देश–समाज समाचार सुरक्षा स्थानीय

वन क्षेत्रमा मृत्युका घटना बढ्दै

दमक/ उत्तरी मोरङको केराबारीमा शुक्रबार फेरि एक महिलाको शव अर्धनग्न अवस्थामा फेला परेपछि यस क्षेत्रको सुरक्षा अवस्था र वन क्षेत्रमा हुने शंकास्पद मृत्युका घटनाबारे प्रश्न उठेको छ । केराबारी गाउँपालिका–२ फैबामा घरबाट करिब एक किलोमिटर टाढा जंगलमा ३१–३२ वर्षीया पार्वती लिम्बूको शव भेटिएको हो । शरीरमा बाहिरी चोट नदेखिएको प्रारम्भिक जानकारी आए पनि मृत्युको वास्तविक कारण पोस्टमार्टम र प्रहरी अनुसन्धानपछि मात्र खुल्नेछ । त्यसैले घटनालाई अहिले नै हत्या, यौन हिंसा वा आत्महत्या भनेर निष्कर्ष निकाल्न मिल्दैन ।
तर पछिल्ला वर्षमा केराबारी र आसपासका वन क्षेत्रमा शव भेटिने घटनाले यो क्षेत्रबारे गम्भीर चासो सिर्जना गरेको छ । गत कात्तिकमै केराबारी–९ धारापानी जंगलमा विराटनगरका ५१ वर्षीय मनोज खत्रीको शव रुखमा झुन्डिएको अवस्थामा फेला परेको थियो । प्रहरीले घटनाको अनुसन्धान गर्दै एक युवतीविरुद्ध आत्महत्या दुरुत्साहनसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको समाचार सार्वजनिक भएको थियो । यसअघि २०७८ माघमा केराबारी–८ को हजारबिघा सामुदायिक वनमा बाबुराम भट्टराईको शव भेटिएको घटनामा हत्या पुष्टि भएको थियो । त्यस्तै, २०७९ पुसमा केराबारी–९ मा दुर्गाकुमार राईको कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको थियो ।
केराबारीबाहिर पनि उत्तरी मोरङका वन क्षेत्रमा यस्ता घटना बढ्दै गएका छन् । २०८२ कात्तिकमा लेटाङ–बेलबारी सीमास्थित चिसाङ साझेदारी वनमा १३ वर्षीया अंशु गौतमको शव भेटिएको थियो । उनी १८ दिनदेखि बेपत्ता थिइन् । त्यसैगरी बेलबारी–१० को सिर्जना सामुदायिक वनमा पनि महिलाको शव फेला परेको घटना सार्वजनिक भएको थियो । केराबारी–५ लामिछानेटारस्थित चिसाङ खोला किनारमा पहिचान नखुलेको शव भेटिएको प्रहरी अभिलेखसमेत छ । यद्यपि यी सबै घटनालाई हत्या वा आत्महत्याका रूपमा वर्गीकरण गर्ने पर्याप्त प्रमाण सार्वजनिक छैन ।
मोरङ जिल्लामा भने आत्महत्याको संख्या उल्लेख्य छ । सार्वजनिक प्रहरी विवरणअनुसार आर्थिक वर्ष २०८०÷०८१ मा ३१०, २०८१÷०८२ मा करिब ३२५ र २०८२÷०८३ मा ३३३ जनाले आत्महत्या गरेका छन् । तीन वर्षमा यो संख्या ९६८ पुग्छ । तर यो जिल्लाभरिको तथ्यांक हो, केराबारी वा उत्तरी मोरङको मात्र होइन ।
घना वन, एकान्त स्थान, बस्तीबाट टाढाका सडक तथा खोल्साखोल्सी शव भेटिने स्थान बन्नुका कारण हुन सक्छन् । हत्या अन्यत्र गरेर शव वन क्षेत्रमा ल्याएर फालिएको सम्भावना पनि अनुसन्धानको विषय हुन सक्छ । तर शव भेटिएको स्थान नै घटना भएको ठाउँ हो भन्ने मान्न सकिँदैन । त्यसैले घटनाको प्रकृति र वास्तविक कारण पत्ता लगाउन वैज्ञानिक अनुसन्धान आवश्यक छ ।
सबैभन्दा महत्वपूर्ण प्रश्न भनेको केराबारी, लेटाङ र बेलबारीमा पछिल्लो एक दशकमा कति हत्या, आत्महत्या, शंकास्पद मृत्यु र बेवारिसे शव भेटिए भन्ने हो । जिल्ला प्रहरी कार्यालय मोरङ र कोशी प्रदेश प्रहरीसँग वडा तथा वर्षगत तथ्यांक सार्वजनिक गर्नुपर्ने माग उठाउन आवश्यक छ । कति घटनामा हत्या पुष्टि भयो, कति आत्महत्या थिए, कति अझै अनुसन्धानमै छन् र कति शवको पहिचान खुलेन भन्ने विवरण सार्वजनिक हुनुपर्छ ।
केही घटनाको पुनरावृत्तिले मात्रै उत्तरी मोरङमा हत्या वा आत्महत्या बढी हुन्छ भन्ने निष्कर्ष निकाल्न सकिँदैन । तर वन क्षेत्रमा पटकपटक शव भेटिनु र घटनाको वास्तविकता सार्वजनिक नहुनुले सुरक्षा निगरानी तथा अनुसन्धान प्रणालीमाथि प्रश्न उठाएको छ । नागरिकको सुरक्षा सुनिश्चित गर्न प्रहरी गस्ती, वन क्षेत्रको निगरानी, बेपत्ता व्यक्तिको खोजी र शंकास्पद मृत्युको निष्पक्ष अनुसन्धानलाई प्रभावकारी बनाउनु आवश्यक देखिन्छ ।

Author

You may also like