्रत तथा तुलसी विवाह गरी मनाउने हरिबोधिनी एकादशीलाई वर्षभरिका २४ एकादशीमध्ये सबैभन्दा महत्त्वपूर्ण मानिन्छ। कार्तिक शुक्ल एकादशीका दिन मनाइने यस पर्वलाई ठूली एकादशी र देवोत्थान एकादशीसमेत भनिन्छ।
धार्मिक मान्यताअनुसार आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गर्नुभएका भगवान् विष्णु चार महिनापछि कार्तिक शुक्ल एकादशीका दिन जाग्नुहुन्छ। त्यसैले आषाढ शुक्ल एकादशीलाई हरिशयनी र कार्तिक शुक्ल एकादशीलाई हरिबोधिनी एकादशी भनिएको हो। यस दिनसँगै चार महिनासम्म चल्ने चतुर्मास पनि समाप्त हुन्छ।
भविष्योत्तर पुराणमा अन्य एकादशीको तुलनामा हरिबोधिनी एकादशीका दिन गरिने स्नान, दान, व्रत तथा विष्णुको उपासनाबाट विशेष पुण्य प्राप्त हुने उल्लेख छ। यही धार्मिक विश्वासका आधारमा भक्तजन बिहानै स्नान गरी निराहार वा फलाहार व्रत बस्ने, भगवान् विष्णुको पूजा गर्ने र भजनकीर्तनमा सहभागी हुने गर्छन्।
यस पर्वको अर्को प्रमुख विशेषता तुलसी विवाह हो। आषाढ शुक्ल एकादशीका दिन घरआँगनमा रोपिएको तुलसीलाई चार महिनासम्म पूजा गरी हरिबोधिनी एकादशीका दिन मठ सजाएर भगवान् शालिग्रामसँग विवाह गराउने परम्परा छ। तुलसी र शालिग्रामलाई भगवान् विष्णुको स्वरूप मानेर विवाह गराउने चलनले यस पर्वलाई थप विशेष बनाएको छ।
हरिबोधिनी एकादशीका अवसरमा नेपालका विभिन्न धार्मिक स्थलमा मेला तथा विशेष पूजाआराधना आयोजना गरिन्छ। सुनसरीको बराहक्षेत्र, काठमाडौंको बूढानीलकण्ठ तथा काठमाडौं उपत्यकाका चार दिशामा रहेका चार नारायण मन्दिर—चाँगुनारायण, विशङ्खुनारायण, इचङ्गुनारायण र शेषनारायणमा भक्तजनको विशेष घुइँचो लाग्ने गर्छ।
महाभारतमा उल्लेखित प्रसङ्गअनुसार पाँच पाण्डवमध्ये भीमसेनले पनि यस दिन व्रत बसेका थिए। भीमसेन एकादशीको व्रत बस्न नसकेको प्रसङ्गसँग जोडिएकाले हरिबोधिनी एकादशीको व्रतलाई विशेष महत्त्व दिने धार्मिक मान्यता रहिआएको छ।
यस दिन भगवान् विष्णुलाई सखरखण्ड, पिँडालु, फलफूललगायतका कन्दमूल चढाएर प्रसादका रूपमा ग्रहण गर्ने चलन छ। तुलसी, पीपल, दूबो र शालिग्रामलाई पनि हिन्दू धर्ममा पवित्र तथा विष्णुसँग सम्बन्धित प्रतीकका रूपमा पूजा गरिन्छ।
हरिबोधिनी एकादशीको भोलिपल्ट द्वादशीका दिन व्रत पारायण तथा तुलसीको विशेष पूजा गर्ने परम्परा छ। चतुर्मास समाप्तिसँगै विवाह, व्रतबन्ध र गृहप्रवेशजस्ता माङ्गलिक कार्य सुरु हुने भएकाले पनि यस पर्वलाई धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ।
यसरी हरिबोधिनी एकादशीले धार्मिक आस्था, तुलसी संरक्षण, प्रकृतिप्रतिको सम्मान र नेपाली मौलिक संस्कृतिलाई जोड्दै आएको छ।

Author

You may also like