कला/साहित्य/संस्कृति देश–समाज समाचार स्थानीय

दमकमा धार्मिक सद्भाव र एकताको सन्देशसहित दशैंको समापन

दमक/दसैंलाई हेर्ने धार्मिक तथा सांस्कृतिक दृष्टिकोण फरक भए पनि आपसी सम्मान, सहअस्तित्व र सामाजिक सद्भाव साझा मूल्य हुन् भन्ने सन्देश दमकमा आयोजित एक कार्यक्रमले दिएको छ ।
किरात समुदायका प्रतिनिधि तथा बौद्ध धर्मावलम्बीसहित विभिन्न धार्मिक र सांस्कृतिक समुदायका व्यक्तिहरूको सहभागितामा सोमबार दमकमा ज्येष्ठ नागरिकलाई सम्मान र उनीहरुबाट टिका र जमरा ग्रहण गर्दै सामूहिक रूपमा बडादसैं समापन गरिएको छ ।


भजनकीर्तन मण्डली दमक–५ र भजनकीर्तन मण्डली केन्द्रीय समितिको संयुक्त आयोजनामा दमक–५ स्थित दमक क्याम्पस मोडनजिकै एक निजी भवनको सभाहलमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा दुई दर्जन ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने नगरप्रमुख रामकुमार थापासहित सहभागीहरूले ज्येष्ठ नागरिकबाट टीका र जमरा ग्रहण गरी आशीर्वाद लिएका थिए ।
दसैंको आगमनलाई भव्य रूपमा स्वागत गर्ने परम्परालाई समापनमा पनि सामूहिकता र आत्मीयतासँग जोड्ने उद्देश्यले पहिलोपटक यस्तो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । धार्मिक आस्था र सांस्कृतिक अभ्यासमा विविधता भएका समुदायका व्यक्तिहरूको सहभागिताले कार्यक्रमलाई ज्येष्ठ नागरिक सम्मानमा मात्र सीमित नराखी सामाजिक एकता र भाइचाराको सन्देश प्रवाह गर्ने अवसरका रूपमा स्थापित गरेको छ ।


भजनकीर्तन मण्डली केन्द्रीय समितिका अध्यक्ष भोला सिवाकोटीको अध्यक्षता तथा दमक नगरपालिकाका प्रमुख थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा दमक–५ का वडाध्यक्ष इन्द्रबहादुर गुरुङ, वैदिक सनातन धर्म संरक्षण समितिका अध्यक्ष कृष्ण बराल, जनजाति कल्याण राष्ट्रिय समितिका महासचिव प्रेम थुलुङ, किरात भाषा प्रशिक्षक रणेन्द्र जवेगुलगायत विभिन्न धार्मिक तथा सामाजिक संस्थाका प्रतिनिधि सहभागी थिए । बौद्ध धर्मावलम्बी, विभिन्न धार्मिक मठमन्दिरका गुरु, सरकारी कार्यालय तथा सुरक्षा निकायका प्रमुख, निजी संघसंस्थाका प्रतिनिधि, समाजका अगुवा र ज्येष्ठ नागरिकको समेत उपस्थिति थियो ।
कार्यक्रममा सहभागी किरात समुदायका प्रतिनिधि तथा बौद्ध धर्मावलम्बीको उपस्थितिले फरक धार्मिक र सांस्कृतिक पृष्ठभूमिका व्यक्तिहरूबीच संवाद, सम्मान र सहकार्यको महत्वलाई उजागर गरेको थियो । दसैं मनाउने वा नमनाउने विषयमा आ–आफ्ना धारणा हुन सक्छन्, तर त्यस्ता भिन्नताले सामाजिक सम्बन्ध र आपसी सम्मानलाई कमजोर बनाउनु हुँदैन भन्ने सन्देश कार्यक्रमको मूल भावसँग जोडिएको थियो ।


कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख थापाले ज्येष्ठ नागरिकबाट टीका र आशीर्वाद ग्रहण गर्ने परम्परालाई सामूहिक रूपमा अघि बढाउनु संस्कार र संस्कृतिको नयाँ अभ्यास भएको बताए । पर्वको आगमनलाई जस्तै बिदाइलाई पनि स्मरणीय र अर्थपूर्ण बनाउन सकिने उदाहरण कार्यक्रमले प्रस्तुत गरेको उनको भनाइ थियो । यस्ता कार्यक्रमले समाजमा आत्मीयता र सद्भाव बढाउने उल्लेख गर्दै उनले आगामी दिनमा यसको निरन्तरताका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
वडाध्यक्ष गुरुङले विभिन्न जातजाति, धर्म र समुदायका व्यक्तिलाई एकै ठाउँमा जोडेर ज्येष्ठ नागरिकको सम्मान गर्ने कार्यक्रम सामाजिक एकताको उदाहरण भएको बताए । यस्ता कार्यक्रमले भाइचारा सम्बन्ध बलियो बनाउनुका साथै नयाँ पुस्तामा सकारात्मक संस्कार हस्तान्तरण गर्न सहयोग पुग्ने उनको भनाइ थियो । उनले कार्यक्रमलाई आगामी वर्षदेखि नगरपालिकाको वार्षिक बजेटमार्फत् समेत निरन्तरता दिन आग्रह गरे ।
समितिका उपाध्यक्ष डिल्ली उप्रेतीले स्वागत मन्तव्यका क्रममा दसैंमा टीका, जमरा र आशीर्वादको सांस्कृतिक महत्वबारे चर्चा गरे । धार्मिक तथा सांस्कृतिक विषयमा अपुष्ट धारणाका आधारमा सामाजिक सद्भावमा खलल पुग्न नहुने बताउँदै उनले आपसी सम्मान र भाइचारालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । पर्वको आगमनसँगै समापनलाई पनि सामूहिक र स्मरणीय बनाउने सोच विभिन्न व्यक्तिका सुझाव र समितिभित्रको छलफलपछि अघि सारिएको उनले जानकारी दिए ।
कार्यक्रममा भजनकीर्तनसँगै दसैंसम्बन्धी लोकनृत्य प्रस्तुत गरिएको थियो । भावना उप्रेतीको दसैं लोकनृत्यका साथै साकेला र संजीनी नृत्यले सांस्कृतिक विविधता झल्काएका थिए । सूर्य दाहालले सञ्चालन गरेको कार्यक्रममा सभापति सिवाकोटीले आयोजनाको औचित्यमाथि प्रकाश पारेका थिए ।
ज्येष्ठ नागरिकको सम्मान र आशीर्वाद ग्रहणलाई केन्द्रमा राखेर विभिन्न धार्मिक तथा सांस्कृतिक समुदायका व्यक्तिहरूलाई एकै ठाउँमा जोड्ने यो प्रयासले पर्वहरू सामाजिक सम्बन्ध सुदृढ गर्ने माध्यम पनि बन्न सक्छन् भन्ने सन्देश दिएको छ । यस्ता कार्यक्रमले निरन्तरता पाए दमकमा धार्मिक सहिष्णुता, सांस्कृतिक सहअस्तित्व र पुस्ताबीचको आत्मीय सम्बन्धलाई थप बलियो बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ ।

Author

You may also like