ठूला घरे बा साह्रै रिसाहा स्वभावका छन् । तर उसको मुसुक्क हाँस्ने बानीले उ असाध्यै लोकप्रिय पनि छ । बस्तीभित्रका कुनै पनि भुरे टाकुरेले उनलाई उछिन्ने आँट गर्न सकेका छैनन् । हरेक पटक बस्तीको सरदार छान्नुपर्दा उनकै नाम सबैभन्दा अगाडि आउँछ । त्यसकारणले हाकाहाकी उनको विरोध गर्ने ताकत कसैले पनि जुटाउन सकेका छैनन् । उनले आफ्नो बस्ती भित्र आधुनिककरणको लहर नै चलाई दिएका छन् । सडकमा आवत जावत गर्ने बटुवाहरूको सुविधाको लागि आकाशे पुल पनि बनाउन लगाएर देखाई दिएका छन् । आफूले सोच्दै नसोचेको सफलता हात पार्दै दुनियालाई मख्ख पार्ने मौका नगुमोस् भनेर उनले आफ्नो मुलुककै नयाँ नक्सा पनि बाड्न भ्याएका छन् । संसारमै उनको मुलुक जस्तो अर्को मुलुक कहीँ छैन अरे भन्छन् । एउटा सुन्दर अठार तले भ्यु टावर आफ्नो बस्ती भित्रै बनाउने उनको योजना पनि आज साकार भएको छ ।
उराठ लाग्दो सुनसान ठाउँमा भ्यु टावर तयार भइसकेपछि उनका जति प्रशंसकहरू बढेका छन् त्यति नै उनका विरोधीहरू पनि उफ्रि रहेका देखिन्छन् । उनका समर्थकहरूमा अझ धन माल जोड्न सक्ने आशा पनि पलाएर गएको छ । बिहानीको उदाउँदो घाममा टल्किने उनले बनाउन लगाएका भ्यु टावर बेहुली झै सजिएको देखेर ठूला घरे बा को मन फुरुङ्ग भइरहेको छ । भ्यु टावर परिसरभित्रै ठूलो औद्योगिक गतिविधिहरूको सञ्चालन र विस्तार गर्ने उनको योजना झन् झन् व्यापक रुप लिँदै छ ।
बस्ती भित्रका चिल्ला सडक देख्ना साथै उनको मनभित्र एकै साथ अनेकौं किसिमका कल्पनाका तरङ्गहरू उठ्ने गर्छ । ओ हो क्या राम्रो, कति सुन्दर ठाउँ हो यो बस्ती । छिमेकी मुलुक भन्दा हाम्रो मुलुक कति सुन्दर छ र कति व्यवस्थित छ यसको बयान गर्न सकिदैन । मुलुक कै प्रमुख सरदार भएकोमा ऊ आफैमा आत्म विमुग्ध छ । आफ्ना विरोधीहरूलाई उखान टुक्काबाटै सोत्तर बनाइदिने उनको विचार उनको मुलुक भित्र आदर्श वाक्य बनिसकेको छ । अहिले उनको प्रभाव जति जति बढ्दैछ त्यति त्यति नै उनका विरोधीहरू पनि उनको सातो लिन थालेका छन् । उनको उखान टुक्काबाट मुलुक कहाँबाट कहाँ गइसक्यो भनि सक्नु साध्य छैन । जुनसुकै विमर्शमा उनको उखान टुक्का र ख्याल ठट्टा युक्त विचारले सबैलाई उन्मुक्त रुपमा हाँसिरहन अवसर प्रदान गर्दछ । भनिन्छ एक जना विद्वानले त उनको उखान टुक्कामा पीएचडी पनि पास गरिसकेका छन् अरे । अब त उनको आचार विचार र जीवनशैलीमा आकाश पातालको परिवर्तन आइसकेको छ । जस्तोसुकै तालुखुइले प्रतिस्पर्धीहरूलाई ऊ एकैछिनमा इन्तु नचिन्तु बनाइदिने हैसियतमा पुगिसकेको छ । छरछिमेकका मुलुकका सरदारहरू उनको नाम सुन्ने बित्तिकै तर्सिने गर्दछन् । उनले गर्न खोजेको उरनठ्याउलो र उटपट्याङ कार्यहरूमा साइला काका र माइला दाई नाम गरेका उनका सहयोगीहरुको पनि ठूलो सहकार्य रहने गर्दछ ।
