देश–समाज समाचार स्थानीय

कन्काई पुल १४ वर्षदेखि अधुरै

दमक/ सम्झौता भएको १४ वर्ष बितिसक्दा पनि कन्काई नदीमाथिको पुल निर्माण सम्पन्न हुन नसक्दा हुलाकी राजमार्गले अझै पूर्णता पाउन सकेको छैन । हुलाकी राजमार्गअन्तर्गत झापाको गौरीगञ्ज गाउँपालिका र झापा गाउँपालिकालाई जोड्ने कन्काई नदीमा निर्माण भइरहेको यो पुल अलपत्र पर्दा दक्षिणी झापाका सर्वसाधारण वर्षौँदेखि जोखिमपूर्ण र सास्तीपूर्ण यात्रा गर्न बाध्य छन् । निर्माण कार्यमा लगातार ढिलाइ भएपछि सरकारले निर्माण कम्पनीसँगको ठेक्का सम्झौता रद्द गर्दै झन्डै दुई अर्ब रुपैयाँ जरिवाना तोकेको छ ।
गौरीगन्ज र झापा गाउँपालिका जोड्ने ७२५ मिटर लामो उक्त पुल निर्माणका लागि २०६८ जेठ ३१ गते ‘पप्पु–महादेव खिम्ती जेभी’ सँग ३४ करोड ९ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार २०७२ जेठ २९ गतेभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएकोमा निर्धारित समयमा काम पूरा नभएपछि पटक–पटक म्याद थपिँदै लगियो । पाँचौँ पटक थपिएको म्याद २०८० असारमा समाप्त हुँदा जम्मा ६२ प्रतिशत मात्र निर्माण कार्य सम्पन्न भएको थियो । पप्पु निर्माण कम्पनीले काम अलपत्र पारेपछि महादेव खिम्तीले बाँकी काम अघि बढाउने जिम्मेवारी लिए पनि उल्लेख्य प्रगति हुन सकेन ।
निर्माणमा भएको चरम ढिलाइ, प्राविधिक समस्या र निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनका कारण पुल लामो समयदेखि अलपत्र परेको हुलाकी सडक आयोजना कार्यालय इटहरीले जनाएको छ । गत माघमा सरकारले ठेक्का सम्झौता तोड्ने तयारी गरेपछि निर्माण कम्पनीले पुनः काम अघि बढाउने प्रतिबद्धता जनाएकाले प्रक्रिया रोकिएको थियो । तर, काममा सुधार नभएपछि अन्ततः सम्झौता रद्ध गर्दै जरिवाना तोकिएको हो ।
हुलाकी सडक आयोजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलका अनुसार निर्माण कम्पनीलाई जरिवाना रकम तत्काल बुझाउन ताकेता गरिएको छ । ठेक्का रद्द हुनु मात्र आयोजना सम्पन्न हुनु नभएको बताउँदै प्रमुख पोखरेलले अब बाँकी निर्माण कार्यलाई नयाँ प्रक्रियामार्फत अघि बढाएर छिटो सम्पन्न गर्नु महत्वपूर्ण रहेको बताएका छन् ।
१४ वर्षसम्म पनि पुल निर्माण नहुँदा स्थानीय बासिन्दा वर्षायाममा डुंगाको सहारा लिन र हिउँदमा बाँसको अस्थायी पुलबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । कन्काई नदीमा पानीको सतह बढ्दा मानिस, साइकल र मोटरसाइकल डुंगाबाट वारपार गराउनुपर्छ भने पानी घटेपछि बाँसको पुल प्रयोग गर्नुपर्ने अवस्था छ । स्थानीयस्तरमा आवतजावत सहज बनाउन गौरीगन्ज गाउँपालिकाले हिउँदमा बाँसको पुल निर्माण र वर्षायाममा डुंगा सञ्चालनका लागि स्थानीय ईश्वर माझीलाई दुई लाख ३० हजार रुपैयाँमा ठेक्का दिएको छ । सोही अनुसार हिउँदमा साइकलका लागि ३० र मोटरसाइकलका लागि ५० रुपैयाँ शुल्क लिने गरिएको छ भने वर्षायाममा मानिस मात्र वारपार गर्दा ३० देखि ५०, साइकलसहित ५० र मोटरसाइकल तार्दा १५० रुपैयाँसम्म शुल्क तिर्नुपर्ने बाद्यता छ । दैनिक दुई सयभन्दा बढी मानिस यही जोखिमपूर्ण बाटो भएर आवतजावत गर्ने गरेका छन् । पुल नबन्दा सबैभन्दा बढी मार नदी आसपासका गौरीगन्ज, झापा गाउँपालिका र वरपरका बासिन्दाले खेपिरहेका छन् । विद्यार्थीलाई विद्यालय जान, किसानलाई खेतबारी पुग्न, व्यापारीलाई सामान ओसार्न र सर्वसाधारणलाई दैनिक कामका लागि नदी वारपार गर्नु ठूलो चुनौती बनेको छ । स्थानीय चैतलाल कोच १४ वर्षअघि सुरु भएको पुल बनेको हेर्ने सपना अझै अधुरै रहेको बताउँछन् । पुस्ता फेरिए पनि र विकासका प्राथमिकता बदलिए पनि जोखिम मोलेर कन्काई नदी वारपार गर्नुपर्ने बाध्यता नहटेको उनको भनाइ छ ।

Author

You may also like