मुलुक भित्रका भुडे र जुङ्गेहरुलाई हरेक तरहले फकाउने फुलाउने र आफ्नो दुनो सोझ्याउने काममा ठूला घरे बा साह्रै नै सिपालु रहेछ । मुलुक भित्र नयाँ नयाँ विकास कार्यहरूलाई भित्र्याएर ठूला घरे बा ले आफ्नो समुदायमा एउटा उदार न्यायप्रिय व्यक्तिको रुपमा आफूलाई चिनाउन सफल भइसकेका छन् । उनले आफ्ना चाकडी गर्नेहरूलाई पनि ठुलठुला पदहरू दिएर सन्तुष्ट पार्ने काम गरेका छन् । सुकुम्बासी बस्तीका मानिसलाई जग्गाधनी बनाइदिने उनको विचार ज्यादै नै घतलाग्दो छ । एकचोटिको कुरो हो, छिमेकी मुलुककाका सरदारले ठुला घरे बाको मुलुक माथि पूरै नाकाबन्दी गरिदिएका थिए ।
जनतालाई आवश्यक पर्ने सरसामानहरू पायक ठाउँहरूबाट ल्याउन निषेध गरिएको हुनाले मानिसहरूलाई खान लाउन, औषधि मुलो गर्न,र उद्यम व्यवसाय गर्न निकै सकस पर्यो । ठूला घरे बा ले आफ्नो प्रत्युत्पन्न मतिले माइला दाई र साइला काका लगायतका साथीहरूको नेतृत्वमा एउटा संयन्त्र बनाउन लगाएर उनीहरूको बैठक बोलाई चोरी पैठारी गराएरै भएपनि मुलुक भित्र मालसामान ओसार पसार गराई दिने व्यवस्था मिलाएका रहेछन ।
पारि मुलुकका चोर बजारेहरूका लागि रातो कार्पेट ओछ्याएर उनीहरूलाई स्वागत समेत गरियो । मुलुक भरि नै नयाँ नयाँ चोर बजारी गर्ने तरिकाहरु सिक्ने टिमहरू तयार भयो र पारिबाट मालसामान ल्याइदिने ग्रुप तयार हुन थाल्यो र जसो तसो मुलुकबासीहरूको खाँचो टर्दै गए। चोरी तस्करी गराउन लगाएर भएपनि खानुपर्छ, बाँच्नुपर्छ र अकुत सम्पत्ति कमाउनु पर्दछ भनेर उनले नै मुलुक बासीहरुलाई प्रोत्साहन गरे । जबसम्म विदेशी मुलुकका कुकुरहरू हाम्रो अगाडि आइरहन्छन् तबसम्म हामीलाई कुनै समस्या हुँदैन भनेर ठूला घरे बाले घरी घरी घुर्की पनि लाउछन् । त्यस पछि ठुला घरे बाले कहिले पनि पछि फर्केर हेर्नु परेन । आफ्ना इष्टमित्र, नातागोता र चेला चपाटी लगायत आफ्नो जहान परिवारको सुख शान्तिको लागि भ्याएजति सबै काम फत्ते पार्न उसलाई कसैले रोक्न सकेन ।
आफ्ना वरिपरि रहेका गुण्डा फटाहा र भुइँफुट्टाहरूलाई पनि आफ्नो विश्वास पात्र बनाएर मुलुकको सञ्चालन गर्न उनी खप्पिस भए । पानीजहाज चलाउने तथा रेल यातायात को विकास गर्ने, बेरोजगार युवा युवतीहरूको लागि टाढा टाढाको मुलुक भित्र काम गर्न उत्प्रेरित गराउने र रोजगारी दिलाउने लगायतका कार्यहरू खयाल ठट्टा मै गरेर देखाइ दिने विश्वास उनले मुलुक बासीलाई गराएको थियो । तर कहिलेकाहीँ सबैथोक भनेजस्तो नै हुँदैन । भित्रैभित्रै मुलुकका बस्तीभित्र असन्तुष्टिको लहर पनि चल्न थाल्यो । बुढो भइसकेका ठुला घरे बालाई हटाएर नयाँ पुस्ताका ठिटाहरूलाई मुलुक जिम्मा लगाउने भनेर चारैतिर गनगन सुरु भइसकेको थियो ,तर ठुला घरे बाले चाल पाएनन् ।
भाग्य विपरीत भएपछि उटमाथि बसेका मानिसहरूलाई पनि कुकुरले टोक्छ । त्यही अवस्था ठुला घरे बा ले भोग्नु पर्यो । ठूला घरे बाले विरोधीहरूको चुस्ती फुर्ती र चर्तिकला चाल पाएर सम्पूर्ण आधुनिक सञ्चारमाध्यमहरूमाथि प्रतिबन्ध लगाउन खोज्दा पनि सकेनन्। फेसबुक र ट्विटर, इन्स्टाग्राम लगायतका सञ्चारमाध्यमहरू बन्द गराए पछि फोनबाट कुराकानी गर्न पनि समस्या सिर्जना भयो । नारा जुलुस गरेर विरोध गर्नेहरू तथा उत्पात मचाउनेहरू माथि भुटु टुटु गोली बर्साउन लगाएर दर्जनौँ युवाहरूलाई ज्यान लिन लगाए र उक्साए । भित्रैभित्रै मुलुक बासीहरू जुर्मुराएर विस्फोटक रूपमा अगाडि आउन थाले । जसरी भएपनि आफ्नो मुलुकको सरदार बाट उसलाई लखेट्न उनीहरू उत्साहित हुन थाले । मुलुक भित्र एउटा गोप्य विमर्श केन्द्र स्थापना भयो र विमर्श केन्द्रबाट उत्पादन भएका विचारहरूबाट नै ठूला घरे बा लाई धुरुधुरु रुवाउने र उनले हासिल गरेका उपलब्धिहरूलाई पनि धज्जी उडाइदिने योजनामा उनीहरूले सहमति जनाए । सहमति अनुसार मुलुक भित्रकै कै एकजना ठिटोले ठूला घरे बाको घर अगाडि बस्ने एउटा ढाडे बिरालोको घाँटीमा परिवर्तनको लागि सधैँ ट्याङ ट्याङ बजिरहने घन्टी झुण्ड्याइ दिएर त्यसको प्रतिक्रिया हेर्न चारैतिर सुराकीहरु लगाए। घन्टीको टिङ टिङ आवाज सुन्ने बित्तिकै ठुला घरे बा झसँग भए र के भएको रहेछ भनेर हेर्न खोजे । त्यत्तिकैमा बिरालोको घाँटीमा घन्टी बाँधिएको र टिङटिङ गरिरहेको देखेर ठुला घरे बा पनि छक्क परेर रिसले रन्किन थाले । गोबर र गुइठामा लतपतिएको यो कालो बिरालो कहाँबाट आयो भनेर पत्ता लगाउन मान्छे खटाउन लगाए तर बिरालो भाग्दै यो घर त्यो घर वल्ला घर पल्ला घर उफ्रिदै मुलुकका बस्तीभरि रमाइलो गरिरहेको देखेर ठुला घरे बा आफ्नो पुरपुरोमा हात राखेर सोचमग्न भए र उनलाई एकजना धमिनी आमैले भनेको कुरा सम्झना भयो ।
धमिनी आमैले उनलाई भनेका रहेछन् जुन दिन तिम्रो आँखा अगाडि घन्टी बाँधेको बिरालाले टिङ टिङ घन्टी बजाउँछन् र बस्तीभरिका मानिसहरूले घन्टीको आवाज सुनेर तिमीलाई नै दोष लगाउँछन्, त्यसै दिन देखि तिमीलाई न खाएको विष पनि लाग्न थाल्छ, त्यही दिन देखि तिम्रो पतन र पलायन हुने र जेलभित्र र जेल बाहिर आउ जाउ गरिरहनुपर्ने र बाकी जीवन बिताउनु पर्ने निश्चित प्राय हुन्छ ।
ठूला घरे बा त्यही रात कसैलाई केही नभनी सुटुक्क घर बाहिर निस्केर गए । बस्तीभित्र ठूला घरे बा नभेटिएपछि माइला दाई र साइला काका घर घर डुल्दै घन्टी बजाउने बिरालोको पछि पछि कुद्दै ठूला घरे बा लाई खोज्न थाले ।